चीनकी एक प्रमुख भाइरोलोजिस्टले कोरोनाभाइरस फुच्चे भएको र समस्याको आरम्भ मात्र भएको अनि यसभन्दा खतरनाक भाइरसहरू पनि रहेको बताएकी छन् ।
वुहान इन्स्टिच्युट अफ भाइरोेलोजीकी उपनिर्देशक शी झेंगलीले चीनको सरकारी टेलिभिजनसँग कुरा गर्दै नयाँ भाइरसहरूका विषयमा चेतावनी दिएकी हुन् ।
शीले चमेराहरूमा कोरोनाभाइरसका विषयमा अनुसन्धान गरिसकेकी छन् । उनलाई ब्याट वुमन भनी चिनिने गर्छ ।
भाइरसका विषयमा गरिने अनुसन्धानमा सरकार र वैज्ञानिकहरू पारदर्शी हुनुपर्ने उनले बताइन् ।
सीजीटीएनसँग कुरा गर्दै शीले भनिन्, ‘मानिसहरूलाई सरुवा रोगबाट बचाउने हो भने जीवहरूमा भएको अज्ञात भाइरसका विषयमा शुरूदेखि नै जानकारी जुटाउनुपर्ने र चेतावनी दिनुपर्ने हुन्छ ।’
अज्ञात भाइरसहरूको अध्ययन नगरेमा अर्को संक्रामक रोग फैलिन सक्ने शीको भनाइ छ ।