०९ असार २०८३, मंगलबार

चालू आवभन्दा दश अर्ब कम बजेट ल्याउँदै प्रदेश २ सरकार

जेठ ३१, २०७७
चालू आवभन्दा दश अर्ब कम बजेट ल्याउँदै प्रदेश २ सरकार
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत ।

प्रदेश २ सरकारले चालू आर्थिक वर्षभन्दा झण्डै १० अर्ब कम बजेट ल्याउने तयारी गरेको छ। प्रदेश  सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि करिब २९ अर्बको बजेट ल्याउने भएको छ। 

गत आर्थिक वर्ष २०७६/०७७ मा सरकारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो। जसमा चालूतर्फ रु १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पूँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार छुट्याइएको थियो।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठले असार १ गते आगामी आर्थिक वर्षका लागि आउने बजेटमा स्वास्थ्य, शिक्षा, रोजगारी र कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको र बजेट तर्जुमा गर्ने काम अन्तिम चरणमा रहेको जानकारी दिए। 

सङ्घीय सरकारकोतर्फबाट समानीकरणतर्फ सात अर्ब दुई करोड, सशर्ततर्फ पाँच अर्ब ९४ करोड ३१ लाख, विशेष अनुदान  ४१ करोड ५० लाख गरी १३ अर्ब ४० करोड ५९ लाख अनुदान प्राप्त हुने बताइएको छ। सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै यसका लागि कूल बजेटको १० प्रतिशत रकम विनियोजन गर्न लागिएको सचिव श्रेष्ठले जानकारी दिए।

    

उनले घरजग्गा रजिष्ट्रेसन, सवारी साधन कर, मनोरञ्जन कर लगायतबाट चालू आर्थिक वर्षको अहिलेसम्म ११ अर्ब असुल भइसकेको बताए। चालू आर्थिक वर्षको पूँजीगत बजेटमा अहिलेसम्म करिब पाँचदेखि सात प्रतिशत बजेट मात्र खर्च भएको छ भने अब आएर केही विकास निर्माणका काम शुरु भएकाले पूँजीगततर्फ १५ देखि अधिकतम २० प्रतिशतसम्म बजेट खर्च हुने अनुमान गरिएको छ। 

नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले सङ्घीय सरकारले पौने चार अर्ब अनुदान कम गरिदिएको र प्रदेश सरकारको आम्दानीको स्रोतसमेत कम भएकाले स्थानीय स्रोत पनि  दुई अर्बसम्म कटौती हुने भएकाले अधिकतम ३२ अर्बसम्मको मात्र बजेट घोषणा हुने सम्भावना रहेको बताए।

salt training

कमेन्ट गर्नुहोस्