
नेपाल चीन मामिलाका जानकार स्वतन्त्र विश्लेषक डा. राजीव झाले नेपालमा सरकार फेरबदलको खेलले राजनीतिक अस्थिरता निम्तीने र चीनसँग भएका महत्वपूर्ण सम्झौताहरु कार्यान्वयन नहुने बताएका छन् । नेपालमा हुने राजनीतिक अस्थिरताले दुवै छिमेकीलाई हित नगर्ने उनको विश्लेषण छ ।
‘केपी ओलीको नेतृत्वमा सरकार गठन भएपछि नेपालमा चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण भयो र केही महत्वपूर्ण सम्झौता भएका थिए । अहिले नेपालमा सरकार बिघटनको खेलमा लाग्दा चीनसँग भएका ती सम्झौताहरु आझेल पर्छन’ डा झाको विश्लेषण छ ।
नेकपाको बलियो सरकार भएकै कारण नेपालले अतिक्रमित भूमि समेटेर नक्सा प्रकाशित गर्ने लगायत केही महत्वपूर्ण निर्णय भएका उनले स्मरण गरे । ‘सरकार बिघटनको खेलमा लागेर नेकपा कमजोर भएमा तेस्रो शक्तिको चलखेल बढ्ने खतरा रहन्छ’ झाको विश्लेषण छ ।
नेपालमा सरकार कमजोर भएको समयमा चीन विरोधी गतिविधी बढ्न सक्ने उनले चिन्ता व्यक्त गरे । विश्लेषक झाले कोरोनाका कारण देश संकटमा परेको बेलामा नेपालमा सरकार परिवर्तन या राजनीतिक अस्थिरता निम्ताउने कुनै गतिविधी नगर्न नेकपा नेताहरुलाई सुझाव दिएका छन् ।