
आषाढ कृष्ण औँसीका दिन आइतबार खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने भएकाे छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका आइतबार ३ घन्टा ३३ मिनेट ग्रहण लाग्ने छ। ग्रहण बिहान १०ः५० बजे सुरु हुनेछ भने अपराह्न २ः२३ बजे अन्त्य हुनेछ। मध्याह्न १२ः३८ बजेसम्म ग्रहणकाे मध्य हुनेछ।
आइतबारकाे सूर्यग्रहण मृगशिरा र आद्र्रा नक्षत्र एवं मिथुन राशिका मानिसलाई अति कष्ट हुने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए। सूर्यग्रहणको फल राशि अनुसार फरक छ ।
मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ।
मेष, सिंह, कन्या र मकर राशिकाले मात्र सुरक्षित विधि अपनाएर ग्रहण हेर्नुहुन्छ । अरु आठ राशि भएका मानिसले भने सूर्यग्रहण हेर्नुहुँदैन भन्ने शास्त्रीय मान्यता छ । यस वर्ष नेपालबाट सूर्यग्रहण आजको मात्र रहेको समितिले जनाएको छ ।
आइतबारको सूर्यग्रहण विश्वका केही भागबाट पुरै ढाके पनि नेपालबाट भने आधा ढाक्ने अर्थात् खण्डग्रास मात्र देखिने छ ।
नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिने जनाइएको छ । आजको ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने वरिष्ठ खगोलविद् एवं नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ सिद्धान्त ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले बताए ।
चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन भने सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ । आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाको लागि अन्धो समेत हुन सक्छ । सूर्यग्रहण नाङ्गो आँखाले कहिले पनि हेर्नु हँदैन ।
सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ । ग्रहण हेर्न बनाइएको बिशेष चस्माको प्रयोग गरी ग्रहण हेरेमा कुनै नोक्सानी हुदैन । सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यविम्बको प्रतिविम्ब बनाई छाया हेर्नु नै हो । ग्रहण सम्बन्धी अन्धविश्वास संसारभरी नै रहेको पाउन सकिन्छ । रोमनहरु ग्रहणका वेला चिच्याउने गर्दछन् भने चीनमा ग्रहण र ड्र्यागन सँगको सम्बन्धमा विश्वास गर्दछन् । प्राचीन मिश्रका राजा आफैँ सूर्यवंशी थिए । सूर्यग्रहणका वेलामा उनी शहरको मुख्य मन्दिरमा परिक्रमा गरिरहन्थे भन्ने इतिहास भेटिन्छ ।
काठमाडौँबाट मध्याह्न १२ः०४ बजे सूर्यलाई करीव ८८ प्रतिशत ढाकेको देखिनेछ । यसैकारण ग्रहणका समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुनेछ ।