
चीनको सरकारी टीभी चाइना सेन्ट्रल टेलिभिजनले कोरोनाभाइरस महाव्याधि चीनले नफैलाएको किनकि उसले अन्य देशमा निकै कम केस निर्यात गरेको बताएको छ ।
अधिकांश देशमा संक्रमण अर्कै ठाउँबाट आएको उसले आफ्ना दर्शकहरूलाई बतायो ।
क्यानडामा भएको संक्रमण अमेरिकाबाट सरेको अनि अमेरिकामा फैलिएको संक्रमण युरोपबाट आएको र फ्रान्सको संकटको स्रोत पत्ता नलागेको उसको भनाइ छ ।
अमेरिकी राजनीतिकर्मीहरूले विश्वास गर्न नसकिने झूटो बोलेको भन्दै उसले भर्त्सना गर्यो । केही राजनीतिकर्मीले विश्वभरि तीन लाखजनाको ज्यान लिने महाव्याधिका लागि चीनलाई जिम्मेवार ठहर्याउनुपर्ने भनेका थिए ।
कोरोनाभाइरसको उद्गमको विषय बेइजिङका लागि निकै संवेदनशील छ र चीन तथा अमेरिकाबीचको कूटनीतिक विवादको केन्द्रमा यही विषय छ ।
चीनले महाव्याधिको स्तर तथा भाइरसको उद्गमलाई ढाकछोप गरेको आरोप अमेरिकाले लगाइरहेको छ ।
चीनले चाहिँ आफ्नो बदनाम गर्नका लागि अमेरिकाले अभियान चलाएको र रोगको रोकथाममा जिम्मेवारी लिन चुकेको आरोप लगाएको छ ।
मंगलवार प्रसारित एक कार्यक्रममा सीसीटीभीले महाव्याधिको स्रोत चीन नभएको बतायो ।
बेइजिङले संक्रमणको शृंखलालाई प्रभावकारी रूपमा कटाएको र एकदमै कम केस मात्र बाहिर पठाएको दाबी उसले गर्यो ।
चीनले संक्रमण रोक्नका लागि व्यापक, कठोर र पूर्ण नियन्त्रण तथा रोकथाम उपाय अपनाएको टीभी स्टेसनको दाबी छ ।
कार्यक्रममा न्युयोर्कका गभर्नर एन्ड्रु कुओमोलाई उद्धृत गरिएको छ । सोमवार कुओमोले न्युयोर्कमा फैलिएको कोरोनाभाइरस चीनबाट नभई युरोपबाट आएको बताएका थिए ।
प्रेस ब्रीफिङमा कुओमोले युरोपबाट भाइरसले आक्रमण गरेको उल्लेख गरेका थिए । तर त्यो भाइरस चीनबाट युरोप आएको पनि उनले भनेका थिए र सीसीटीभीको रिपोर्टमा त्यो कुरा उल्लेख गरिएन ।
कार्यक्रममा क्यानडा, फ्रान्स, रुस र अस्ट्रेलिया लगायतका मुलुकमा चीनबाट भाइरस नफैलिएको बताइएको छ ।