
अमेरिकाको सरकारले कोरोनाभाइरसको खोप बनाउनका लागि विश्व्यापी गठबन्धनको अंग नबन्ने निर्णय लिएको छ । खोपको खोज अमेरिका एक्लैले गर्ने बताएको छ ।
ट्रम्प प्रशासनको अमेरिका पहिलो नीतिका कारण खोप बनाउन विश्वव्यापी साझेदारीमा समस्या आएको छ ।
बेलायत, चीन, क्यानडा, टर्की, साउदी अरब, जापान सहित अनेकौं देशले अघिल्लो साता विश्व स्वास्थ्य संगठन, बिल यान्ड मेलिन्डा गेट्स फाउन्डेसन र युरोपेली आयोगसँग मिलेर खोपमा काम गर्न भर्चुअल ग्लोबल समिट आयोजना गरेका थिए । तर अमेरिकाले सम्मेलनमा भाग लिएन । त्यस सम्मेलनमा खोपको खोजीमा ८ अर्ब डलरको फन्ड जुटाइएको थियो ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना महाव्याधि खोपविना नै केही समयपछि अन्त्य हुने बयान दिएका छन् ।
ट्रम्पको बयानपछि अमेरिकी अधिकारीहरूले देशमा अत्याधुनिक प्रयोगशाला भए पनि अमेरिकीहरूका लागि खोप तयार पार्न ढिलाइ हुने बताएका छन् ।
खोप तयार पार्न अमेरिकी विज्ञहरूको सहयोग आवश्यक रहेको वैज्ञानिकहरूको कथन छ । तर अमेरिकाले विश्वव्यापी गठबन्धनमा भाग नलिँदा खोपको खोजमा ढिलाइ हुने सम्भावना छ । यसले अन्र्ताष्ट्रिय तनाव पनि हुने देखिन्छ ।
अमेरिकाका विभिन्न कम्पनीहरू खोप उत्पादनको तयारी गरिरहेका छन् । ट्रम्पले आफ्ना ज्वाईं ज्यारेड कुशनर र अन्य व्यक्तिहरूको नेतृत्वमा खोप तयार पार्ने कामको व्यवस्थापन गरिरहेका छन् । अमेरिकी सरकारले यसलाई अपरेसन वार्प स्पीड नाम दिएको छ ।