०३ असार २०८३, बुधबार

उपत्यकामा संक्रमित देखिएपछि नमूना परीक्षण गराउने बढे

बैशाख ३, २०७७
उपत्यकामा संक्रमित देखिएपछि नमूना परीक्षण गराउने बढे

उपत्यकामा कोभिड–१९ संक्रमण देखिन थालेपछि नमूना परीक्षण गराउने बढेका छन् ।

उपत्यकामा मंगलवार २ जनामा संक्रमण देखिएपछि विदेशबाट आएका मानिसहरू आफैं अस्पतालमा पुगी नमूना परीक्षण गराउन थालेका छन् । उपत्यकामा अहिलेसम्म ५ जनामा संक्रमण देखिएको छ । 

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले उपत्यकामा मंगलवार एकै पटक २ जनामा संक्रमण देखिएपछि अस्पतालमा आएर परीक्षण गराउनेको संख्या बढेको बताए ।

उनका अनुसार पहिले दैनिक १०–१५ जनाको परीक्षण गर्ने टेकु अस्पतालमा अहिले  ३० जना आउने गरेका छन् । 

घरबेटी र समुदायले नै विदेशबाट आएका मानिसलाई संक्रमण भए/नभएको रिपोर्ट ल्याउन भनेपछि ती मानिसहरू अहिले टेकुस्थित अस्पतालमा आफैं गएर परीक्षण गराइरहेका छन् । ‘उपत्यकामा संक्रमित बढेसँगै त्रास भएको छ । अहिले दैनिक ३० जना आफैं अस्पतालमा आएर नमूना परीक्षण गराइरहेका छन्,’ उनले भने, ‘विगत एक–डेढ महिनादेखि विदेशबाट आएका धेरै छन् । घरबेटी र समुदायले नै आफूलाई बस्न दिएन भन्दै धेरै मानिस आउन थालेका छन् ।’

अस्पतालले २४ घण्टामा नमूना परीक्षणको रिपोर्ट दिने गरेको छ । टेकु अस्पतालले संक्रमण देखिन थालेपछि आइसोलेसनको र सघन उपचार कक्षको वृद्धि गरेको छ । अहिले २५ आइसोलेसन र २० सघन उपचार कक्ष तयार गर्ने कार्य भइरहेको अस्पतालका निर्देशक डा. राजभण्डारीले बताए ।

पहिलो पटक माघ ९ गते चीनको वुहानबाट आएका एक विद्यार्थीमा संक्रमण देखिएको थियो भने त्यसयता चैत १० गते फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा दोस्रो संक्रमण देखिएको थियो । चैत १२ गते पुनः एक जनामा कोभिड पोजेटिभ देखिएको थियो भने मंगलवार काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका ८१ वर्षीय महिला र अर्का ५८ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

मंगलवार संक्रमण देखिएको ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य २ जनाको टेकु अस्पतलाको आइसोलेसनमा उपचार भइरहेको छ । अहिले नेपालमा १६ जनामा संक्रमण देखिएको छ ।
कैलालीमा ४, कञ्चनपुरमा १, बागलुङमा २, काठमाडौंमा ५, पर्सामा ३ र  रौतहटमा १ जना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले उपत्यकामा नमूना परीक्षणको दायरा बढाइरहेको बताए । उनले मंगलवार संक्रमित देखिएका स्थानमा १ हजार ७०० जनाको परीक्षण गरिने जानकारी दिए ।

मन्त्रालयका अनुसार मंगलवारसम्म रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरी दुवै विधिबाट अहिलेसम्म १२ हजार ९०६ जनाको परीक्षण गरिएको छ ।

परीक्षणको दायरा बढाउनका लागि अहिले उपत्यकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु अस्पताल र वीर अस्पतालमा पनि पीसीआरबाट परीक्षण गरिएको छ । इपिडिमोलोजी तथा सरुवा नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले उपत्यकामा पनि स्थानीय तहसँगको समन्वयमा विदेशबाट आएका व्यक्तिको परीक्षण गरिरहेको बताए ।

‘हरेक स्थानीय तहले आफ्नो वडामा विदेशबाट आएका मानिसको नाम संकलन गरिरहनुभएको छ,’ उनले भने, ‘ती संकलितहरूको हामीले नमूना परीक्षण गरिरहेका छौं ।’

उनले मंगलवार देखिएका २ जनाको आफन्त र नातेदारमा पीसीआर र अपार्टमेन्टमा बस्ने अन्यलाई आरडीटी विधिबाट परीक्षण शुरू गरिसकेको जानकारी दिए । मंगलवार मात्र उपत्यकामा पीसीआरबाट ३८७ जनाको परीक्षण गरिएको छ । – शरद शर्मा/रासस

salt training

कमेन्ट गर्नुहोस्