
नेपाल विद्युत् प्राधिकरणको आधिकारिक टे«ड यूनियनसहित क्रियाशील अन्य कर्मचारी सङ्गठनले प्रस्तावित विद्यत् ऐनका विभिन्न दफामा आआफ्ना सुझाव दिएका छन्। कर्मचारीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई एक ज्ञापनपत्र बुझाउँदै प्राधिकरणको थप उन्नयन तथा विकासका लागि सरकारसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताएका हुन्।
कर्मचारीको सुझाव ग्रहण गर्दै मन्त्री पुनले सरोकार भएका निकाय तथा व्यक्तिसँग छलफल गरी प्राप्त निष्कर्षका आधारमा प्रस्तावित ऐन अगाडि बढाउन आफू तयार रहेको बताए। प्रस्तावित विद्युत् ऐन मन्त्रिपरिषद्ले पारित गरिसकेको छ। प्रस्तावित ऐन, सङ्घीय संसद्मा प्रस्तुत हुने क्रममा छ। सो ऐनका केही दफामा प्राधिकरणका कर्मचारी तथा निजी क्षेत्रका उद्यमीले समसामयिक नभएको भन्दै गुनासो गर्दै आएका छन्।
कर्मचारीले प्रस्तावित ऐनले प्राधिकरणको संस्थागत उन्नति र कर्मचारीको भविश्यमा समेत गम्भीर सङ्कट आउने भन्दै मन्त्री पुनको ध्यानाकर्षण गराएका हुन् । प्राधिकरणका कार्यरत आधिकारिक टे«ड यूनियन नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियन, कर्मचारी सङ्घ र कर्मचारी कल्याण परिषद्ले संयुक्त रुपमा मन्त्रीको ध्यानाकर्षण गराएका हुन्।