कोरोनाभाइरसका कारण विश्वभरि लगभग चार लाख मानिसको मृत्यु भएको छ र ६७ लाख मानिस संक्रमित छन् ।
कोभिड–१९ महाव्याधिविरुद्धको लडाइँमा विज्ञानले बिस्तारै भए पनि सफलता पाउँदै गएको देखिन्छ ।
ताजा अनुसन्धानले गठियावात रोगमा दिइने औषधि एक्टर्मा कोरोना रोगीहरूको ज्यान बचाउन सफल रहेको देखाएको छ ।
त्यससँगै प्लाज्मा थेरापी पनि रोगीहरूलाई छिटो निको बनाउने प्रविधि बनिरहेको छ ।
औषधिविज्ञानसम्बन्धी चर्चित साइट मेडआरएक्सआईभी डट् ओआरजीमा प्रकाशित अनुसन्धानमा एक्टर्मा औषधिले कोरोना रोगीहरूको मृत्युदर आधा पारेको उल्लेख छ । गठियावात रोगमा दिइने औषधि टोसिलीजुमाबलाई एक्टर्मा र रोएक्टर्मा नामबाट बेच्ने गरिएको छ । अनुसन्धाताहरू अब एक्टर्मालाई रेमडेसिभिरसँग मिसाएर रोगीलाई दिने विषयमा विचार गरिरहेका छन् ।
यस औषधिले कोरोना रोगीहरूको इम्युन सिस्टमलाई सक्रिय बनाएको पाइयो । अनुसन्धानमा औषधिको सुपरिणाम पाइयो ।
कोरोनाभाइरसको कुनै निश्चित औषधि, खोप र उपचार विकसित भइसकेको छैन । त्यसैले गर्दा वैज्ञानिकहरू अहिले उपलब्ध औषधिहरूको मिश्रणलाई नै कोरोना रोगीमाथि परीक्षण गरिरहेका छन् ।
अनि ताजा अनुसन्धानले प्लाज्मा थेरापी पनि कोरोनाभाइरसविरुद्धको लडाइँमा प्रभावकारी रहेको पत्ता लगाएको छ । यसबाट सामान्य कोरोना रोगीहरू पाँच दिन छिटो निको भइरहेका छन् । तर गम्भीर रोगीहरूको ज्यान बचाउन चाहिँ प्लाज्मा थेरापी विफल छ । अंगले काम गर्न छोडेको र भेन्टिलेटरको आवश्यकता भएको रोगीलाई गम्भीर मान्ने गरिएको छ ।