
प्रदेश ५ सरकारले स्थानीय तहका वडाध्यक्षहरुले पदाधिकारीसरह पाउँदै आएको सुविधामा कटौती गर्न कानून संशोधन प्रस्ताव गरेको छ। सोसम्बन्धी विधेयक प्रदेशसभामा संशोधनका लागि पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ ।
प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए।
यसअघिको कानूनमा स्थानीय तहका पदाधिकारीका रुपमा वडाध्यक्षले सुविधा खाइपाइ आएका थिए। उपमहानगरपालिका र नगरपालिकाका वडाध्यक्षले खानेपानी तथा सरसफाइ शीर्षकमा मासिक पाँच हजार र विद्युत् तथा ऊर्जा शीर्षकमा पाँच हजार गरी रु १० हजार सुविधा तथा गाउँपालिकाका वडाध्यक्षले मासिक रु चार हजार सुविधा खाइपाइ आएकामा कानूनमा कटौती गर्ने प्रस्ताव गरिएको मन्त्री चौधरीले जानकारी दिए।
यसअघि कानूनमा वडाध्यक्ष र स्थानीय तहका पदाधिकारीलाई भुलवश एउटै किसिमले परिभाषित गरी सेवासुविधाको व्यवस्था गरिएकाले कानून संशोधन गर्नुपरेको प्रवक्ता चौधरीले बताए।