०२ साउन २०८३, शनिबार

क्वारेन्टाइन बस्दा १४ दिनसम्म देखिएन कुनै लक्षण, स्वाब परीक्षण गर्दा कोरोना ‘पोजेटिभ’

बैशाख २, २०७७
क्वारेन्टाइन बस्दा १४ दिनसम्म देखिएन कुनै लक्षण, स्वाब परीक्षण गर्दा कोरोना ‘पोजेटिभ’

कोरोना भाइरस संक्रमण पुष्टि भएका रौतहटका युवालाई वीरगञ्जको नारायणी अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ ।

रौतहटको इशानाथ नगरपालिकाको एउटा माध्यमिक विद्यालयमा सञ्चालन गरिएको क्वारेन्टाइनमा रहेका ती व्यक्तिलाई सोमवार साँझ ७ बजे एम्बुलेन्समा राखेर वीरगञ्ज लगिएको थियो ।

संक्रमित युवालाई प्रहरी निरीक्षकको कमाण्डमा आएको टोलीले एम्बुलेन्समा उपचारका लागि वीरगञ्ज लगेको इशनाथ नगरपालिकाका स्वास्थ्य संयोजक इसराजुल खानले बताए ।

कोरोना परीक्षणको पीसीआर रिपोर्टमा पोजेटिभ आएका कारण अबेर साँझ उनलाई अस्पतालमा भर्ना गरिएको छ । रौतहटको जिल्ला अस्पताल गौरमा कोरोनाको उपचारका लागि आइसोलेसन कक्ष सञ्चालन नगरिएका कारण वीरगञ्ज लगिएको उनले बताए ।

उनी बसेको क्वारेन्टाइनमा सोमवार २ पटक र मंगलवार बिहान १ पटक स्यानिटाइज गरिएको छ । ‘हामीसँग रहेको स्प्रे तथा औषधि सहितको स्यानिटाइजरबाट क्वारेन्टाइनलाई स्यानिटाइज गरेका छौं,’ खानले भने, ‘नियमित रुपमा अब स्यानिटाइज गर्ने गरेका छौं ।’

चैत १७ गते ती युवा क्वारेन्टाइनमा राखिएका थिए । ‘चैत्र १७ गते उनी गाउँ आएकै दिन घर परिवारका मानिससँग करीब २ घण्टा जति बिताएर तापक्रम मापन गराउनका लागि क्वारेन्टाइनमा आएका थिए,’ स्वास्थ्य संयोजक खानले भने, ‘उनी दिल्लीबाट आएकाले तापक्रम सामान्य हुँदाहुँदै पनि हामीले घर जान दिएनौं, क्वारेन्टाइनमैं राख्यौं ।’

उनी क्वारेन्टाइनमा बसेको १४ दिनसम्म पनि कुनै रोगको लक्षण नदेखिएको संयोजक खानले बताए । ‘१५ औं दिनमा मात्र स्वाब परीक्षणको रिपोर्ट आएको थियो । शुरुमा १४ दिन मात्रै क्वारेन्टाइनमा राख्न निर्देशन भएपनि पछि २१ दिनसम्म राख्ने भन्ने निर्देशन आएका कारण उनलाई १४ दिन सकिएपनि घर नफर्काएर क्वारेन्टाइनमै राखेका थियौं,’ खानले भने, ‘१४ दिनमै फर्काएको भए उनी थप धेरै मानिसको सम्पर्कमा आउन सक्थे र जोखिमको दायरा समेत बढ्न सक्थ्यो ।’

संक्रमित व्यक्तिको सम्पर्कका व्यक्तिको परीक्षण 

संक्रमण फेला परेपछि ती व्यक्तिको सम्पर्कमा आएका उनका परिवारका सदस्यसहित क्वारेन्टाइनमा रहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, नगर प्रहरी समेतको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) कीटबाट कोरोना परीक्षण गरिएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेका अनुसार सोमवार साँझ नै संक्रमित व्यक्तिका परिवारका १४ जना सदस्यको आरडीटी किटबाट परीक्षण गरिएको छ । क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मी, नगर प्रहरी तथा सुरक्षाकर्मी समेत गरेर ३९ जनाको किटमार्फत परीक्षण गरिएकोमा सबै जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको सीडीओ घिमिरेले लोकान्तरलाई बताए ।

‘उनी भारतको दिल्लीबाट आएकै दिन घर परिवारका १४ जनाको सम्पर्कमा आएका रहेछन्,’ सीडीओ घिमिरेले भने, ‘उनीसँगै दिल्लीबाट आएका ४ जना युवाको समेत यसअघि नै स्वाब संकलन गरेर परीक्षण गराएर नेगेटिभ रिपोर्ट आएको छ ।’

सोमवारसम्म रौतहट जिल्लामा १०० जनाको किटमार्फत परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा ५०० किट सरकारबाट प्राप्त भएकोमा १०० किट प्रयोग गरिसकिएको छ । ‘बाँकी ४०० किटलाई जिल्लाका अन्य स्थानीय तहमा सञ्चालनमा रहेका क्वारेन्टाइनमा पठाइने छ,’ सीडीओ घिमिरेले लोकान्तरसँग भने ।

अन्तरजिल्ला ‘लकडाउन’ कडाइ

रौतहटमा संक्रमित फेला परेपछि लकडाउनलाई थप कडाइका साथ पालना गराउने जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरिएको छ । ‘रौतहटको छेउमा रहेको बारा र सर्लाही जिल्लाबाट छेउछाउ मानिसहरू आवतजावत गर्ने गरेको भन्ने सूचनाका आधारमा त्यसलाई नियन्त्रण गर्न अन्तरजिल्ला लकडाउन कडाइ गर्ने भनेर निर्णय गरेका छौं,’ सीडीओ घिमिरेले भने, ‘त्यसका लागि कडाइका साथ निर्णय कार्यान्वयन गराउन सुरक्षाकर्मीलाई परिचालन गरिएको छ ।’ संवेदनशील र सम्भावित जोखिमका सार्वजनिक स्थानमा स्यानिटाइजको कामलाई निरन्तरता दिने समेत निर्णय गरिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्