चीनले मूल थलोमै कोरोनाभाइरसलाई नियन्त्रण नगरकाले अहिले १८४ देशहरूलाई आपत परेको आरोप अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएका छन् । अनि अमेरिकाका अनेकौं सांसदहरूले निर्माण र खनिजहरूका लागि बेइजिङमाथिको निर्भरता घटाउनका लागि कदम चाल्नुपर्ने बताएका छन् ।
ट्रम्पले अदृश्य शत्रु विश्वव्यापी रूपमा फैलनका लागि चीन दोषी रहेको भनी सार्वजनिक रूपमै आरोप लगाउने गरेका छन् र यस विषयमा अनुसन्धान समेत थालेका छन् । चीनले अमेरिकालाई ठूलो रकम क्षतिपूर्ति तिर्नुपर्ने संकेत पनि उनले दिएका छन् ।
चीनले भाइरसको बारेमा सूचना पहिले नै दिएको भए ठूलो संख्याको मृत्यु र वैश्विक अर्थतन्त्रमा पुगेको क्षति रोक्न सकिन्थ्यो भनी अमेरिका, बेलायत र जर्मनीका नेताहरूले बताउँदै आएका छन् ।
‘त्यो १८४ देश पुगिसक्यो, म प्रायः भनिरहेको हुन्छु । यसमा विश्वास गर्न गाह्रो छ । यो सोच्न पनि नसकिने कुरा हो,’ ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई मंगलवार बताए । ‘यसलाई मूल थलोमै रोक्नुपर्थ्यो, त्यो भनेको चीन हो । तर रोकिएन । अब अहिले १८४ देशको स्थिति नारकीय बनेको छ,’ उनले भने ।
सन् २०१९ को नोभेम्बर महिनामा चीनको वुहान शहरमा पहिलोपटक देखिएको भाइरसले अहिलेसम्म संसारभरि दुई लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । सबभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ ।
अमेरिकामा भाइरसको संक्रमण व्यापक फैलिएपछि अमेरिकी सांसदहरूले बेइजिङमाथिको अमेरिकी निर्भरता घटाउन ट्रम्पलाई दबाब दिँदै आएका छन् । उनीहरूले चीनबाट क्षतिपूर्ति पनि खोजेका छन् ।