
अद्यावधिक नक्साले संवैधानिक मान्यता पाएपछि प्रधानमन्त्री ओलीले गरे दीपावली
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि आफ्नो सरकारी निवास बालुवाटारमा दीपावली गरेका छन् ।
प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीले दीपावली गर्दै गरेको तस्वीर सार्वजनिक गरेका छन् ।
नेपालको अद्यावधिक नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गर्ने विधेयक केही दिनअघि प्रतिनिधिसभाबाट पारित भएको थियो भने बिहीवार राष्ट्रिय सभाबाट पारित भएको थियो ।
बिहीवार नै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान दोस्रो संशोधन विधेयकलाई प्रमाणीकरण गरेकी थिइन् । उनले प्रमाणीकरण गरेसँगै नेपालको अद्यावधिक नक्साले संवैधानिक मान्यता पाएको छ ।
संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ प्रमाणीकरण गरेकी छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले बिहीवार एक विज्ञप्ति जारी गर्दै संविधानको धारा २७४ को उपधारा १० बमोजिम संविधान संशोधन विधेयक प्रमाणीकरण गरेको जानकारी दिएका छन् ।
संविधान संशोधन विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनबाट पारित भएको थियो ।
कोरोना संक्रमणबाट २ जनाको मृत्यु
कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बिहीवारको नियमित प्रेस ब्रिफिङ थप २ जनाको संक्रमणकै कारणले मृत्यु भएको बताए ।
यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । डाक्टर गौतमले सेती प्रादेशिक अस्पतालमा उपचाररत गोदावरी नगरपालिका वडा नम्बर ४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको बताए ।
उनको स्वास्थ्यमा समस्या आएपछि धनगढ़ीको नवजीवन अस्पतालमा उपचार गर्न गएका उनलाई जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
डाक्टर गौतमले त्यसपछि उनलाई प्रादेशिक अस्पताल सारिएको र उनको उपचारको क्रममा असार ३ गते साँझ ७ बजेर ५२ मिनेटमा मृत्यु भएको जानकारी दिए ।
डाक्टर गौतमले कैलालीको लम्कीचुहा २ की ४२ वर्षीया महिला जेठ ३१ गते टाउकोमा चोट लागेर नेपालगंज मेडिकल कलेजमा भर्ना गरिएको र अपरेशन गर्नुभन्दा अगाडि पीसीआर परीक्षण गर्दा उनलाई संक्रमण देखिएको जानकारी दिए ।
'असार २ गते नमूना संकलन गरिएकोमा भेरी अस्पताल प्रयोगशाला मा असार ३ गते साँझ कोरोना पुष्टि भएको हो,' डाक्टर गौतमले भने । उनको अस्पतालमै मृत्यु भएको हो ।