१० साउन २०८३, आइतबार

सिंहदरबारको अधिकार घरमा आएको अनुभूति गर्दै ज्येष्ठ नागरिक

बैशाख २८, २०७७
सिंहदरबारको अधिकार घरमा आएको अनुभूति गर्दै ज्येष्ठ नागरिक

पोखरा महानगरपालिका–२० भलामका ७० वर्षीय रेवतीविलास पौडेलले यतिखेर सिंहदरबारको अधिकार घरमै आएको अनुभूति गरेका छन् । मुटु र मिर्गाैला रोगको लामो समयदेखि औषधि सेवन गर्दै आउनुभएका ७० वर्षीय पौडेलले दुःख परेको बेला आवश्यक औषधि घरमै आएपछि अधिकार प्राप्त भएको अनुभूति गरेका हुन् ।

उच्च रक्तचाप र दमको रोगबाट पीडित पोखरा महानगरपालिकाको कर्णालीका रूपमा परिचित वडा नं २० कै मौजाकी ८१ वर्षीया दिलशोभा गुरुङले भने , 'औषधि सकिएर चिन्तामा परेको अवस्थामा हातमै औषधि पाएपछि बाँच्ने आशा पलायो ।' मधुमेह, उच्च रक्तचापलगायका विभिन्न छ थरिका औषधि दैनिक प्रयोग गर्दै आएका स्थानीय समाजसेवी ७० वर्षीय तेजबहाुर गुरुङ र मुटुरोगीसमेत रहनुभएकी मनकुमारी पौडेलले निःशुल्क औषधि पाएपछि खुशी व्यक्त गरे।

कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न सरकारले गरेको बन्दाबन्दीका कारण औषधि सकिएको बेलामा जनप्रतिनिधि घरघरै पुगेर हातहातमा औषधि बाँडेपछि उनीहरुमा खुशीयाली छाएको हो । बन्दाबन्दीको अवधि लम्ब्याउँदै गएपछि पोखरा महानगरपालिका–२० का जनप्रतिनिधिले वडाभित्रका उच्च रक्तचाप, मधुमेह, मुटुरोग, मानसिक समस्या, दम तथा थाइराइडलगायतका रोगको नियमित औषधि सेवन गर्ने ४४५ जनालाई निःशुल्क औषधि वितरण गरिएको वडाध्यक्ष सिमबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार वडास्तरबाट स्वास्थ्य क्षेत्रमा छुट्याएको रकममा केही थप गरी राहतस्वरुप पहिलो चरणमा रु दुई लाख ५० हजार बराबरको औषधि वितरण गरिएको हो । बन्दाबन्दीका कारण विकट ग्रामीण भेगमा बसोबास गर्ने बिरामी पोखरा बजारसम्म आउन समस्या झेल्नुपर्ने र बजार आए पनि औषधि नपाउने समस्या भएको देखिएकाले बुबाआमालाई घरघरमा पुगेर हातहातमा औषधि वितरण गरेको उहाँले राससलाई जानकारी दिए ।

वडा सदस्य भीमप्रसाद बाँस्तोलाका अनुसार आफूहरु वडावासीको दुःखसुखमा साथ दिनका लागि जनप्रतिनिधि भएको भन्दै वडाबाट प्रदान गरिने सेवासुविधा सबैलाई समानरूपमा प्रदान गर्न प्रतिबद्ध रहेको बताए। 

वडाभित्र दैनिक औषधि सेवन गर्ने सम्पूर्ण दीर्घरोगीको तथ्याङ्क तयार गरेर सोहीअनुसारका खरिद गरी औषधि प्रत्येक ज्येष्ठ नागरिकको घरमै पुगेर वितरण गरेको बताउँदे उहाँले भने , 'छुटपुट भएका १५ बिरामीको पनि लगत तयार गरिएको छ, निकट भविष्यमा औषधि वितरण गर्ने तयारी भइरहेको छ ।'

सरकारी सेवासुविधाको रकमबाट राहत वितरण

पोखरा–२० का वडाध्यक्ष गुरुङले आफूले पाएको सरकारी सेवासुविधाको रकमबाट दैनिक ज्यालादारी गर्ने एवं अतिविपन्न वर्गलाई राहत वितरण गरेका छन् ।

बन्दाबन्दीका कारण घरमै बस्न बाध्य भएपछि  खाद्यान्नको अभावमा चुलो बल्न धौधौ भएका वडाभित्रका १६२ घरपरिवारलाई रु दुई लाख बराबरको राहत वितरण गरिएको हो ।

उनले प्राप्त सेवासुविधाको रकम यसअघि पनि वडाका विभिन्न सङ्घसंस्था तथा सामाजिक उत्तरदायित्वको क्षेत्रमा खर्च गर्दै आएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्