×

Dabur
Nic Asia
Marvel

कोरोनाले निम्त्याएको सकस

म्याग्दीबाट ७ दिन हिँडेर काठमाडौं : रामेछाप फर्किँदै गरेका वृद्धको मुटु हल्लाउने कहानी !

'चिसो भुइँमा भोकै पनि सुतें, चिउरा र चाउचाउको भरमा दिनभर हिँडें'

काठमाडाैं | बैशाख ३, २०७७

TVS INSIDE

रामेछाप सदरमुकाम मन्थलीनजिकै रहेको सोमवारे हटियाका ६३ वर्षीय भीमबहादुर लामा कामको शिलशिलामा दुई महिनाअघि घरबाट निस्किन लाग्दा ८७ वर्षिया आमाले भनेकी थिइन्, ‘त्यति टाढा नगए हुन्न बाबु ? यता नजिकै काम पाइन्न ? उमेरले पनि नसक्ने भइसकिस् ।’

morang Auto yamaha

छोरालाई रोक्न खोज्दै गर्दा ती बूढी आमाका आँखा रसाएका थिए । ‘नजा त कसरी भनौं ? परिवार पाल्ने तैँ होस् । सकेसम्म नजिकै काम खोजे हुन्थ्यो । ज्यानको ख्याल गरेस् । काम सकेर छिट्टै आउनु,’ गहभरि आँसु पार्दै आमाले दिएको सुझाव मंगलवार साँझ काठमाडौंको नागढुंगामा लोकान्तरकर्मीलाई सुनाइरहँदा भीमबहादुरका आँखा पनि रसाए ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

थकित, गलित अवस्थामा भेटिएका भीमबहादुर राम्ररी बोल्न सकिरहेका थिएनन् । शायद शरीरमा ग्लुकोज (शक्ति) कम भएर होला, बोल्दा उनका ओठ र पानीको बोत्तल समाउँदा हात थर्रर काँपिरहेका थिए । 

Vianet communication
Maruti inside

लगातारको हिँडाइले लखतरान देखिन्छन् । आँखाबाट निरन्तर आँसु बगिरहेको छ । ‘रातको समयमा प्रतिक्षालयको चिसो भुइँमा सुतेकाले मलाई चिसो लागेको होला,’ उनले भने ।   

भीमबहादुरले रहरले घर छाडेका होइनन् । आफूलाई वर्षौंदेखि काम दिँदै आएका मन्थलीका एक ठेकेदारले काम गर्न मन लागेको छ भने म्याग्दीको परियोजनामा जाऊ भनेकाले उनी निस्केका रहेछन् ।

‘चिनेको ठेकेदार हो । यता छैन, काम गर्ने भए उतै हिँड भन्छ, जान्छु आमा, नत्र खर्च चलाउन गाह्रो हुन्छ । तिम्लाई औषधि कसले किनिदिन्छ फेरि ?’ आमासँग गरेको कुरा सम्झदै गर्दा उनी भक्कानिए, र भने– ‘म्याग्दीबाट हिँडेपछि एकपटक पनि फोनमा कुरा गर्न पाएको छैन । मेरो चिन्ताले आमा, श्रीमती, छोराछोरी, नाति–नातिना कति मुर्छित होलान् ?’ उनले लामो श्वास फेरे । 

उनी भक्कानिएपछि हामी लोकान्तरकर्मी पनि केहीबेर मौन (पज...) बस्यौं । जब उनी अलिकति सम्हालिए, अनि बिस्तारै कुराकानी अघि बढायौं । 

उनी म्याग्दीको बेनीबाट हिँडेको मंगलवार १९औं दिन भएको छ । यसबीचमा शुरूका २ दिन र पछिल्ला ५ दिन गरी ७ दिन उनी लगातार हिँडे भने बाँकी दिन पोखराको होटलमा बसे । 

रामेछापबाट करीब साढे ३ सय किलोमिटर टाढा म्याग्दीको दरवाङमा ज्यामी काम गर्न जान लागेकोमा भीमबहादुरकी श्रीमती पनि खुशी थिइनन् । तर आफूसहित ७ जनाको परिवार पाल्नुपर्ने दुःख, पीडा र बाध्यातासामु आमा र श्रीमतीको मलिनो अनुहारले उनलाई छोएन । कुरा त उनीहरूको सुने, तर निर्णय आफैं लिए ।

कोरोना भाइरसको त्रास बढेसँगै उनीसँग काम गरिरहेका तीनजना साथी लकडाउन शुरू हुनुभन्दा ३ दिनअघि दरबाङबाट हिँडे । त्यसको भोलिपल्ट उनी पनि हिँड्न खोजेका थिए, तर ‘अन्तिम काम छ, तिमीले नै सकाएर जाऊ, अरूको विश्वास लाग्दैन’ भन्ने सुपरभाइजरको निर्देशनले उनी रोकिए । 

जब उनको काम सकियो अनि उनले अब रामेछाप फर्कनुपर्‍यो भनेर तयारी गर्न थाले । विचरा उनी, त्यतिञ्जेलसम्म लकडाउन शुरू भैसकेको र त्यसको असर स्वरूप गाडी नचलेकोबारे जानकार थिएनन् । जब उनले गाडीको टिकटबारे बुझ्न खोजे अनि मात्र सबै कुरा थाहा पाए ।

‘एकछिन त पत्यार नै लागेन,’ उनले भने, ‘जता सोधे पनि उही (गाडी नचल्ने, हिँड्न नपाइने) कुरा आएपछि पत्याउन बाध्य भएँ,’ उनले भने ।

कमाएको पैसा ठेकेदारले ‘उतै तिम्रो घरमा दिन्छु भनेकाले’ आफूले बुझन् नपाएको उनको भनाइ छ । आफूले पाउने पैसा साहुले सोझै घरका सदस्यलाई दिएको हुनुपर्ने उनको विश्वास छ ।

आफूसँग भएको अलिकति पैसाले जेनतेन खान पुग्ला कि भन्ने उनको अनुमान पनि फेल खाइसकेको छ । पोखरामा बास बस्दा आफूसँग भएको पैसा सकिइसकेको उनले दुःख सुनाए । 

‘म्याग्दीको बेनीबाट हिँड्दै दुई दिनमा पोखरा आइपुगें । गाडी पाउने आशैआशामा नौ दिन पोखरामा होटलमा बास बसें । पोखराबाट हिँडेको ५ दिनमा काठमाडौं आइपुगें, अब २ दिनमा कसो घर नपुगिएला ?’ आशावादी देखिँदै लामाले भने । 

मंगलवार घाम डुब्ने बेलामा काठमाडौंको खाल्डोमा प्रवेश गरेका उनलाई अब भने घर पुगिने आशा पलाएको छ । उनी मंगलवार राति भक्तपुरको जगातितिरको प्रतिक्षालयमा बास बस्ने योजनामा थिए । 

म्याग्दीको दरवाङमा चाहिँ उनले विद्यालय भवन बनाउने काम पाएका थिए । 

यसरी भयो बेनीदेखि काठमाडौंसम्मको यात्रा (भीमबहादुरकै शब्दमा):

म चैतको २ गते नै हिँड्न खोजेको थिएँ । ठेकेदारले बाँकी रहेको काम तपाईंले नै गर्दिनुस् भनेपछि म अलिदिन बसें । काम सकेर हिँड्दा ७ दिन ढिला भयो । सरकारले लामो दूरीका बस चल्न रोक लगाएको रहेछ । बस चल्ने अन्तिम दिन ९ गते साँझ म म्याग्दी सदरमुकाम बेनी आइपुगेको थिएँ । म दुई घण्टा ढिला भएछु । दुई घण्टा छिटो आएको भए, काठमाडौं आउने नाइट बस फेला पर्ने रहेछ । ११ गतेबाट त सहज हिँडडुल गर्न पनि नपाइने भयो, म भने गाडी खुल्ला भन्ने आशामा १३ गतेसम्म बेनीको होटलमा बसें । 

तर पनि म्याग्दीबाट गाडी चल्ने कुनै छाँटकाँट देखिएन । एक जनाले पोखराबाट काठमाडौं जाने गाडी पाउन सकिन्छ भने । त्यसपछि म हिँड्ने निधो गरें । चैत १४ गते बिहानै बेनीबाट म पोखराका लागि हिडें । प्रहरीले भन्दिएपछि मालढुंगामा आएर खाना खान पाएँ । त्यो रात म कास्कीको लुम्लेनिरको काँडेमा बास बसें ।

भोलिपल्ट लुम्लेबाट हेम्जा हुँदै पोखरा आउँदै गर्दा बगरमा प्रहरीले रोक्योे । प्रहरीले कहाँ हिडेको ? हिँड्न पाइन्न भन्यो । मैले मलाई खाने बस्ने व्यवस्था गर्दिनुस्, म यहीँ बस्न तयार छु भनेपछि एकछिन रोकेर छाड्यो । पोखरा बसपार्कमा आएको काठमाडौं जाने एउटै गाडी पाइएन । धेरैबेर कुरें । दुई दिन हिँड्दा थकाइ लागेको थियो । त्यसपछि बसपार्क नजिकैको स्याङ्जा होटलमा बास बसें । सामान्य छाप्रो जस्तो होटलमा एक छाक खानाको १ सय ५० र राति सुतेको १ सय ५० तिर्नुपर्ने । होटलमा चितवनका पाँचजना पनि सँगै थिए । 

बन्द खुल्ला भनेर दिन गनेर बस्यौं । दिन गन्दागन्दै नौ दिन बित्यो । आफूसँग भएको पैसा सकिन थाल्यो । मसँग ३ सय ६० रुपैयाँ मात्र बाँकी भयो । चितवनका युवाहरूले ‘होइन अंकल, अब यसरी बसेर हुन्न । हिँड्दै भएपनि जाऊँ’ भने । उनीहरूले हिम्मत दिएपछि मैले हिँडेरै घर जाने निधो गरें । 

त्यसपछि हामी २७ गते बिहान ३ बजे पोखराबाट हिँड्यौं । होटलवालाले बिहान एककप चिया र बिस्कुट फ्रीमा दियो । अँध्यारोमा हिँडेका थियौं । विजयपुरमा आउँदा उज्यालो भयो ।

बिस्तारैबिस्तारै हिँड्यौं । कास्की र तनहुँको सीमामा पर्ने कोत्रेमा आएपछि प्रहरीले रोक्यो– ‘माथिको आदेश छ, जान मिल्दैन भनेर ।’ एकछिनपछि हवल्दारनी आएर जान दिइन् । प्रहरीचौकी छल्दै जानुहोला भनेर उनीहरूले सल्लाह दिए । 

त्यसपछि हामी पैदलै हिड्यौं । तनहुँको सदरमुकाम दमौली आउँदा रात पर्न लाग्यो । होटलहरू बन्द थिए । घरमा बास माग्दै हिँड्यौं, कसैले बास दिएनन् । तिर्खाले छटपटी हुँदा घरमा पानी माग्थ्यौं, तर कसैले दिएनन् । बाटोमा हिँडिरहेका बेला जब पानीको धारा र साना खोल्सामा पानी भेटिन्थ्यो, संसारै जितेजस्तो हुन्थ्यो । 

पोखराबाट हिँडेको दिन तनहुँमा बास माग्दामाग्दै ओठमुख सुक्यो । एकदम धेरै अनुरोध गर्दा पनि बास पाइएन । साँझपखको समयमा जब हामी बास माग्दै घरको आँगनमा पुग्थ्यौं, मानिसहरू देखेकोनदेख्यै गर्थे । एक शब्द बोल्दा पनि बोलेनन् । पानी माग्दा पनि दिएनन् । 

तर तनहुँको छिर्केनी भन्ने ठाउँमा एकजना लाहुरेनीले हामीलाई बास दिइन् । ‘काल आएको रहेछ भने ठेस लागेर पनि मरिन्छ, आउनुस् म तपाईंहरूलाई बास दिन्छु,’ भनिन् । खाना खान पनि दिइन् । राति हामी तिनै लाहुरेनी दिदीकोमा सुत्यौं । भोलिपल्ट बिहान चिया खाएर हामी हिँड्न शुरू गर्‍यौं । 

मलाई ती लाहुरेनी दिदी नै यो पापी संसारकी साक्षात देवी हुन् जस्तो लाग्यो । खल्तीमा जम्मा साढे ३ सय छ । त्यसैले किनेर खाउँ र सुतौंभन्दा पनि मानिस गाँसबास दिन्नन् । कस्तो स्वार्थी रहेछ सर दुनियाँ त !

मुग्लिनमा आएपछि चितवनका भाइहरू छुटे । मुग्लिन प्रहरीलाई मलाइ ट्रकमा पठाइदिनुस् न भनेको हामीले पठाउन मिल्दैन भने । त्यसपछि म बाटो लागें । दिउँसो मुग्लिनमा चाउचाउ बिस्कुट किनेर खाएँ । केबुलकार (कुरिनटार)निर आइपुग्दा रात पर्‍यो । मुग्लिनमा प्रहरीले केही खानेकुरा दिएको थियो ।

केबलकारभन्दा अलि वर एउटा मन्दिर रहेछ । मन्दिरमा दुईजना साधु थिए । आज राति म यहीँ बस्छु भनें । साधुले ‘बैठो भैया’ भने । उनीहरूले मलाई राति तरकारी दिए । त्यही तरकारीसँग मसँग भएको चिउरा निकालेर खाए । राति त्यही मन्दिरको आडमा सुतें । चिसो न चिसो भुइँ थियो सर । तर हिँड्दाखेरि बेस्सरी गलेकाले होला, भुसुक्कै निदाएछु । 

तेस्रो दिन बिहान ५ बजेतिर उठेर एक्लै हिँड्न थाले । लगातार दुई दिनको हिँडाइले ज्यान गलिसकेको थियो । दिउँसो घाममा आराम गर्दै हिँडें । सडकमा ट्रक र एम्बुलेन्स गुडेका थिए । ठ्याक्कै त कसरी भन्न सक्नु । तर मैले ७०/८० ट्रक र एम्बुलेन्सलाई रोक्नुस् भनेर इशारा गरें । अहँ, कसैले रोकेनन् । त्रिशूली नदीलाई हेर्दैहेर्दै म हिडें । त्यो दिन राति म घाटबेसीमा आइपुगें ।

राति म सडक छेउमा रहेको प्रतिक्षालयमा सुतें । गाडी हिँडेका थिए । सुतेको ठाउँमा कुकुर थिए । झिंगा भन्केका थिए । कुकुरले मलाई चाटिरहेको जस्तो लाग्थ्यो । तर यति थकाइ लागेको थियो कि सुत्नासाथ झ्याप्प निद्रा लाग्यो । सपना के देखें भन्ने कुरा सम्झिन सकिनँ । दिउँसो त्यहीँ चिउरा, बिस्कुट र पानी किनेर खाएँको थिएँ । रातिका लागि मसँग खानेकुरा केही थिएन । पानी तिर्खा लागेको थियो । भोक लागेको थियो, तर न खाने कुरा किन्ने ठाउँ खुला छ, न त आफूसँग खाने कुरा छ । त्यो रात भोकै सुतें । 

चौंथो दिन दिनभरी हिँडेपछि गल्छीभन्दा अलि माथि मच्छेटार भन्ने ठाउँमा आइपुगें । दिउँसो गजुरी प्रहरीका इन्सपेक्टरले ३ वटा चाउचाउ दिएका थिए । बाटोमा पानी थापें र चाउचाउ खाँदै हिँडे । शुरू–शुरूमा ट्रकलाई हात दिएको कसैले रोकेनन्, त्यसपछि मैले रोकाउनै छाडें । चौथो रात मच्छेटार (ठाउँको नाम अहिले ठ्याक्कै बिर्से) मच्छेटार नै जस्तो लाग्छ । त्यहाँ बिताएँ । त्यो रात पनि मेरो पेट खाली रह्यो । दिउँसो चाउचाउ र पानी खाएकै थिएँ । साँझ न खाना दिने कोही भेटिए न किन्ने पसल भेटें । चौंथो रात पनि भोकै सुतें । 

आज बिहान मच्छेटारबाट हिँडेको घाम अस्ताउने बेला काठमाडौं आइपुगें । आज राति भक्तपुरमा बास हुन्छ होला । अघि नागढुंगामा प्रहरीले रोक्यो । बेकारमा मलाई दुई घण्टा नागढुंगामा रोक्यो । मेरो हिँड्ने ट्याम (समय) खेर गयो । नत्र म अहिले कलंकी पुगिसकेको हुन्थें । 

भोलि (आज बुधवार) भक्तपुरबाट काभ्रे कटेर झाँगाझोलीसम्म पुग्न सक्छु कि भन्ने लागेको छ । त्यसपछि पर्सि (बिहीवार) म खाल्डेबाट झोलुंगे पुल तरेर पुरानो बाटो हुँदै मन्थली लाग्छु ।  

जीवनको भोगाइ 

६३औं वसन्त पार गरेका भीमको जीवनमा दुःख नआएका होइनन्, तर यस्तो दुःख आएको थिएन । ‘दरवाङमा छँदासम्म केही थाहा थिएन । बेनी आएपछि थाहा भयो मान्छे मार्ने भाइरस आएकोले बन्द भयो भन्ने कुरा’ उनले लोकान्तरसँग भने ।

काठमाडौं आइपुग्दा उनको साथमा मात्र ५० रुपैयाँ बाँकी थियो । 

‘पाँच दिनमा एक छाकमात्र खाना (भात) खान पाएँ । अहिलेसम्म चिउराको भरमा हो,’ उनले भने । धाराको पानी र चिउरा खाँदा र राति प्रतिक्षालयको भुइँमा सुत्दा चिसो लागेको उनले बताए । ‘जीवन यस्तै रहेछ, ७ दिनको अनुभव पनि एउटा लामो कथा जस्तो भयो,’ लामाले निष्कर्ष सुनाए ।

लामाको कुरा सुन्दा लाग्थ्यो उनले एक तहसम्मको अध्ययन गरेका थिए । 

हिँड्दै थानकोट आइपुगेका लामालाई राजकुमार गोपाली, अशोक मानन्धर, विजेन शाही र विष्णु शाही लगायतले पिउने पानी र चिउरा निःशुल्क दिए । उनले एक बोत्तल पानीमा जीवनजल घोलेर खाए । ‘आज राति यसैले गुजार्ने हो,’ हातमा खाजाको पोको समाउँदै लामाले भने । 

...र, हामी पनि स्वार्थी 

हामी लोकान्तरकर्मी लकडाउनका कारण घरमा बस्दाबस्दा दिक्क लाग्न थालेपछि केहीदिन यता हाइवे र काठमाडौं वरपरका क्षेत्रमा रिपोर्टिङका लागि निस्किएका छौं । यसबीचमा हामीले थुप्रै ज्यालादारी मजदूरका अनेकन् पीडा सुन्यौं र त्यसबारेमा लोकान्तर डट्कममा रिपोर्टिङ पनि गर्‍यौं, तर मंगलवार साँझ हामीले भेटेका लामाको पीडाले चाहिँ हाम्रो मन पगालिदियो ।

पाठकसामु इमान्दारीपूर्वक भन्नुपर्छ, हामीले लामालाई आफ्नो सवारीमा लिफ्ट दिन त सकेनौं । यसमा हाम्रो स्वार्थीपन, प्रहरीको कडा निर्देशन र परिवारको सुझावले काम गरेको थियो । तर लामाको कथा व्यथा सुनेपछि हामीले आफूसँग भएको केही नगदचाहिँ उनलाई दियौं । हामीले दिएको सानो नगद सहयोग देखेर लामा यति खुशी देखिए कि उनको अनुहारमा एकाएक चमक आयो । हामीसँग छुट्टिने बेला उनले भने, ‘सर, यति भयो भने त म कसैले खाने कुरा नदिएपनि सजिलै मन्थली पुग्छु ।’

मन्थली पुग्ने बेलासम्म लामाको स्वास्थ्य बिग्रेला कि भन्ने हामीलाई चिन्ता छ । उनलाई बेस्सरी चिसो लागेको छ । ज्वरो आएको छैन । टाउको दुःखेको र श्वास फेर्न गाह्रो भएको त हुँदै होइन । तर चिसो र लगातारको हिँडाइले गलेका उनी सकुशल घर पुगे हुन्थ्यो भन्ने हाम्रो कामना छ ।

छुट्टिने बेला हामीले उनको मोवाइल नम्बर माग्यौं । उनले भने, ‘मसँग मोबाइल छैन सर ।’ तपाईंलाई पछि कसरी सम्पर्क गर्ने त ? जवाफमा उनले भने, ‘नमरे फेरि भेट होला नि सर !’

 

Mega
TATA Below
NLIC
जेठ २०, २०७९

बालुवाटारस्थित प्रधानन्यायाधीश निवासको उत्तरतर्फको सडक हिलाम्मे र भद्रगोल छ ।  बालुवाटार रोडबाट लाजिम्पाट निस्किने उक्त सडक प्रधानन्यायाधीश र प्रधानमन्त्रीको सरकारी निवासको उत्तरतर्फको कम्पाउन्डसँगै सटेको छ ।...

जेठ २८, २०७९

बुटवललाई औद्योगिक शहर भनिन्छ तर बुटवललाई औद्योगिक ‘हब’ बनाउने पात्रबारे खासै चर्चा/परिचर्चा हुँदैन ।  व्यापारको केन्द्र पुरानो बटौली, भट्टी पसलका रूपमा ख्याती कमाएको खस्यौलीको जति चर्चा छ, त्...

असार ४, २०७९

गुल्मीका तिलबहादुर थापा श्रीस ७ कक्षा पढेर लाहुर गए र लाहुरे भए । मरुभूमिभन्दा कम रुखो र कम कठिन छैन उनको जीवन । १७ वर्षको कलिलो उमेरमै संघर्ष गर्दै सन् १९७० मा भारतको गोरखपुरबाट भारतीय सेनामा भर्ती भए । ...

जेठ २२, २०७९

नेपालको सिमानाको कुरा गर्दा हामीमध्ये धेरैले भन्छौं पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म । तर, पूर्वको सीमामा पुग्दा मात्रै थाहा हुन्छ, मेची नदीभन्दा पारिपट्टि पनि नेपाल छ । सुदुरपूर्वको जिल्ला झापामा दुईवटा...

जेठ २२, २०७९

सुर्दशन घिमिरे  [ पर्यटक गाइड हुन् ।] नेपाल सुन्दर प्रकृतीले भरिपूर्ण देश हो । विभिन्न रमणीय क्षेत्र र हिम श्रृङ्खलाले नेपालई विश्वमा नै चिनाएको छ । विश्वका ८ हजार भन्दा माथिका अग्ला ८ वटा हिमाल नेपालमा न...

असार ९, २०७९

एकातिर फोहोर व्यवस्थापनको चुनौती र अर्कातिर ग्यासको बढ्दो मूल्यका कारण आमसर्वसाधारण मारमा परिरहेका बेला सानो परिमाणमा भने पनि यी दुवै समस्या न्यूनीकरणमा काम आउने एउटा मशिन भक्तपुरमा झण्डै एक दशकदेखि बिग्रिएर अ...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

बजेटले कसलाई किन पिरोल्यो ?

बजेटले कसलाई किन पिरोल्यो ?

असार ८, २०७९

बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्‍यो भने त्यो क्षम्य हुँदैन ।  बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...

ad
x