३० जेठ २०८३, शनिबार

बजारमा खाना पकाउने ग्यास फालाफाल, खपत घटेपछि बुलेट व्यवस्थापन गर्न उद्योगीलाई हम्मेहम्मे !

व्यवसायी भन्छन्– ‘बिक्री घट्यो, एक महिना धान्ने स्टक छ’
बैशाख १५, २०७७
बजारमा खाना पकाउने ग्यास फालाफाल, खपत घटेपछि बुलेट व्यवस्थापन गर्न उद्योगीलाई हम्मेहम्मे !

कोरोनाभाइरस (कोभिड– १९) संक्रमण फैलिन नदिन सरकारले लकडाउनको तयारी गरेपछि चैत पहिलो साता बजारमा खाना पकाउने ग्यासको चरम अभाव देखा पर्‍यो ।

लकडाउन लामो समय जाने आशंकामा सर्वसाधारणले खाना पकाउने ग्यासको सञ्चिती बढाएपछि आपूर्ति व्यवस्था असहज भयो । 

लकडाउन शुरू हुने समयमा ग्यास किन्नका लागि रित्ता सिलिण्डर लिएर बजारमा लामा लाइन बसेपछि सरकारले बजारमा आधा सिलिण्डर ग्यास पठाउने निर्णय गर्‍यो ।

सरकारले ग्यासको मौज्दात रहेको दाबी गरेपनि बजारमा हाहाकार मच्चियो ।

नेपाल आयग निगमका प्रवक्ता विनितमणि उपाध्यायले खपत घटेका कारण ग्यास, डिजेल र पेट्रोल लगायत इन्धन पर्याप्त रहेको बताए ।

लकडाउनका कारण ठूला होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेस बन्द भएपछि अहिले ग्यासको आपूर्ति सहज भएको र अभाव नरहेको व्यवसायीहरूले बताएका छन् । 

नेपाल एलपी ग्यास उत्पादक संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले खाना पकाउने ग्यास बिक्री सामान्य अवस्थाको तुलनामा ४० प्रतिशतसम्म घटेको बताए । 

‘ग्यासका बुलेट आएर लाइनमा बसेका छन्, बिक्री भएको छैन, एक महिनाको माग धान्ने ग्यास स्टकमा छ,’ घिमिरेले लोकान्तरसँग भने । घिमिरेका अनुसार नेपालमा खाना पकाउने ग्यासको औसत खपत सरदर मासिक १ लाख सिलिण्डर छ । औपचारिक आँकडा नभएपनि २० प्रतिशत होटल, रेस्टुरा र पार्टी प्यालेसले खपत गर्ने गरेका थिए ।

कतिपय ग्यास उद्योगले बजारमा पठाएको आधा सिलिण्डर ग्यास नबिकेपछि फिर्ता लिएर भरी सिलिण्डर बजारमा पठाएका थिए । 

‘केही समय बजारमा अभाव भएपछि आधा सिलिण्डर (७ दशमलव १ केजी) पठाएका थियौं, अहिले भरी सिलिण्डर पठाएका छौं,’ उनले भने ।

सिलिण्डर खाली नभएपछि ग्यासका बुलेटको सुरक्षा उद्योगीका लागि टाउको दुखाइको विषय बनेको छ । भारतबाट ग्यासका बुलेट ल्याएका ट्रक राजमार्गमै पार्किङ गरेर राखिएका छन् ।

ग्यासको बुलेट बोकेर ल्याउने चालक र सह–चालकका कारण कोरोना संक्रमण फैलिने भन्दै स्थानीयले धादिङ प्रहरीमा उजुरी गरेका थिए ।

‘ग्यासको बुलेट लिएर आएका ड्राइभरले कोरोना संक्रमण फैलाउने हुन् कि भनेर स्थानीयले गुनासो गरेका छन्,’ धादिङ प्रहरीका एक अधिकारीले लोकान्तरसँग भने, ‘चालक र सहयोगीका लागि ग्यास उद्योगीले उद्योग परिसरमै बस्ने व्यवस्था गरेको जानकारीमा आएको छ ।’

ग्यास खन्याउने सिलिडिर नभएपछि बुलेट बोकेर आएका ड्राइभर हप्ता दिनसम्म पनि नेपालमै बस्नुपर्ने अवस्था सिर्जना भएको ती अधिकारीले बताए ।  

उद्योगी घिमिरेले भारतबाट आइरहेका ग्यासको बुलेट स्यानिटाइज गरेर नेपाल भित्रने गरेको बताए । 

‘हाम्रोमा भन्दा बढी सुरक्षा भारतमा अपनाइएको छ, सीमामा स्यानिटाइज गरिएका बुलेटलाई उद्योगमा पनि स्यानिटाइज गरेर अत्यन्तै सावधानी अपनाइएको छ,’ घिमिरेले भने । 

हल्दिया, बरौली, मथुरा लगायत भारतका ६ स्थानबाट नेपालमा ग्यासका बुलेट आउने गरेका छन् । ३ हजार किलोमिटर टाढाबाट आउने र भारतका हरेक राज्यमा चेकजाँच गरेर मात्र नेपाल आउने गरेको उनले दाबी गरे । सबैभन्दा टाढा भारतको उडिसाको पारादीप भन्ने ठाउँबाट नेपालमा ग्यास आउने गरेको छ । 

घिमिरेका अनुसार सामान्य अवस्थामा भारतबाट दैनिक १ सय ५० ग्यास बुलेट आउने गरेका छन् । एक बुलेटले १२ सय ६० सिलिण्डर रिफिल गर्ने गरिएको छ । लकडाउनपछि सो संख्या केही घटेको उनले बताए ।

आगामी महिनाका लागि अघिल्लो महिनाको २५ तारिखमै नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँग प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) पठाउनु पर्छ ।

मार्च महिनामा गरिएको अर्डर अनुसारको ग्यास अहिले नेपाल आइरहेको छ । 

पेट्रोलको मौज्दात ८३ प्रतिशत 

नेपाल आयल निगमका अनुसार इन्धनको स्टक ८० प्रतिशतभन्दा माथि रहेको छ । आइतवारको डाटा अनुसार पेट्रोल ८३ प्रतिशत, डिजल ७६ प्रतिशत हवाई इन्धनको भण्डार ९५ प्रतिशत छ । 

सामान्य अवस्थामा पेट्रोलको माग दैनिक ३ हजार किलोलिटर बिक्री हुने गरेकोमा अहिले ३ सय किलोलिटरमा झरेको छ ।

यस्तै डिजेलको बिक्री दैनिक ८ हजार किलोलिटर हुने गरेकोमा अहिले १ हजारदेखि १२ सय किलोलिटरमा झरेको छ । 

‘इन्धनको स्टक राम्रो अवस्थामा छ, खाना पकाउने ग्यास पर्याप्त छ,’ निगमका प्रवक्ता उपाध्यायले लोकान्तरसँग भने, ‘खाना पकाउने ग्यास नपाइएको गुनासो पनि छैन ।’

salt training

कमेन्ट गर्नुहोस्