
भारत र चीनबीच गलवान घाटीमा भएको हिंसक झडपपछि यी दुबै देशबीचको तनाव झन बढेको छ।
यही बेला चीन आफ्ना सैनिकलाई प्रशिक्षण दिन २० जना मार्शलआर्ट प्रशिक्षक तिब्बत पठाउँदैछ। तिब्बत चीनको स्वशासित क्षेत्र हो।
गत जुनमा लद्दाखको गलवान घाटी क्षेत्रमा भारत र चीनका सैनिकबीच भएको झडपमा २० भारतीय सैनिक मारिएका थिए।
चिनियाँ मिडियाले तिब्बतमा सेनाका विशेष मार्शलआर्ट प्रशिक्षक पठाइन लागिएको समाचार सम्प्रेषण गरेका छन्।
सरकारी च्यानल सीसीटीभीले आफ्नो रिपोर्टमा भनेको छ, एम्बो फाइट क्लबसँग सम्बन्धित २० फाइटर तिब्बतको ल्हासामा रहनेछन्। ती प्रशिक्षकले भारतसँग सीमा जोडिएका क्षेत्रमा तैनाथ सैनिकलाई प्रशिक्षण दिने बताइएको छ।
दुबै देशबीच १९६२ मा युद्ध पनि भइसकेको छ। करीब पाँच दशकपछि भारत र चीनका सैनिकबीच भएको झडपमा ज्यान गएको हो।