०२ साउन २०८३, शनिबार

नेकपा स्थायी कमिटी बैठक : पार्टी कमजोर भएको प्रचण्डको टिप्पणी, ओली सरकारकै बचाउमा !

नेकपा स्थायी कमिटी बैठक : पार्टी कमजोर भएको प्रचण्डको टिप्पणी, ओली सरकारकै बचाउमा !

बुधवारदेखि शुरू भएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ५ औं स्थायी कमिटी बैठकको पहिलो दिन अध्यक्षद्वयले आ-आफ्नो मन्तव्य राखे ।

७ वटा एजेण्डासहित शुरू भएको स्थायी कमिटी बैठकको पहिलो एजेण्डा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'को मन्तव्य थियो ।

राजनीतिक प्रतिवेदनमा एकमत हुन नसकेका दुवै अध्यक्ष ओली र प्रचण्डले स्थायी कमिटी बैठकमा भने सन्तुलित धारणा राखेका छन् ।

पछिल्लो समय पार्टीभित्र देखिएको विवाद उत्कर्षमा पुग्नु नराम्रो भएको भन्दै यसको समीक्षा गरेर नयाँ निष्कर्षका साथ अघि बढ्नुपर्ने दुवै अध्यक्षको मन्तव्यको निचोड रहेको बैठकमा सहभागी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताए ।

अर्का स्थायी कमिटी सदस्य गोकर्ण बिष्टले पनि कमी कमजोरीको समीक्षा गर्दै नयाँ ढंगले पार्टी अगाडि बढ्नुपर्छ भन्ने नै दुवै अध्यक्षको मन्तव्यको सार रहेको टिप्पणी गरे ।

पार्टी कमजोर हुनुमा आन्तरिक पक्ष जिम्मेवार - प्रचण्ड

बैठकमा अध्यक्ष प्रचण्डले पार्टीभित्र कम्युनिस्ट आन्दोलनको आदर्श पुनःस्थापित गरेर जानुपर्ने बताएका थिए । 'हामीबाट कमीकमजोरी भएका छन्, हाम्रो आदर्शमाथि प्रश्नचिह्न उठेको छ,' प्रचण्डको भनाई उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, 'कमीकमजोरीको समीक्षासहित नयाँ ढंगबाट अघि बढ्नुपर्छ ।'

प्रचण्डले पार्टी कमजोर हुनुमा बाहिरी मात्र नभएर आन्तरिक तत्व पनि जिम्मेवार रहेको बताए । 'बाहिरीयाहरूले त हामीलाई कमजोर बनाउन खोजेकै छन् तर पार्टी कमजोर हुनुमा हामी पनि आन्तरिक रूपमा जिम्मेवार छौं,' प्रचण्डले भने ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टीलाई एकलौटी ढंगले चलाउन खोजेको भन्दै नेकपामा प्रचण्ड असन्तुष्ट छन् । उनले पार्टी एकताताका र त्यसपछि गरिएका समझदारीहरू कार्यान्वयन हुनुपर्ने कुरासमेत बैठकमा उठाएका थिए ।

ओली सरकारकै बचाउमा !

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री बढी समय सरकारकै बचाउका लागि शब्दहरू खर्चिएका थिए ।

उनले कोभिड १९ को महामारी नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गरिरहेको बताए । विकास निर्माणले गति लिएको र सरकारले जनताको मन जित्नेगरी काम गरिरहेको उनले दाबी गरे । उनले तुइन विस्थापित भएको र सडक कालोपत्रे गरिएका तथ्यहरू पनि मन्तव्यका क्रममा छुटाएनन् ।

‘प्रधानमन्त्रीको एक घण्टाको भाषण सरकारका कामको उपलब्धी र बखान गर्नमै बित्यो,' एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, 'संसदमा गर्ने भाषण जस्तै बाटो कालोपत्रे भएको र तुइन विस्थापित भएको पनि भन्न छुटाउनु भएन । तर खासै उत्साहपूर्ण ढंगले बोल्नुभएको जस्तो लागेन ।’

ती नेताका अनुसार ओलीले सरकारकै प्रभावकारी कदमका कारण कोरोना समुदायमा नफैलिएको दाबीसमेत गरेका थिए । पार्टी एकताको प्रसंगबाट बोल्न शुरु गरेका ओलीले सरकारका काम कारवाहीको बचाउ गर्दै मन्तव्य टुंग्याएका थिए ।

सरकारले अतिक्रमित भूमि फिर्ता लिन नक्सा जारी गरेको र नयाँ नक्सा अनुसार संविधानको अनुसूची सच्याउन संविधान संशोधन गरेको विषयलाई समेत ओलीले सरकारको उपलब्धीका रुपमा उल्लेख गरे ।

ओली अन्य दिनभन्दा आज बढी रक्षात्मक देखिएका थिए । बैठकमा आफ्नो आलोचना हुन्छ भन्ने थाहा पाएका ओलीले आफ्नो मन्तव्यमा स्वस्थ आलोचना आफ्ना लागि स्वीकार्य हुनेसमेत बताए ।

यी हुन् ७ एजेण्डा

यसअघि २ पटक स्थगित भएको स्थायी कमिटी बैठक बुधवारबाट शुरू भएको हो । बैठकमा ७ एजेण्डा तय गरिएका छन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पहिलो कार्यसूचीमा अध्यक्षद्वारा अहिलेको समसामयिक अवस्थाबारे बैठकको प्रारम्भमै मन्तव्य राख्ने र दोस्रोमा कोभिड– १९ रोकथाम नियन्त्रण र उपचारका लागि भइरहेका पहलबारे छलफल गर्ने छ ।

तेस्रोमा नेपालको सीमा समस्या समाधान, चौथोमा सरकारको कामको समग्र समीक्षा, पाँचौं पार्टीको कामको समीक्षा र संगठनको बाँकी काम तथा छैटौंमा एमसीसीबारे छलफल गर्नेगरी स्थायी कमिटी बैठकका एजेण्डा तय भएको छ । 

सातौं नम्बरमा विविध भनेर रुकुम घटनाका सन्दर्भ, नागरिकता विधेयक र कोभिड– १९ का कारण कर्मचारीले बैठक भत्ता नलिने निर्णय गरेको सन्दर्भमा संघीय सांसद र प्रदेश सांसदले पनि बैठक भत्ता नलिनेबारे छलफल गर्ने निर्णय भएको श्रेष्ठले बताए । 

स्थायी कमिटीको अर्को बैठक शुक्रवार बालुवाटारमै बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्