काठमाडौं १० बैशाख – आन्दोलनरत मधेशी मोर्चा र संघीय गठबन्धनसँग भएको सहमति अनुसार ‘फाष्ट ट्र्याक’बाट संविधान संशोधन विधेयक पारित गर्न सरकारले तयारी गरेको छ ।
मोर्चासँग भएको सहमति अनुसार सरकारले आइतबार नै संसद् सचिवालयमा परिमार्जनसहित संविधान संशोधनको नयाँ विधेयक टेबल गर्ने तयारी गरेको छ । यसअघि गतबर्षको मंसिर १४ गते दर्ता गरेको संशोधन विधेयक फिर्ता गरेर चैत अन्तिम साता नयाँ विधेयक दर्ता गरेको थियो ।
संसद सचिवालयमा विधेयक दर्ता गरेपछि विधेयक परिपक्क हुन, विधेयक माथि विरोधको सूचना दर्ता गराउन र विधेयकमाथि संशोधन हाल्नका लागि सांसदहरुलाई समय उपलव्ध गराउनु पर्ने हुन्छ ।
संसद सचिवालयका उपसचिव सुदर्शन कुईकेलका अनुसार सामान्य अबस्थामा विधेयक परिपक्क हुन पाँच दिनको समय राखेर विधेयक अध्ययन गर्न सांसदलाई दुइ दिनको समय दिने गरिएको छ । विधेयक परिपक्क भएपछि संसद सचिवालले विरोधको सूचना दर्ता गर्न सूचना प्रकाशित गर्छ ।
त्यसपछि संसदको बैठकमा सरकारको मन्त्रीले विधेयक पेश गर्न अनुमति माग्ने प्रस्ताव राख्ने कार्यसूची संसद सचिवालले प्रकाशित गर्छ । सोही बैठकमा मन्त्रीले विधेयक प्रस्तुत गरेपछि संसदमा टेबल हुन्छ ।
संसदको अर्को बैठकमा सरकारले विधेयकमाथि बिचार गरिसोय भन्ने प्रस्ताव पेश गर्छ । विचार गरियोस भन्ने प्रस्ताव पारित भएपछि अर्थात विधेयक स्वीकृत भएपछि सांसदलाई संशोधन प्रस्ताव दर्ता गराउन ७२ घण्टाको समय दिनुपर्ने हुन्छ ।
संशोधन विधेयकमाथि संसदको अर्को बैठकमा दफावार छलफल गर्ने कार्यसूची हुन्छ । सामान्य अबस्थामा संविधान संशोधनका लागि विशेष समिति गठन गर्नुपर्ने भएपनि सरकारले ‘फाष्ट ट्र्याक’मा पारित गर्ने मोर्चासँग सहमति गरेकोले संसद् बैठकमै दफावार छलफल हुनेछ ।
कस्तो हो संशोधन गर्ने ‘फाष्ट ट्र्याक’ ?सामान्य अबस्थामा सबै प्रक्रिया पूरा गरेर विधेयक पारित गर्न कम्तिमा १० दिनको समय लाग्छ । तर संसदको कार्यसम्पादक नियमावलीका कतिपय धारा निलम्बन गरेर विधेयक परिपक्क हुने, विरोधको सूचना पेश गर्ने र संशोधनको समय छोट्याउन सक्छ ।
राष्ट्रि जनता पार्टीका नेता एवं सांसद लक्ष्मणलाल कर्णका अनुसार ‘फाष्ट ट्र्याक’ बाट पारित गर्न पनि संशोधन विधेयक पारित गर्न एक साताको समय लाग्ने सम्भावना छ ।
सांसदहरुलाई संशोधन दिने समय छोट्याएर विधेक पारित गरिने सत्तारुढ दलका नेताहरु बताउछन् । विगतमा पनि एकै दिन संसदका दुइवटा बैठक राखेर द्रुत मार्गवाट विधेयक पारित गरिएको थियो ।