
गण्डकी प्रदेश सभाको साेमबारको बैठकले गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक पारित गरेको छ।
बैठकमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले विधायन समितिको प्रतिवेदन सहित विधेयक पारित गरियोस् भन्दै गरेको प्रस्ताव सभाले सर्वसम्मत पारित गरेको हो।
यसअघि विधेयक माथि सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले आजको युग विज्ञान प्रविधिको युग भएको बताउँदै यसको अभावमा समृद्धि र विकासका लक्ष्य हासिल गर्न नसकिने बताएऽ विज्ञान तथा प्रविधि विना समृद्धि असम्भव भएको बताउँदै प्रदेश सरकारले आफ्नो प्रथम पञ्चवर्षीय योजनामा यसलाई प्राथमिकता दिएको उनले उल्लेख गरे।
प्रदेशमा विज्ञान प्रविधिको आविष्कारका लागि विधेयक महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै मन्त्री लम्सालले यसका माध्यमबाट समुन्नत प्रदेश निर्माणसँगै रोजगार अभिवृद्धि लगायतमा महत्वपूर्ण उपलब्धि हासिल हुने धारणा राखे।
बैठकमा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मी र अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले समितिका वार्षिक प्रतिवेदन सभा समक्ष प्रस्तुत गरेका थिए। अर्को बैठक असार १ गते दिउँसो ४।०० बजे बस्नेछ ।