काठमाडौं, १३ बैशाख–व्यवस्थापिका–संसद्को अवरोध हटेको छ । अवरोध हटेसँगै बुधबार अबेरसम्म संसद बैठक बस्यो ।

दिउँसो ३ः०० बजे बस्ने गरी स्थगित भएको यो बैठक लामो छलफल पछि ११ जिल्लामा स्थानीय तह थप्न सम्बन्धित जिल्लामा पठाएको प्रस्तावलाई सरकारले फिर्ता लिएपछि फेरि बसेको हो ।
सरकारले तराई मधेसका ११ जिल्लामा स्थानीय तहको संख्या बढाउने गरी परिपत्र गरेपछि प्रमुख विपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध पारेको थियो ।
यसैबीच व्यवस्थापिका–संसद् बैठकले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
संसद्को आज तेस्रोपटक बसेको बैठकमा संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुँदा सभामुख ओनसरी घर्तीले बहुमतले स्वीकृत भएको घोषणा गरेकी थिईन ।
यसअघि संसद् बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय शङ्कर नायकले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रस्तावउपर छलफलका क्रममा यसअघि गणपूरक सङ्ख्या नपुगेपछि बैठक आधा घन्टाका लागि स्थगित भएको थियो । संसद्को अर्काे बैठक यही वैशाख १७ गते बिहान ११ बजे बस्नेछ ।