०३ असार २०८३, बुधबार

३० हजार कोरोना संक्रमितका लागि सरकारले गर्‍यो स्वास्थ्य सामग्रीको जोहो

असार ५, २०७७
३० हजार कोरोना संक्रमितका लागि सरकारले गर्‍यो स्वास्थ्य सामग्रीको जोहो

कोभिड–१९ बाट संक्रमित संख्या तीव्र रूपमा बढ्दै जाँदा सरकारले असार मसान्तसम्म ३० हजार संक्रमितलाई चाहिने स्वास्थ्य सामग्री जोहो गरेको छ । सरकारले असार मसान्तभित्र संक्रमित कति पुग्छन् भनेर औपचारिक रूपमा भने सार्वजनिक गरेको छैन ।

फागुन मसान्तसम्म नेपालमा एक जना मात्र संक्रमित थिए । संक्रमितको संख्या चैत मसान्तसम्म १२, वैशाख मसान्तसम्म २ सय १९ र जेठ मसान्तसम्म ५ हजार ७ सय ६० पुगेको थियो । असारमा चार दिन बित्दा संक्रमित संख्या ७ हजार ८ सय ४८ पुगेको छ । संक्रमण अहिलेकै गतिले बढे असार मसान्तसम्म संक्रमितको संख्या ४५ हजारसम्म पुग्ने विज्ञहरूले दाबी गरेका छन् ।

विशेषज्ञहरूका अनुसार पीसीआर परीक्षणको दायरा बढेसँगै मुलुकमा कोरोना संक्रमणको दर तीव्र गतिले बढिरहेको हो । जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले भने, ‘मंगलबार संक्रमण दर साढे ७ प्रतिशतभन्दा बढी थियो भने बुधबार बढेर ९.७ प्रतिशत पुग्यो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने ३० हजारभन्दा बढी कोरोना केस पुग्ने अनुमान गरेर सामग्रीको तयारी गरिराखेको जानकारी दिए ।

संक्रमणबाट २२ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समय ८० प्रतिशतभन्दा बढी भारतबाट स्वदेश फर्कने नेपालीमा संक्रमण देखिएको छ । संक्रमण समुदायमा भने प्रवेश गरिनसकेको विज्ञहरूले बताउँदै आएका छन् ।

जनस्वास्थ्यविद् डा. बीसीले यही गतिमा संक्रमण बढ्दै गए असार १४ सम्म संक्रमितको संख्या ११ हजार ५ सयभन्दा बढी पुग्ने बताए । सरकारले बढाउने पीसीआर परीक्षणको दायरामा संक्रमण बढ्ने–नबढ्ने निर्भर रहने पनि उनको भनाइ छ । असार १५ पछि सरकारले दिनमा १० हजारभन्दा बढी नमुनाको पीसीआर परीक्षण गर्ने बताएको छ ।

जेठ ४ मा १ हजार ४ सय ६९ नमुनाको पीसीआर परीक्षण गरिएको थियो । त्यस दिन १४ वटा नमुनामा मात्र कोरोना पोजिटिभ पाइएको थियो । त्यस दिन संक्रमणको दर १ प्रतिशत मात्रै थियो । ठीक एक महिनापछि मंगलबार ५ हजार ५० नमुनाको परीक्षण गर्दा ३ सय ८० नमुनामा संक्रमण पुष्टि भएको थियो । यस दिन संक्रमण दर साढे ७ प्रतिशत थियो ।

कोरोना संक्रमणको तथ्यांक विश्लेषण गर्दा हरेक १५ दिनमा संक्रमणको दर दोब्बर भएको देखिन्छ । गत जेठ १ सम्म २२ हजार ६ सय ६४ नमुनाको पीसीआर गरिएकामा २ सय ४९ जनामा कोरोना पोजिटिभ पाइएको र संक्रमण दर १.१ प्रतिशत देखिएको थियो । जेठ १७ सम्म ६६ हजार ७ सय २९ नमुनाको पीसीआर गरियो । १ हजार ४ सय १ नमुनामा पोजिटिभ पुष्टि हुँदा संक्रमण दर २.१ प्रतिशत पुग्यो । जेठ ३२ को तथ्यांकअनुसार १ लाख ३३ हजार ३ सय ७७ नमुनाको पीसीआर परीक्षण हुँदा ५ हजार ७ सय ६० जनामा संक्रमण पुष्टि र संक्रमण दर ४.३ प्रतिशत पुगेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्