
कोभिड–१९ को पीसीआर परीक्षणका लागि सही तरिकाले स्वाबको नमुना संकलन नभएको विज्ञहरूले आरोप लगाएका छन् । उचित तरिकाले नमुना संकलन गरी प्रयोगशालासम्म नपुर्याउँदा कोभिड–१९ संक्रमित व्यक्तिको पीसीआर परीक्षण नतिजा ‘नेगेटिभ’ आउने सम्भावना प्रबल हुने उनीहरूको भनाइ छ ।
विशेषज्ञहरूले नमुना संकलन र यसलाई प्रयोगशालासम्म पुर्याउने प्रक्रियामै सचेतता र सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन् । सही ढंगबाट नमुना संकलन नभए वा संकलन गरिएको नमुनालाई जाँच नगर्दासम्म नियन्त्रित तापक्रममा राख्न नसके नतिजा गलत आउन सक्छ । यसो भएमा संक्रमणको सही अवस्था थाहा लाग्दैन । हालसम्म देशभर रहेका १६ वटा प्रयोगशालामा १० हजार ४ सय ७१ वटा नमुनाको पीसीआर परीक्षण गरिएको छ ।
धेरैजसो प्राविधिकले हाल पीसीआरका लागि नमुना संकलनको विधिमै प्रश्न उठाएका छन् । त्रिवि शिक्षण अस्पतालको बायोकेमिस्ट्री विभागका डा. विनोदकुमार यादवले भने, ‘हिजो (आइतबार) प्रदेश २ मा पीसीआरका लागि एकदम गलत तरिकाले फटाफट नमुना संकलन भइरहेको टीभीमा देखें । यसरी संकलित नमुनाले व्यक्ति कोभिड–१९ संक्रमित भए पनि नतिजा नेगेटिभ आउने सम्भावना धेरै हुन्छ ।’
कोभिड–१९ को पीसीआर परीक्षणका लागि हाल स्वाबको नमुना नाक र घाँटीबाट लिने गरिएको छ । यो नमुना संकलन गर्न एउटा भीटीएम (नमुना संकलन र ओसारपसार गर्न चाहिने कल्चर मिडियम) को प्याकेटमा दुईवटा स्वाब (शरीरबाट नमुना लिन बनाइएको नरम रुई) हुन्छ । नाकमा रुई पसाएर लिइएको ‘नोजल स्वाब’ र घाँटीबाट लिइएको ‘थ्रोट स्वाब’ दुवैलाई एउटै भीटीएममा राखेर भ्याक्सिन क्यारियर वा आइस बक्समा निश्चिम तापक्रम कायम गरी प्रयोगशालामा पठाउनुपर्छ ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार केही दिनअघि चीनबाट आएको भीटीएममा एउटा स्वाबको नमुनामात्रै राख्न सकिने स्थान थियो । यसरी दुईवटा स्वाबको नमुना लिनुपर्नेमा भीटीएमकै कारण शंकास्पद बिरामीका कसैको नाक त कसैको घाँटीको मात्र नमुना संकलन गरेर परीक्षणका लागि पठाउने गरिएको छ । एउटा नमुनाको मात्र पीसीआर परीक्षणबाट आएको नतिजा शंकास्पद हुन सक्ने ती अधिकारीले औंल्याए । ‘केही प्राविधिक र ठाउँविशेषमा नाकबाट नमुना लिँदा हाच्छिउँ आउन सक्छ र संक्रमणको उच्च जोखिममा पर्न सक्छौं भनेर नाकबाट नमुना संकलन नगरिएको अवस्थासमेत छ,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक प्राविधिकले भने, ‘छिटो नमुना संकलन गर्दासमेत केही ठाउँमा उपयुक्त नमुना संकलन हुन सकेको छैन ।’
‘अनुसन्धानअनुसार नोजल स्वाबबाट मात्रै परीक्षण गर्दा शरीरमा कोभिड–१९ को भाइरस रहे पनि ६० देखि ६५ प्रतिशतमात्रै पोजिटिभ देखाउने सम्भावना हुन्छ,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिस्ट डा. श्रवणकुमार मिश्र भन्छन्, ‘यदि थ्रोट स्वाबबाट मात्र परीक्षण गर्यो भने नतिजा पोजिटिभ आउने सम्भावना ३० देखि ४० प्रतिशतसम्म हुन्छ ।’ उनका अनुसार संक्रमण देखिएको पहिलो सातामा नाक र घाँटी दुवैको उचित रूपमा लिइएको नमुनाको पीसीआर परीक्षण गर्दा पोजिटिभ देखाउने सम्भावना ९० प्रतिशत हुन्छ ।
पीसीआरका लागि नमुना संकलन प्रशिक्षित व्यक्तिबाटै हुनुपर्नेमा उनले जोड दिए । ‘नोजल स्वाब लिँदा नाकभित्र कम्तीमा २० सेकेन्ड राख्नुपर्छ, यस्तै घाँटीको नमुना लिँदा अटोºयारिंग्स (मुखभित्रको अन्तिम भाग) र ºयारिंग्सको सुरुको ठाउँमा स्वाबलाई घुमाउँदै नमुना संकलन गर्नुपर्छ,’ उनले भने ।
तर अहिले नमुना लिने र दिने दुवै पक्ष असंवेदनशील देखिएको डा. यादवको दाबी छ । भन्छन्, ‘नमुना लिने व्यक्तिमा संक्रमण हुन सक्ने मनोवैज्ञानिक त्रास बढी देखिएको छ, त्यसैले नमुना लिनमा उनीहरू अत्यन्त कम समय खर्चन्छन् । दिने व्यक्तिसमेत जति छिटो प्रक्रिया पूरा होस् भन्ने अवस्थामा देखिएका छन् ।’ नमुना लिने क्रममा प्राविधिकको समेत अनुगमन गर्नुपर्नेमा विशेषज्ञहरूले जोड दिएका छन् । ‘मुखभित्र वा जिब्रोमा छुवाएर पुन: नाकमा स्वाब हालेर तुरुन्त निकाली नमुना संकलन गर्ने गरिएको देखियो,’ डा. यादव भन्छन्, ‘नाकबाट लिने नमुनामा श्वासनलीको माथिल्लो भाग र मुखबाट लिने नमुनामा घाँटीको भित्री भागको लिनुपर्ने हो ।’
नमुना प्रक्रिया पुर्याएर लिइए पनि यदि नियन्त्रित तापक्रममा राखेर सुरक्षित रूपमा प्रयोगशाला पुर्याइएन भने कोभिड–१९ संक्रमित व्यक्तिको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आउने सम्भावना धेरै हुन्छ । ‘भीटीएममा राखिएका दुवै स्वाबलाई बाहिरबाट हावा नछिर्ने गरी बन्द रिक भ्याक्सिन क्यारियर वा आइस बक्समा राख्नुर्छ,’ डा. मिश्र भन्छन्, ‘नमुनालाई प्रयोगशाला पुर्याउन अधिकतम २४ घण्टासम्म आइस बक्सको तापक्रम २ देखि ८ डिग्री सेन्टिग्रेडसम्म हुनुपर्छ ।’
तापक्रम सन्तुलनमा राख्न उनले आइस बक्समा बरफको सट्टा जेल प्याक राख्न सुझाए । उनका अनुसार नमुना राखिएको आइस बक्समा रहेको बरफ प्रयोगशाला पुग्दासम्म सकेसम्म नपग्लिएको वा पग्लिएको भए पनि पानी एकदम चिसो हुनुपर्छ । आइस बक्सको तापक्रम चिसो नभए पनि नतिजा नेगेटिभ आउने सम्भावना धेरै हुन्छ । पीसीआर परीक्षणको नमुना संकलनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्राविधिक र स्वास्थ्यकर्मीहरूलाई तालिमसमेत दिएको थियो । यस्ता प्रशिक्षित व्यक्तिले पुन: स्थानीय प्राविधिकलगायतलाई सिकाएको डा. मिश्र बताउँछन् ।
निजी प्रयोगशालाले पनि परीक्षण गर्न पाउने
कोरोना संक्रमण भए, नभएकोबारे अब निजी प्रयोगशालाले पनि परीक्षण गर्न पाउने भएका छन् । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति लिनुपर्ने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्पष्ट पारे ।
हाल सरकारी प्रयोगशालाबाट मात्रै नि:शुल्क परीक्षण हुँदै आएको छ । डा. देवकोटाका अनुसार सरकारले कोभिड–१९ जाँच गर्ने प्रयोगशालाको न्यूनतम मापदण्डबारे निर्देशिका जारी गरेको छ । निर्देशिकामा उल्लेखित मापदण्ड पूरा गर्ने निजी प्रयोगशालाले समेत परीक्षण गर्न पाउनेछन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा मात्रै ३१ जना संक्रमितको उपचार भइरहेको छ । मुलुकमा हालसम्म पुष्टि भएका ५२ संक्रमितमध्ये उपचारपछि १६ जना घर फर्किसकेका छन् भने ३६ जना उपचाररत छन् । विराटनगरमा ३१, वीरगन्जमा तीन, धनगढीमा एक र भरतपुरमा एक जनाको उपचार भइरहेको छ । सबै संक्रमितको स्वास्थ्य स्थिति सामान्य छ ।
मुलुकभर सोमबार पीसीआर प्रविधिबाट ५ सय ४० नमुनाको जाँच गरिएको छ । हालसम्म १० हजार ४ सय ७१ नमुनाको पीसीआर परीक्षण गरिएको छ । सोमबार नै १ हजार ६ सय २७ नमुनाको आरडीटी गरिएको छ । हालसम्म आरडीटी गरिएको नमुनाको संख्या ४३ हजार ६३ पुगेको छ । मुलुकभर २० हजार १ सय ९५ जना क्वारेन्टाइनमा छन् । उपत्यकामा ८ र उपत्यकाबाहिर ९८ जना गरी कुल १ सय ६ जना आइसोलेसनमा उपचाररत छन् । कान्तिपुर दैनिकमा खबर छ ।