३० असार २०८३, मंगलबार

कोरोना राेकथाम: सरकारी कदममाथि प्रदेश सभामुखसँग छलफल गरे सभामुख सापकोटाले

कोरोना राेकथाम: सरकारी कदममाथि प्रदेश सभामुखसँग छलफल गरे सभामुख सापकोटाले
File Photo

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सातै प्रदेशका सभामुखसँग छलफल गरेका छन्। 

सभामुख सापकोटाले कोरोना भाइरस (कोभिड-–१९) का कारण सिर्जित विषम परिस्थिति, सरकारहरुले चालेका कदम, सातै प्रदेशमा परेको प्रभाव र भइरहेको तयारीका विषयमा फोनबाट छलफल गरेका हुन्।
छलफल लकडाउनपछि प्रदेशको समग्र अवस्था, कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेशले गरिरहेका काम, स्वास्थ्य सामग्री र स्वाथ्यकर्मीको उपलब्धता र संघ, प्रदेश र स्थानीयतहबीचको समन्वय र आगामी अंगिकार गरिने नीतिका विषयमा केन्द्रित रहेको थियो। 

सभामुखहरूसँगको छलफलमा सापकोटाले प्रदेशमा विदेशबाट आएका नागरिकको अवस्था, उनीहरूलाई राखिएको ‘क्वारेन्टिन’ तथा अन्य व्यवस्थापन, स्वास्थ्यकर्मी तथा औषधिको उपलब्धता, परीक्षण र न्यून आय भएका र दैनिक ज्यालादारी मजदुरका लागि खाद्यान्नको उपलब्धताका विषयमा विस्तृत जानकारी लिएका थिए। 

छलफलका क्रममा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि यथेष्ठ व्यवस्थापन गरिएको बताए। उनले संघीय सरकारले घोषणा गरेको लकडाउन पालनामा कडाई गरिएको बताए।

प्रदेश २ का सभामुख सरोजकुमार यादवले भारतसँगको सीमामा थप कडाइका लागि संघीय सरकारका गृहमन्त्रालय मार्फत् समन्वय गरिदिन संघीय संसदका सभामुख सापकोटासँग आग्रह गरेका थिए। खुल्ला सीमाका कारण प्रदेश २ मा जोखिम बढ्न सक्नेतर्फ आफूूहरु सतर्क रहेको यादवको भनाइ छ। बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशमा लकडाउन पालनामा विशेष जोड दिइएको बताए।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सचेततापूर्वक ‘क्वारेन्टिन’मा बस्ने र परीक्षणको काम भइरहेको बताए। प्रदेश ५ का सभामुख पूर्णबहादुुर घर्तीले लकडाउनको पालनालाई कडाई गरिएको जानकारी गराए। कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेशमा स्वास्थ्य सामग्री र जनशक्तिको अभाव रहेको बताएका थिए।

सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुुनबहादुर थापाले लकडाउनको सुरुआती दिनमा भारतबाट फर्किएका नागरिकलाई व्यबस्थापनमा कठिनाई भएपनि हाल सहज भएको बताए। 

सभामुख सापकोटाले सातै प्रदेशका उपसभामुखहरुसँग पनि छलफल गरी प्रदेशको बस्तुस्थितबारे जानकारी लिए। टेलिफोन छलफलमा उपसभामुखले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा काम हुनुपर्ने धारणा राखेका थिए।

सापकोटाले प्रदेश १ का उपसभामुख सरस्वती पोखरेल, प्रदेश २ का उपमा देव, बागमती प्रदेशका राधिका तामाङ, गण्डकी प्रदेशका सिर्जना शर्मा, प्रदेश नं ५ का कृष्णी थारु, कर्णालीका पुष्पा घर्ती र सुदुरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडालसँग छलफल गरेका थिए।
 

salt training

कमेन्ट गर्नुहोस्