कोरोनाभाइरसको खोप बनाइरहेको चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले पहिलो र दोस्रो चरणको क्लिनिकल ट्रायलको आरम्भिक परिणाम सकारात्मक आएको जानकारी दिएको छ ।
वुहान इन्स्टिच्युट र पेकिङ इन्स्स्टिच्युटले फरक फरक खोप उत्पादनका लागि काम अघि बढाइरहेका छन् ।
बेइजिङमा रहेको सिनोभ्याकले क्लिनिकल परीक्षणको सकारात्मक परिणामको घोषणा गर्दै यसले रोगप्रतिरोध क्षमता बढाउन सक्ने जनाएको छ । यो खोपको परीक्षणका लागि १८ देखि ५९ वर्षका ७४३ जना स्वस्थ स्वयंसेवकहरूले नाम लेखाएका थिए ।
बयानमा उल्लेख भएअनुसार, १४३ जना पहिलो चरणमा अनि ६०० जना दोस्रो चरणमा संलग्न थिए । परीक्षणमा संलग्न मानिसहरूलाई दुईवटा इन्जेक्सन दिइएको थियो र १४ दिनसम्म त्यसको कुनै नकारात्मक परिणाम देखिएन ।
कम्पनीले दुई चरणको क्लिनिकल अध्ययन रिपोर्ट र तेस्रो चरणको अध्ययनको प्रोटोकल चीनको राष्ट्रिय चिकित्सा उत्पादन प्रतिष्ठानलाई सुम्पने जनाएको छ ।
सिनोभ्याकका अध्यक्ष वेइदोङ यिनले दुई चरणको अध्ययनमा कोरोनाभ्याक सुरक्षित रहेको र यसले रोगप्रतिरोधक क्षमता बढाउने देखिएको बताए । कोभिड–१९ विरुद्धको लडाइँमा यो महत्त्वपूर्ण उपलब्धि भएको उनको कथन छ ।