२० असार २०८३, शनिबार

अर्ना : न फस्टायो, न मोटायो

अर्ना : न फस्टायो, न मोटायो

कोशी टप्पु वन्यजन्तु आरक्षबाट यहाँ ल्याइएका अर्ना न फस्टाउन सकेका छन् न त मोटाउन नै । चितवन राष्ट्रिय निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर बनाएर अर्ना राखिएका छन् ।

विसं २०७३ मा आरक्षबाट १२ वटा र जावलाखेल चिडियाखानाबाट तीन वटा अर्ना ल्याइएका थिए । त्यतिबेला तीन भाले र १२ पोथी ल्याइएका हुन् । त्यही वर्ष आएको बाढी अर्ना राखिएको क्षेत्रमा पसेपछि केहीलाई बगाएको थियो भने बचेका अर्ना बिरामी परेका थिए । त्यसै वर्ष १५ मध्ये छ वटा मरेका थिए ।

चिडियाखानाका सबै र कोशी टप्पुबाट ल्याइएका तीन वटा मरेका थिए । चार वटा बच्चा थपिएर हाल सो क्षेत्रमा १३ वटा अर्ना रहेका छन् । तीमध्ये सात वटा माउ पोथी र दुई वटा भाले माउ रहेका छन् । पछि जन्मिएका बच्चामध्ये तीन वटा भाले र एउटा पोथी छ ।

चार वर्ष बितिसक्दा सातवटा पोथीबाट चार वटा बच्चामात्र जन्मिएका छन् । तत्कालीन समयमा पाँच भालेसहित २५ अर्ना ल्याउने भनिएको भए पनि ल्याउन सकिएको छैन । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार कोशीका जस्ता मोटा हुन नसके पनि स्वस्थ रहेका छन् ।

खुल्ला नछाडिएकाले पनि मोटा हुन नसकेको हुनसक्ने उनको भनाइ छ । भर्खरका उमेरका भएको र वातावरण फरक पर्नु अर्को कारण हुनसक्ने श्रेष्ठ बताउँछन् । नियमित दाना दिइएको, औषधोपचार भइरहेको भन्दै उहाँले राखिएको क्षेत्रफल बढेपछि केही फरक आउन सक्ने बताए। उनले ती अर्ना कोशी टप्पुका जस्ता नभएर घरमा पालेका भैँसीजस्ता देखिएको जानकारी दिए। अहिले पनि केही अर्ना ब्याउने भएकाले विस्तारै सङ्ख्या बढ्दै जाने उनको भनाइ छ ।
  
निकुञ्जको पूर्वी क्षेत्र हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत गोपाल घिमिरेले खुला ठाउँमा बथानमा कुद्ने, चर्ने र कोशी नदीमा खेल्ने अर्ना यहाँ खुल्ला खोरमा रहेकै कारण त्यहाँको जस्तो मोटा हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, 'तर पनि त्यस्तो दुब्ला छैनन् ।' बसिरहेको ठाउँ फरक हुँदा पनि मोटाउन नसकेको उनको भनाइ छ । ती अर्नामा बाढीका कारण रोग देखिएपछि बचाउनै कठिन भएको थियो । थप अर्ना ल्याउन भने नसकिएको उहाँको भनाइ छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार हाल भइरहेको खोरलाई करिब १५ हेक्टर थप गरी पानी र घाँसको प्रबन्ध गर्न लागिएको छ । यसअघि अर्ना राख्नका लागि ३० हेक्टरमा तारबार गरी व्यवस्थापन गरिएको छ । घोल थुनेर पानी ल्याउने तयारी गरिएको छ । यी जनावरलाई पानीमा खेल्नुपर्ने भएकाले थोरै पानीले नपुग्ने भन्दै उहाँले पानी र घाँसको प्रशस्त व्यवस्था गर्ने तयारीमा आफूहरु लागेको बताउनुभयो । खुला परिवेशमा खेलेको, खाएकोजस्तो थुनेको ठाउँमा सम्भव नहुने उनको भनाइ छ ।

कम्तीमा ५० वटा बनाएर बथानमा छोड्न सकेमा बच्न सक्ने उनले बताए। कोशी टप्पुमा बाघ नभएको तर यहाँ बाघ भएकाले बच्नका लागि राम्रो बथान जरुरी रहेको रुपाखेती बताउँछन्। अहिले भएको ठाउँ उपयुक्त भए पनि सर्वयुक्त नभएको भन्दै राम्रो बनाउन आफूहरु लागि परेको बताए ।  नारायण अधिकारी,रासस

salt training

कमेन्ट गर्नुहोस्