
यस वर्ष यार्सागुम्बा संकलन रोकिने भएको छ।
जिल्ला प्रशासन कार्यालय डोल्पाको अगुवाइमा मंगलबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो।
बैठकले यस विषम परिस्थितिमा यार्सागुम्बा संकलन रोक्ने निर्णय गरेको प्रजिअ सुरेश सुनारले जानकारी दिए। जिल्लाका अधिकांश जनप्रतिनिधिको उपस्थितिमा सो निर्णय गरिनाका साथै कोरोना त्रासका कारण बढेको लकडाउन अझै व्यवस्थित बनाउने, स्थानीय तहले क्वारेन्टाइन निर्माणदेखि आइसोलेशन निर्माणका कामका बारेमा समीक्षासमेत गरिएको छ।
राहत प्याकेजलाई व्यवस्थित रुपमा वितरण गर्नका लागि सबै जनप्रतिनिधि र सरकारी अधिकारीले तदारुकता दिने प्रजिअ सुनारले जानकारी दिए। बैठकमा जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढा, ठूलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाही, काइके गाउँपालिका अध्यक्ष अंकत राना मगर, त्रिपुरासुन्दरीका नगरप्रमुख ओम बुढालगायत स्थानीय सरकारका प्रमुखको सहभागिता थियो।