०२ असार २०८३, मंगलबार

एनपीआई नारायणी सामुदायिक अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ

असार २, २०७७
एनपीआई नारायणी सामुदायिक अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ

एनपीआई नारायणी सामुदायिक अस्पतालका सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर नतिजा नेगेटिभ आएको छ ।

गत साता त्यहाँ कार्यरत एक चिकित्सक र एक बिरामीको नतिजा पोजेटिभ आएको थियो ।

अस्पतालका कार्यकारी अध्यक्ष डा. भक्तमान श्रेष्ठका अनुसार सङ्क्रमण देखिएको भनिएका चिकित्सकको पुनः परीक्षण गर्दा आज नतिजा नेगेटिभ आएको हो ।

उनीसँगै अस्पतालका १६ चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको नतिजा पनि नेगेटिभ आएको छ ।

यसअघि सोही अस्पतालका ५५ जनाको नतिजा नेगेटिभ आएको थियो ।

श्रेष्ठले यस अवधिमा करीब एक सयजना चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र त्यहाँ उपचाररत बिरामीको परिक्षणमा नतिजा नेगेटिभ आएको जानकारी दिए ।

पोजेटिभ देखिएका बिरामीको भरतपुर अस्पताल लगेपछि उपचारको क्रममा मृत्यु भएको थियो ।

ती बिरामी राखिएको सघन उपचार कक्षमा काम गर्ने चिकित्सकको सम्पर्कमा आएका र ती बिरामीको सम्पर्कमा रहेका आफन्तको पिसिआर परीक्षण नेगेटिभ आएको हो ।

अस्पतालका बिरामी र चिकित्सकको नतिजा पोजेटिभ आएपछि सेवा ठप्प भएको अस्पताल आइतबारबाट सञ्चालनमा आएको छ ।

सङ्क्रमण देखिएका क्षेत्रमा पूर्ण रुपमा निर्मलिकरण गरेर सुरक्षित गरिएको छ । आजबाट सघन उपचार कक्ष पनि सञ्चालनमा आउने उनले जानकारी दिए ।

चिकित्सक र बिरामीलाई सङ्क्रमण देखिएपछि अस्पतालले उनीहरूसँग सम्पर्कमा आएका सबै चिकित्सकसहितका कर्मचारीलाई होटलको क्वारेन्टिनमा राखेको थियो ।

सङ्क्रमण देखिएका चिकित्सकलाई अस्पतालकै क्वारेन्टिनमा राखिएको थियो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार नारायणी सामुदायिक अस्पतालका चिकित्सक र बिरामीको सम्पर्कमा रहेका सबैको नतिजा नेगेटिभ आएको बताए ।

अस्पतालका सञ्चालक विष्णु कुँवरले सबैको नतिजा नेगेटिभ आएसँगै आजबाट बिरामी र चिकित्सकले ढुक्कसँग काम गर्ने वातावरण बनेको बताए ।

यस सङ्कटको घडीमा कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गर्न यस अस्पताल सधैँ तयार रहेको भन्दै उनले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसार उपचार भइरहेको बताए ।

क्यान्सरसहितको उपचार हुने यस अस्पतालले गतवर्ष एक लाख १३ हजार बिरामीको उपचार गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्