
सरकारले पहिलो पटक दार्चुलाको व्यास गाउँपालिका वडा नंं १ का छाङ्रु र टिङ्करमा खाद्यान्न पुर्याउन थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले त्यहाँका सर्वसाधारणलाई हेलिकप्टरमार्फत खाद्यान्न पुर्‍याउनका लागि यही असार ३ गते बोलपत्र आह्वान गरेर प्रक्रिया शुरू गरिसकेको छ ।
यसअघि भारत र चीनबाट आश्रित त्यहाँका नागरिकलाई खाद्यान्न पुर्याउन थालिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो । उनकाअनुसार ती दुई गाउँका १९२ घरधुरीका परिवारलाई तत्काल दुई सय क्विन्टल चामल पुर्‍याइने छ ।
सरकारले यसअघि गत वैशाख ३१ गते सीमा रक्षाका लागि छाङ्रुमा सीमा निगरानी चौकी स्थापना गरेको थियो ।
बन्दाबन्दीले गर्दा भारत र चीनबाट खाद्यान्न नआएपछि आफूहरूले ती ठाउँका सर्वसाधारणलाई खाद्यान्न पुर्याउन लागेको खनालले बताए । 'पहिले ती गाउँका मानिसहरू भारत र चीनबाट खाद्यान्न खरिद गरेर जीविकोपार्जन गर्दै आइरहेका थिए ', उनले भने, ' तर अहिले बन्दाबन्दीले गर्दा भारत र चीनबाट त्यहाँ खाद्यान्न ल्याउने अवस्था भएन । अनि हामीले गाउँपालिकाको समन्वयमा खाद्यान्न पुर्याउन थालेका हौँ ।'
उनकाअनुसार यही महिनाको २५ गतेभित्र त्यहाँका सर्वसाधारणलाई चामल पुर्याउने छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले बन्दाबन्दीमा त्यहाँका जनतालाई खाद्यान्न पुर्याउन निर्देशन दिएपछि कम्पनीका नायब महाप्रबन्धक खनालसहितको टोली सुर्खेत गएको छ । कम्पनीले बोलपत्रमार्फत पुर्याएको चामल गाउँपालिकाले खरीद गरेर त्यहाँका सर्वसाधारणलाई सरकारी दरमा वितरण गर्नेछ ।
यसअघि कम्पनीले व्यास गाउँपालिकाकै सुनसेरा भन्ने ठाउँमा भने खाद्यान्न पुर्याउँदै आएको थियो ।
खनालले सुर्खेतबाट हेलिकप्टरमा ती दुई गाउँमा चामल पुर्याई सर्वसाधारणलाई वितरण गरिने बताए । अहिले ती दुई गाउँमा १९२ घरधुरी छन् । महाप्रबन्धक खनालले अब बिक्री केन्द्र स्थापना गरेर नियमित रुपमा ती ठाउँमा खाद्यान्न पुर्‍याइने बताए ।
गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बन्दाबन्दीका कारणले भारत र चीनबाट खाद्यान्न नआउने भएपछि कम्पनीलाई पत्र लेखेर खाद्यान्न आपूर्ति गर्न भनिएको बताए । उनकाअनुसार कम्पनीले ल्याएको चामल छाङ्रु र टिङ्करका सर्वसाधारणलाई सय सय क्विन्टल वितरण गरिने छ । छ महिना सदरमुकाम र ६ महिना आफ्नो गाउँमा बस्ने त्यहाँका बासिन्दा बन्दाबन्दीका समयमा गत वैशाखको दोस्रो हप्ता गाउँपालिकाको सहयोगमा आफ्नो गाउँ पुगेका थिए ।
गाउँपालिकाका अध्यक्ष बुढाथोकीले भारतसंँग सहकार्य गरेर सदरमुकाम खलङ्गाबाट उनीहरूलाई घर पुर्याइएको बताए । ' घर पुगेपछि बन्दाबन्दीको कारणले भारत र चीनबाट खाद्यान्न नआउने भएपछि के खाने भनेर समस्या भयो ', उनले भने, ' त्यही भएर हामीले सहुलियत दरमा ती मानिसलाई खाद्यान्न उपलब्ध गराउन खाद्य कम्पनीलाई आग्रह गरेका हौँ । त्यसैअनुसार खाद्यान्न आउन थालेको छ ।'
उनकाअनुसार गाउँपालिकाले खाद्यान्न ल्याउन अग्रिम भुक्तानीका लागि पैसा जम्मा गर्ने र पछि सर्वसाधारणलाई सरकारकै मूल्यमा चामल उपलब्ध गराउने छ । उनले अब छाङ्रुमा नै बिक्री केन्द्र स्थापना गरेर त्यहाँका बासिन्दालाई नियमित खाद्यान्न वितरण गरिने बताए ।
फापर, उवा (गहुँको प्रजाति) र आलु त्यहाँका मुख्य बाली हुन् । उनीहरू मङ्सिरदेखि वैशाखसम्म सदरमुकाम खलङ्गा र जेठदेखि कात्तिकसम्म आफ्नै गाउँ बस्ने गर्छन् । गाउँमा बसेका बेला उनीहरू असारदेखि कात्तिकसम्म नेपाल र भारतबाट सामान लिएर तिब्बतको ताक्लाकोटमा गई व्यापार गर्छन् । त्यहाँबाट ताक्लाकोट पुग्न १२ घण्टा लाग्ने गरेको छ ।
उनीहरू भारत र चीनमा गरिने व्यापारबाट आम्दानी गरेको पैसाले आफूलाई चाहिएको उपभोग्य वस्तु किन्ने गर्छन् । गाउँपालिकाका अध्यक्ष बुढाथोकीका अनुसार करीब एक हजार जनसङ्ख्या रहेको ती दुई गाउँमा अहिले तीन चार सय मात्र मानिस छन् । अन्य मानिस रोजगारीका लागि नेपालका अन्य ठाउँ, भारत र चीन(तिब्बत) जाने गरेका छन् । शरद शर्मा,रासस
,