
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले वितरण गरेको राहत चामल प्रकरणमा परासीका व्यवसायी पटवारी वनियाँ जेल चलान भएका छन् । गएको चैत २८ गते रामग्राम नगरपालिकाले वितरण गरेको चामल खान योग्य नभएको र कम तौल भएको भन्दै केही विपन्नहरुले खाद्यन्न सामग्री नगरपालिकाको गेट अगाडी फालेका थिए ।
चामलको गुणस्तर जाँच गर्न पुगेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले उक्त चामल न्यून गुणस्तर र नेपाल सरकारले तोकेको मापदण्ड विपरीत रहेको जनाएपछि जिल्ला अदालतमा व्यवसायी उपर मुद्दा चलाइएको हो । प्रमाणका आधारमा जिल्ला न्यायधीश धु्रव कुमार शाहको इजलाशले व्यवसायी वनियाँलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत परासीका वैतनिक वकिल सरस्वती शर्माले जानकारी दिइन ।
चामल विक्री गर्ने सप्लायर्स उपर मात्र अभियोग पत्र रहेकाले कानुनअनुसार व्यवसायी जेल चलान भएको शर्माले जानकारी दिइन फौजदारी कार्यविधि संहितामा ३ वर्षभन्दा माथि सजाय हुने मुद्दामा पुर्पक्षका लागि पठाउनु पर्ने उल्लेख छ । अभियोग दाबी भएमा उनलाई ५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने प्रावधान छ ।
यसैबीच वितरण गरिएको चामलको तौल कम भएको बारे गुणस्तर तथा नाप तौल कार्यालय बुटवलले गरेको अनुसन्धानमा ३ सय ७० ग्रामसम्म तौल कमि भएको पाइएको छ । ‘उपलब्ध गराइएको चामलमा घटी नाप तौल पाइएको छ । सम्बन्धित सप्लायर्ससँग बयान लिने काम भइरहेकाले सरकारी वकिल कार्यालय मार्फत अदालतमा अभियोग दर्ता गर्छौ,’ गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख मनोज पोखरेलले भने ।
नगरपालिकाले २३ सय विपन्नका लागि प्रतिघरधुरी ५/१० र १५ केजी सोना मनसुली (मोटा)चामल र सोहीअनुसारका अन्य खाद्यन्न वितरण शुरू गरिएको थियो । नगरपालिकाले २ सय ५० क्विन्टल चामल परासीस्थित राजेश राईस मिलबाट खरिद गरेको थियो । १० लाखमा खरिद गरिएको चामलको मूल्य प्रति केजी ४० रुपैयाँ छ ।
यसैबीच राहत सामग्री खरिद प्रकृयाबारे अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले पनि नगरपालिकाबाट कागज पत्र लगेर अनुसन्धान गरिरहेको छ ।