
काठमाडौं, १३ वैशाख – सावित्री पोखरेल अनाथ बालबालिकाको सेवामा लाग्दा घरपरिवारले मन पराएनन् । छोरा छोरी साह्रै किचकिच गर्न थाले । ‘मम्मी हामीलाई छोड्ने कि समाजसेवा छोड्ने,’ १४ वर्षअघि आफ्नै लालाबालाले यसो भन्दा सावित्रीको मन कुँडियो ।
मन त कुँडियो तर अनाथको सेवामा लाग्ने अठोट भने भाँडिएन । ‘तिमीहरूलाई छोडे पाँचजना मात्रै छोड्छु, अनाथको सेवा गरें भने मेरा छोराछोरी धेरै बन्छन् ।’
४ बर्षीय आस्थाका साथमा सावित्रीशायद आमाको यस्तो अठोट छोराछोरीले मन पराए, उनीहरूले चुपचाप सहयोग गर्न थाले । कान्छी छोरी रमिला दुई वर्षकी नहुँदै श्रीमान् गुमाएकी सावित्रीले अन्तमा परिवार छोडेरै अनाथ बालबच्चाको सेवामा आफूलाई समर्पित गरिन् । ‘पहिला त उनीहरू रिसाउँथे र नरमाइलो मान्थे पनि,’ पोखरेलले भनिन्, ‘अहिले त बुझिसके, आमालाई भेट्न मन लाग्यो भने यही आश्रममा आउँछन्, भेट्छन् ।’
साईबाबाकी भक्त
साईबाबाकी भक्त हुन् ६४ वर्षीया सावित्री पोखरेल । साईबाबाकै दर्शनपछि जीवनमा चमत्कार आएको ठान्छिन् उनी । साईबाबाकै प्रेरणाले आफू अनाथ बच्चाहरूको सेवामा जुटेको उनी बताउँछिन् । हरेक दिन साइबाबाकै ध्यान पनि गर्छिन् । यही आस्थालाई टेकेर ३५ अनाथ बालबालिकालाई पाल्ने, पढाउने काम गर्छिन् पोखरेल ।
कोही आमाबाबु नै नभएका, कोही बाबु मरेपछि आमा अन्तै गएका, कोही आमा मरेपछि बाबुले अर्को बिहे गर्दा टुहुरा बनेका बालबालिकालाई ल्याएर सावित्रीले स्याहार गरेकी छन् ।
चौध वर्षदेखि सेवामा
विगत चौध वर्षदेखि उनी यसरी नै बच्चाहरूको सेवामा छिन् । शुरुमा काभ्रेको पनौतीबाट एकदमै बेवारिसे अवस्थामा भेटेकी दुई बच्चालाई घरमा ल्याएर पाल्न शुरु गरेकी थिइन् उनले ।त्यो बेला बच्चाहरू करीब दुई-तीन वर्षका मात्र थिए । रातभरि नसुतेर उनी बच्चाको स्याहारमा लाग्थिन् । हरेक पन्ध्र मिनेटमा दूध बनाएर खुवाउँदै बालबच्चा हुर्काएको अनुभव छ उनीसँग ।
आश्रममा बसिरहेका बालबालिकाहरुउनीहरूले खान नपाएको र दुःख पाएको अवस्था देखेर आफैंसँग राखेर स्याहार गर्न थालेकी हुन् उनले । पछि पाँचखालबाट टुहुरा बच्चा ल्याएर पाल्दा गाल खेप्नुपरेको नमीठो अनुभव समेत उनीसँग छ ।
पहिला त बच्चाहरू पालेको देखेर धेरैले स्याबासी दिन्छन् । अहिले धेरैले बच्चाका बारेमा सबै कुरा जान्न खोज्छन् । ‘त्यसैले यहाँ ल्याउने बालबालिकाको वडा कार्यालयको सिफारिस, जिल्लाको सिफारिस लिएर मात्र पाल्ने गरेको छु,’ उनले सुनाइन् । बच्चाहरूलाई हुर्काएर सक्षम बनाएपछि परिवारको जिम्मा लगाउने उनको भनाइ छ ।
संस्था दर्ता गरेर सेवा
बच्चाहरू बढ्दै गएपछि २०५७ सालमा नवकिरण अनाथ असहाय बालउत्थान समाज काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर उनले बालबालिकाको सेवा गरेकी छन् ।
‘काठमाडौंको वनस्थलीमा जस्ताको टहरा बनाएर काम शुरु गरें,’ उनले भनिन्, ‘यस काममा साथ दिन माइली छोरी र अम्बिका सिटौलाजी आउनुभयो । अनि सँगसँगै बच्चा स्याहार्ने काममा लाग्यौं ।’
बच्चाहरू बढ्दै गएपछि खानपिनको समस्या बढ्दै गयो । बच्चाहरूको दैनिक खानपिनको जोहो गर्न शारदा र अम्बिका मिलेर काठमाडौं र ललितपुरका घरघर माग्न हिँड्ने गर्थे । उनीहरूको ध्येय थियो दिनभर मागेर प्राप्त भएको चामल, खाद्यान्नले बच्चाहरूको पेट भर्ने ।
परिवारबाट टाढिने अवस्था
यसरी घरघर माग्न जाँदा उनीहरूले धेरै दुःख र अपमान सहनुप-यो । अपशब्द बोले पनि दुख मानेनन्, मागेरै बच्चाहरू पाल्ने थाले । यसका लागि सावित्रीले परिवार र आफन्तसँग नाता तोडेकी थिइन् ।
सावित्री पोखरेल‘परिवारको छेउमै पर्दिनँ, त्यसपछि त उनीहरूले यसरी मागेर हिँडेको देख्दा नि देख्दैन, केही भन्नै सक्दैनन्,’ पोखरेलले भनिन् ।
उनी आफन्तसँग त मतलबै राख्दिनन् । आफन्तको ख्यालै नगरी उनी सडकमै बसेर काम गरिरहन्छिन् । ‘म, अम्बिका मिस र मेरी माइली छोरी सँगसँगै काठमाडौं र ललितपुरका घरघर माग्न हिँड्थ्यौं, कसैले कुकुर फुकाएर लखेट्थे, कसैले बहुलाही आईमाई आई भनेर समेत गाली गर्थे,’ उनले पुराना दिन सम्झिइन् ।
मागेरै बच्चा पालिन्
माग्दा केही पाएपछि चिनेको पसलबाट उधारो सामान लिएर समेत बच्चाको पेट भरेको अनुभव छ उनीसँग । ‘घरघरमा मागेर कति दिन बच्चालाई पाल्न सक्छौ पनि भन्थे,’ उनले भनिन्, ‘म नेपाल आमाकी छोरी हुँ, नेपाल आमासँग एक एक मुठी मागेर भएपनि बच्चा पाल्छु भन्थें ।’ उनी यसरी अथक लागिरहिन्, अघि बढिरहिन् ।
आफ्ना अनाथ बच्चाहरुका साथमा सावित्रीयसरी उनले कहिले काठमाडौंको त कहिले ललितपुरको घरघर मागेरै करिब दुई वर्ष बिताएकी थिइन् । उनको यो काम थाहा पाएर कुपण्डोलमा बस्ने विष्ट थरीका एक व्यक्तिले आफ्नो घरमा आश्रम चलाउन सुझाए । उनलाई त्यो ठूलो राहत भयो ।
त्यसपछि उनी काठमाडौंको वनस्थलीस्थित जस्ताको टहराबाट ललितपुरको एक कोठामा अनाथ बच्चाहरू सहित बसाइँ सरिन् । पछि उनको यो काम देखेर रामशरण दाहालले धापाखेल–१ मा रहेको आफ्नो जग्गा आश्रमका लागि दान दिएका थिए । अहिले सावित्रीले धापाखेलमा बनेको अनाथ आश्रममा ३५ जना बालबालिकालाई पालेर बसिरहेकी छिन् । उनको संरक्षणमा अहिले नर्सरी पढ्नेदेखि स्नातक पढ्नेसम्मका बच्चाहरू रहेका छन् । जन्मेको सत्र दिनदेखि तीन महिनासम्मका बच्चाहरूलाई उनले हुर्काएकी पनि हुन् ।
उनले हुर्काएका बच्चा आ-आफ्नो काम गर्दै
यही आश्रमबाट हुर्केका चालीस जना बच्चाहरू अहिले समाजमा आ-आफ्नो काम गर्दै आएका छन् । यहीँबाट हुर्केका संगीता र रोशनीको बिहे भएर आफ्नो जीवन चलाई बसेको उनले सुनाइन् ।
दशैं तिहार लगायतका चाडबाडमा भेट्न आउँछन् उनका पुराना बच्चाबच्चीहरू । कोही खाडी मुलुकमै पनि मेहनत गर्दै छन् ।
आश्रममा अनाथ बच्चाहरुका साथमा सावित्रीउनको काम देखेर धेरैले चामल, खाद्यान्न सहयोग गरेर जान्छन् र यसैको भरमा उनले आश्रम चलाइरहेकी छिन् । बुढ्यौली लागेकी उनलाई दमरोगले च्यापेको छ । तैपनि आफूलाई बिरामी ठान्दिनन् उनी ।
अस्पतालमा जन्मेको एकदिन पछि आमा गुमाएका बच्चालाई आफ्नो आश्रममा ल्याएर पनि पालेकी थिइन् उनले । उनले स्थानीय सरकारी विद्यालयमा बालबालिकालाई पढाइरहेकी छन् ।
अहिले पनि चार वर्षीय बालिका आस्था पोखरेलसँगै सुत्छिन् । सावित्रीले आश्रममा आस्थालाई दुई महिनादेखि पालेकी हुन् । आस्था आश्रमकै सबैभन्दा कान्छी बच्चा हुन् । आस्था राति निदाउने बेला आमा सावित्रीलाई खोज्छिन् र सँगै निदाउँछिन् ।