
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेक हुँदै मानसरोवरसम्म सडक बनाएर उद्घाटन गर्ने भारतको प्रवृत्तिका विरुद्ध अन्तिम कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतवार बसेको बैठकमा बोल्दै प्रचण्डले लिपुलेक नेपालकै भूभाग रहेको भन्दै भारतसँग राजनीतिक र कूटनीतिक तहमा अन्तिम छलफल गर्नुपर्ने बताएका हुन् ।
‘एकपटक राजनीतिक र कूटनीतिक पहल गर्ने, त्यसबाट भएन भने के गर्ने भन्ने सोच्न आवश्यक हुँदै गएको छ,’ उनले भने ।
प्रचण्डले कालापानी लिपुलेकका सन्दर्भमा अहिलेसम्मका सरकारहरूले गरेको कमजोरीको समीक्षा हुनुपर्ने बताए । ‘कालापानीमा भारतीय सेना बस्न थालेको ६०/६५ वर्ष भइसक्यो, यो आजको कुरा होइन । अहिलेसम्मका सरकारले के गरे, त्यसको पनि हिसाबकिताब र समीक्षा हुनुपर्छ,’ प्रचण्डले भने ।
उनले थपे, ‘अहिले पनि अन्तर्राष्ट्रिय अदालत जाने बेला भएको छ कि छैन, अझै सोचौं । भारतले ८ वटा नक्सा छापिसकेको छ । हामीले त्यसको पनि हिसाब गर्नुपर्ने छ । कहाँदेखि नेपाल सरकार चुक्यो, त्यसको हिसाब गर्नुपर्ने छ ।’
उनले गतसालको नोभेम्बरमा भारतले नेपाली भूभाग समेटेर नक्सा जारी गरेपछि नेपाल सरकारले गम्भीर किसिमको प्रोटेस्ट नोट पठाएको बताए ।
‘सरकारले तयार पारेको प्रोटेस्ट लेटर आफैंले पनि हेरेको थिएँ,’ उनले भने, ‘डिप्लोमेटिक प्रोटेस्ट लेटरका रूपमा त्योजस्तो बलियो सायदै लेखिएको थियो होला । पछि विदेश सचिवस्तरको बैठक र छलफल गर्ने भनिएको हुँदा त्यसमा सूची नमिलेको भन्ने कुरा आयो । हिजो मात्र बाटो उद्घाटनको विषय आएपछि मैले प्रधानमन्त्रीसँग भेटेर यो विषयमा गम्भीर बन्नुपर्ने सुझाव दिएको छु ।’
उनले लेटरमात्र नभएर एक्सन ठीक हुनुपर्यो भन्ने अन्य सांसदहरूको भावना बिल्कुल सही रहेको टिप्पणी गरे ।
‘लेटरमात्र ठीक भएर भएन, एक्सन ठीक हुनुपर्यो भन्ने भावना बिल्कुल सही छ,’ प्रचण्डले भने ।
प्रचण्डले आफू प्रधानमन्त्रीका रूपमा बिमस्टेक सम्मेलनमा भारतको गोवा जाँदा भारतका समकक्षी नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति शी चिनफिङसँग ४० मिनेटजति संयुक्त छलफल गरेर यो विषयलाई स्पष्टसँग राखेकोसमेत स्मरण गरे ।
‘भारतसँग पनि र चीनसँग पनि यी विषयमा छलफल गरिएको छ । मैले उच्च नेतृत्वसँग पनि यो विषय उठाएको छु र त्रीपक्षीय समझदारी बनाउनुपर्ने आवश्यकता अझ टड्कारो भयो भनेर भनेको थिएँ । कालीनदीको पूर्व नेपाल र पश्चिम भारत हो भनेर पुष्टि भइसकेको छ,’ प्रचण्डले भने ।
भारतले नेपाली भूमि हुँदै चीनसम्म व्यापारिक प्रयोजनले बनाएको बाटोका बारेमा चीनसँग पनि कुरा हुनुपर्ने प्रचण्डले बताए ।