
उपप्रधानमन्त्री पोखरेललाई चार बुँदे निर्देशनपत्रः कालोबजारी गर्नेलाई तत्काल कारबाही गर्नु
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई चार बुँदे निर्देशनपत्र बुझाएको छ।
मन्त्री पोखरेललाई मंगलबार समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले बुझाएको निर्देशनपत्रमा सरकारले वितरण गरेको राहत गुणस्तरहीन भएको हुँदा कालोबजारी गर्नेलाई तत्काल कारवाही गर्न भनिएको छ।
त्यस्तै अरु निर्देशनमा भारतीय सीमा नाकामा अलपत्र परेका नेपालीलाई स्वास्थ परीक्षण गरी सुरक्षित तबरबाट नेपाल ल्याउन पहल गर्नुपर्ने, अलपत्र परेका नागरिकलाई सुरक्षित रुपमा घर जाने व्यवस्था मिलाउनुपर्ने रहेको छ ।
लकडाउनको अवस्थामा खाद्यान्नको अभाव हुन नदिन कम्तीमा तीन महिनासम्मका लागि खाद्यान्न भण्डारको व्यवस्था मिलाउन र कृषि क्षेत्रको प्रवद्र्धन गर्ने गरी दीर्घकालीन योजना बनाउन समितिले निर्देशन दिएको छ। समितिले विदेशमा गएका श्रमिकको रोजगारी खोसिन गई अलपत्र परेका नागरिकलाई उचित व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।
जंगिए बाबुरामः भन्छन्- ओली सरकारलाई विदा गर्नुको विकल्प छैन
मुलुक संकटमा रहेका बेला सरकारले अध्यादेश ल्याएपछि समाजवादी पार्टी संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले रोष प्रकट गरेका छन्।
सरकारले सोमबार संवैधानिक परिषदको काम कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ ल्याएको थियो।
मुलुक कोरोनाको संकटमा गुज्रिएका बेला सरकारले गलत कदम चालेको भन्दै तीव्र आलोचना भइरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्नुको विकल्प नभएको बताएका छन्।
ट्वीटरमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै भट्टराईले संवैधानिक आयोग कब्जा गर्ने अध्यादेश ल्याएर लोकतन्त्रविरोधी विष पिलाउने ओली सरकारलाई अब बिदा गर्नुको विकल्प नभएको बताएका हुन्।
उनले ट्वीट गर्दै भनेका छन्, ‘कोरोना पीडित आमजनता र लकडाउन! भोकपीडित श्रमिकलाई औषधि, खाना र राहत सट्टा उल्टै पार्टी फुटाउने र संवैधानिक आयोग कब्जा गर्ने अध्यादेश ल्याएर लोकतन्त्रविरोधी विष पिलाउने ओली सरकारलाई अब विदा गर्नुको विकल्प छैन! दलीय घेराभन्दामाथि उठौं। ओलीतन्त्रको अन्त्य गरौँ! लोकतन्त्रको रक्षा गरौं।'
एकैदिन ११ जनामा कोरोना संक्रमण पुष्टि, संख्या ४२ पुग्यो : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरमा मंगलवार एकैदिन ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित रुपमा गर्ने भिडियो जानकारी सार्वजनिक गर्दासम्म मंगलवार १ जनामा मात्रै संक्रमण पुष्टि भएपनि त्यसपछि थप १० जनामा संक्रमण पुष्टि भएको जनाइएको थियो ।
मन्त्रालयमा सचिव यादव कोइरालाले लोकान्तरलाई दिएको जानकारी अनुसार कोशी अस्पतालमा ‘पोजेटिभ’ देखिएका नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुनः परीक्षण गर्दा मंगलवार ११ जनामा कोरोना पुष्टि भएको छ ।
धरानमा ८ जना र काठमाडौंमा ३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । मंगलवार पुष्टि भएका संक्रमितमध्ये १ जनाबारे प्रवक्ता देवकोटाले भिडियो जानकारीमा बताएका थिए । मंगलवार अपराह्न धरानको प्रयोगशालामा ८ जना र काठमाडौंमा साँझ थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको सचिव कोइरालाले लोकान्तरलाई बताए । अपराह्न र साँझ संक्रमण पुष्टि भएका १० जनाबारे मन्त्रालयले औपचारिक जानकारी दिइसकेको छैन ।
यसअघि उदयपुरमा १२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । उदयपुरको मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको स्वाब नमूना परीक्षण गर्दा थप संक्रमित बढ्दै गएका छन् ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभर कोरोना संक्रमितको संख्या ४२ पुगेको छ भने ५ जना उपचारपछि निको भएर ‘डिस्चार्ज’ भइसकेका छन् ।
कैलालीमा अर्का कोरोना संक्रमितलाई निको, देशभर ५ जना ‘कोरोनामुक्त’
सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस संक्रमणको उपचार गराइरहेका एक व्यक्ति मंगलवार डिस्चार्ज भएका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–५ निवासी ३४ वर्षीय पुरुष उपचारपछि निको भएर डिस्चार्ज भएका अस्पतालले जनाएको छ ।
यसअघि सेतीमै उपचाररत लम्कीचुहा नगरपालिकाका २१ वर्षीय पुरुष आइतवार डिस्चार्ज भएका थिए ।
यससँगै नेपालमा उपचारपछि निको हुने संक्रमितको संख्या ५ पुगेको छ । यसअघि काठमाडौंमा २ जना र बाग्लुङमा १ जना उपचारपछि निको भइसकेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३२ जनामा कोरोना संक्रमण देखिएको छ भने ५ जना निको भएका छन् ।
पार्टी एकतामा आघात पुग्ने काम नहोस् – माधवकुमार नेपाल
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकार र पार्टीले मूख्य जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्न नहुने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ७१ औं स्थापना दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै वरिष्ठ नेताले कानूनी शासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्नसक्ने काम हुन नहुने उल्लेख गरेका छन् ।
संसार नै विषम परिस्थितिमा रहेको भन्दै नेता नेपालले सबै एकजुट भएर कोभिड १९ विरुद्ध लड्नुपर्ने विज्ञप्तिमार्फत बताएका छन् । आन्तरिक पार्टी एकतालाई कमजोर नबनाउन पनि उनले पार्टी नेताहरूलाई खबरदारी गरेका छन् ।