२१ असार २०८३, आइतबार

नगरवासीलाई राहत : नगरपालिकाले तिर्‍यो २ महिनाको विद्युत् महसुल

जेठ ७, २०७७
नगरवासीलाई राहत : नगरपालिकाले तिर्‍यो २ महिनाको विद्युत् महसुल

सिरहाको कर्जन्हा नगरपालिकाले राहतमा जनताको २ महिनाको विद्युत् महसुल भुक्तानी गरिदिएको छ ।

चैत्र र वैशाख २ महिनाको महसुल भुक्तानी गरिएको नगरपालिका प्रमुख गंगा पासवानले बताए ।

नगरपालिकाको ११ वडाका ६ हजार ६६४ घरधनीको १४ लाख ३० हजार ५६४ रुपैयाँ तिरिदिएको उनले बताए । जेठ ४ गते नेपाल विद्युत् प्राधिकरणलाई चेकमार्फत रकम भुक्तानी गरिएको हो ।

‘देश लकडाउन भएको अवस्थामा आममानिस बेरोजगार भई घरमै बसेकाले बिजुली बिल भुक्तानी गरेर थोरै भएपनि सबै परिवारले राहत पाएका छन्,’ नगर प्रमुख पासवानले लोकान्तरसँग भने, ‘नगरका जनताको घरको बिजुली बिल तिर्न पाउँदा खुशी लागेको छ ।’ कार्यपालिकाले निर्णय गरेर विपद् व्यवस्थापन कोषबाट रकम भुक्तानी गरिएको उनले बताए ।

महसुल भुक्तानी गर्नुअघि नगरपालिकाले २ चरणमा विपद् कोषबाट जनतालाई राहत स्वरुप खाद्य सामग्री समेत वितरण गरिएको थियो । प्रत्येक वडाका १५० जना विपन्न नागरिकलाई ४ जनाभन्दा बढी तथा कम परिवारका सदस्य गरेर २ श्रेणी छुट्याएर राहत वितरण गरिएको उनी बताउँछन् ।

परिवारमा ४ जनाभन्दा बढी सदस्य भएमा २५ किलोग्राम चामल, ५ किलो आलु, ३ किलो दाल, २ किलो नून, २ किलो तेल, आधा किलो सोयाबिन वितरण गरिएको थियो । ४ जनाभन्दा कम सदस्य भएको परिवारलाई २० किलो चामल, ३ किलो आलु, २ किलो दाल, २ किलो नून, २ किलो तेल, आधा किलो सोयाबिन वितरण गरिएको नगर प्रमुख पासवानले बताए ।

राहत सामग्री किन्नमा ३१ लाख ४ हजार ६०० रुपैयाँ खर्च भएको उनले बताए । प्रदेश सरकारले राहत वितरण गर्न १५ लाख रुपैयाँ पठाएको भएपनि खर्च गर्न नसकिएको उनी बताउँछन् । ‘प्रदेश सरकारले दिएको रकमबाट राहत वितरण गर्न सर्वदलीय समिति बनाएका थियौं,’ पासवानले भने, ‘तर समितिमा लक्षित वर्ग छनोट गर्न समस्या भएपछि प्रदेश सरकारको रकम फिर्ता पठाएका थियौं ।’

नगरपालिकाको विपद व्यवस्थापन कोषमा पहिलेदेखि नै ३५ लाख रुपैयाँ थियो । त्यसपछि प्रत्येक वडाबाट १०/१० लाख रुपैयाँ लिएर १ करोड १० लाख रुपैयाँ जम्मा गरेर राहत वितरण गरिएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्