
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव नारायणप्रसाद बिडारीले मंगलवार बस्ने कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका तर्फबाट सरकारलाई मस्यौदा बुझाइने बताएका छन् ।
सोमवार बसेको समितिको २२ औं बैठकको निर्णय सुनाउँदै बिडारीले २५ गतेपछि लक-डाउन खोल्ने, नखोल्ने विषयमा वर्क आउट भइरहेको बताए ।
उनले १३ हजार ४ सय भन्दा बढी पीसीआर टेस्ट भएको र ५० हजारको हाराहारीमा आरडीटी टेस्ट भइसकेकाले परीक्षणको दायरा बढिरहेको बताए ।
‘अहिलेसम्म कोभिड १९ नियन्त्रणमा सरकारले चालेको कदम सही दिशातर्फ छ भन्ने हाम्रो निष्कर्ष छ,’ उनले भने, ‘उल्लेख्य संख्यामा परीक्षणहरू बढेको छ । पछिल्ला केही दिनमा संक्रमण पनि बढेको देखिएको छ । यस्तो अवस्थामा आर्थिक क्रियाकलापहरू सहज बनाउने र संक्रमणलाई अझ बढी काबूमा राखिने मोडालिटीका बारेमा हामी छलफल गर्दैछौं ।’
उनले थप २/३ दिन प्रदेश सरकार, स्थानीय सरकार र सुरक्षा निकायबाट तथ्यांकहरू लिएर विश्लेषण गरिने बताए ।
‘अबका थप २/३ दिनमा प्रदेश, स्थानीय निकाय तथा सुरक्षा निकायबाट थप तथ्यांकहरू लिएर विश्लेषण गर्नुपर्नेछ,’ उनले भने, ‘वर्क आउटको चरण भएकाले सबै कुरा टुंगिसकेको अवस्था छैन ।’
यसअघि २५ गतेसम्मका लागि घोषणा गरिएको लक-डाउन लम्ब्याउने विषयमा थप छलफल आवश्यक पर्ने उनले बताए । ‘२५ गतेपछिको अवस्थाका बारेमा आन्तरिक गृहकार्य र विश्लेषणको काम जारी छ । भोलि पनि उच्चस्तरीय समितिको बैठक छ,’ उनले भने ।
भोलिको बैठक एउटा निष्कर्षमा पुग्ने उनको दाबी छ । ‘नेपाल सरकारलाई उच्चस्तरीय समन्वय समितिको तर्फबाट मस्यौदाको रूपमा खाका प्रस्तुत गर्ने हाम्रो तयारी छ,’ उनले भने ।
पुरुषमा भन्दा महिलामा संक्रमणको दर न्यून
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार नेपालमा पुरुषमा भन्दा महिलामा संक्रमण अत्यन्त न्यून रहेको बताएको छ ।
नियमित प्रेस ब्रिफिङमा बोल्दै सोमवार मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमित पुरुषको संख्या ५८ र महिलाको संख्या १७ रहेको बताएका हुन् । यससँगै नेपालमा जम्मा संक्रमितको संख्या ७५ पुगेको छ ।
आइतवार साँझ नेपालगंजमा एकैपटक दुई दर्जन बढी संक्रमित फेला परेका थिए ।
हालसम्मको अद्यावधिक तथ्यांकअनुसार प्रदेश १ मा ३१ जना, प्रदेश २ मा १३ जना, वागमती प्रदेशमा ७ जना, गण्डकीमा २ जना, प्रदेश ५ मा १७ जना, कर्णालीमा शून्य र सुदूरपश्चिममा ५ जना संक्रमित रहेका छन् ।
संक्रमितमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने ५९ जना अझै पनि उपचारको क्रममा छन् ।
संक्रमितहरूलाई प्रादेशिक अस्पतालहरूमा राखेर उपचार गरिएको छ । जसमध्ये रुपन्देहीमा १ जना, नेपालगंजमा १६ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, बीरगंजमा ९ र विराटनगरमा ३१ जनाको उपचार भइरहेको छ ।
उपचारार्थ सबैको स्वास्थ्यस्थिति सामान्य रहेको डाक्टर देवकोटाले बताए ।
मानिसका किटनाशक औषधिको प्रयोग हानिकारक !
डाक्टर देवकोटाले मान्छेको शरीरमा किटनाशक औषधिहरू छर्केर कोरोना भाइरस नमर्ने बरू त्यसले थप श्वासप्रश्वास सम्बन्धी रोगहरू निम्त्याउने प्रष्ट पारेका छन् ।
‘विभिन्न सामाजिक सञ्जालमा समेत मान्छेहरूमाथि किटनाशक औषधि छर्किएको हामीले देखेका छौं,’ उनले भने, ‘सोडियम हाइड्रोक्लोराइड र क्लोरिनको झोलले मानिसको शरीरभित्र रहेको कोरोना भाइरस नियन्त्रणमा आउँदैन । बरू त्यसले आँखा, नाक र मुखमा हानी पुर्याउँछ ।’
तर ती किटनाशक औषधिहरूलाई सही रूपमा प्रयोग गर्ने हो भने सतहमा टाँसिएर रहेका विषाणु भने मार्न सकिने डाक्टर देवकोटाले बताए ।
‘यी विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको छ । ती औषधिहरूको सही ढंगले प्रयोग गर्न गराउन मन्त्रालय आग्रह गर्दछ,’ उनले भने ।