
नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र अध्यक्ष दुवैबाट राजीनामा माग गरिएपछि केपी शर्मा ओली पक्षले त्यसको प्रतिवादको तयारीमा जुटेको छ ।
मंगलवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठ लगायतले ओलीको राजीनामा माग गरेका थिए ।
मंगलवारको बैठकमा प्रचण्ड–नेपाल समूहले एकै स्वरमा राजीनामा माग गरेपछि ओली समूहले हिजोदेखि नै रणनीति बनाएको थियो । ‘यो बेला प्रधानमन्त्रीको राजीनामा माग गर्नु राजनीतिक अस्थिरता लम्ब्याउने चालबाजी हो, कसैले माग्दैमा राजीनामा नदिने, डटेर सामना गर्ने हामीहरूको निष्कर्ष छ,’ एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, ‘राजीनामाको मागलाई हामी प्रतिवाद गर्ने तयारीमा जुटेका छौं ।’
मंगलवारको बैठकमा प्रचण्ड–नेपाल समूहका १७ जनाले ओलीको राजीनामा माग गरेका थिए । बुधवारको बैठकमा ओली समूहका स्थायी कमिटी सदस्यहरूले बोल्ने तयारी गरेका छन् ।
स्थायी कमिटी बैठकको तयारी स्वरुप प्रधानमन्त्री ओलीले बुधवार बिहान मन्त्रिपरिषद्मा रहेका स्थायी कमिटीका सदस्यसँग परामर्श गरेका थिए । बैठकमा सहभागी स्थायी कमिटी सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन तथा अन्तरविरोधको समाधानका लागि पहल गर्न सुझाव दिइएको बताए ।
असार १० गते शुरू भएको नेकपा बैठकका लागि ७ वटा एजेण्डा तय गरिएको थियो । आइतवार बालुवाटारमा आयोजना गरिएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन भारतीय संयन्त्र र पार्टीकै नेताहरू लागिपरेको अभिव्यक्ति दिएपछि मंगलवारदेखि नेकपाको बैठकको एजेन्डा परिवर्तन भएको थियो ।
ओलीको राजीनामा माग गरिएपछि नेकपा भित्रको विवाद सतहमा आएको छ ।