
अमेरिकासँग शीतयुद्धको स्थिति बनेपछि चीनले युरोपसँगको व्यापार बढाउन खोजिरहेको छ ।
त्यसैक्रममा चीनको आन्हुई प्रान्तको राजधानी हेफेईबाट शनिवार छुटेको पहिलो मालवाहक ट्रेन ८२ वटा कन्टेनर लिएर नेदरल्यान्ड्सको टिलबर्ग पुग्दैछ । यो मार्ग चीनको महत्त्वाकांक्षी पेटी सडक परियोजनामा पर्छ ।
यी दुई शहरबीचको नयाँ कार्गो सेवाको शुभारम्भ भएपछि १५ दिनमा ट्रेन गन्तव्यमा पुग्ने सिन्ह्वा समाचार संस्थाले खबर दिएको छ ।
चीनबाट युरोप पुग्ने मालवाहक ट्रेन सेवामा २० वटा रूट छन् र तिनले हेफेईलाई आठवटा देशसँग जोड्नेछन् । यस वर्ष मात्रै हेफेईबाट चीन–युरोपका १९४ वटा मालवाहक ट्रेन हिँडेका छन् ।
सन् २०११ मा शुरू गरिएको चीन–युरोप रेल यातायात सेवा पेटी सडक पहलको महत्त्वपूर्ण अंग मानिन्छ । यो पहल चीन र परियोजनामा जोडिएका देशबीचको व्यापार वृद्धिका लागि शुरू गरिएको हो । चीनका राष्ट्रपति सी चिनफिङले
यो महत्त्वाकांक्षी खर्बौं डलरको पहलको घोषणा सन् २०१३ मा गरेका थिए । यसमा नेपाल लगायत १४० देश जोडिइसकेका छन् ।