०३ असार २०८३, बुधबार

पोखरा महानगरबाट ४ गाउँपालिकालाई पीपीई सहयोग

बैशाख २, २०७७
पोखरा महानगरबाट ४ गाउँपालिकालाई पीपीई सहयोग

पोखरा महानगरपालिकाले कास्कीका ४ वटै गाउँपालिकालाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहयोग गरेको छ । 

महानगरले १६ लाख रुपैयाँ बराबरका १०/१० थान पीपीई रुपा, मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकालाई मंगलवार प्रदान गरेको हो । 

महानगर प्रमुख मानबहादुर जिसीले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरलाई, उपप्रमुख मञ्जुदेवी गुरुङले माछापुच्छ्रे गाउँपालिका वडा २ अध्यक्ष विक्रम गुरुङ, प्रमुख प्रशासकीय अधिकृत धु्रवकुमार पोखरेलले रुपा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु पोखरेल र मादी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटालाई सुरक्षा सामग्री हस्तान्तरण गरे ।

प्रमुख जिसीले कास्कीका स्थानीय तहको नेतृत्वदायी भूमिका निर्वाह गर्न पोखरा महानगरले दुःखमा सँगै छौं भन्ने सन्देशसहित सामग्री हस्तान्तरण गरेको बताए ।

उनले महानगर आफैं र केही दाताबाट व्यवस्थापन गरी गाउँपालिकासहित ८ संस्थालाई पीपीई वितरण गरेको जानकारी दिए । 

अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले पीपीई नहँुदा गााउँपालिकाका कार्यरत स्वास्थ्यकर्मीलाई काम गर्न समस्या परेकोमा अब सहज हुने बताए ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले वितरित पीपीई पुनः प्रयोग गर्न मिल्ने किसिमको भएको बताए । 

पोखरा महानगरपालिकाले यसअघि गण्डकी प्रदेश सरकारलाई १००, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १०० थान हस्तान्तरण गरिसकेको महानगर सूचना अधिकारी भरतराज पौडेलले जनाए ।

उनका अनुसार अझै शिशुवा अस्पताल र मातृशिशु मितेरी अस्पताललाई ४० थान पीपीई दिइने छ । 

salt training

कमेन्ट गर्नुहोस्