
फिफा विश्वकप २०२६ को अन्तिम १६ मा एकपछि अर्को सनसनीपूर्ण नतिजाहरू आउने क्रम जारी छ । पाँच पटकको विजेता ब्राजिललाई एर्लिङ हालान्डको नर्वेले स्तब्ध पार्दै घर पठाएपछि अब सबैको नजर इंग्ल्याण्ड र आयोजक मेक्सिकोबीचको भिडन्तमा मोडिएको छ।
यस खेलको विजेताले आगामी जुलाई १२ मा मायामीमा हुने क्वार्टरफाइनलमा नर्वेको सामना गर्नेछ। ब्राजिललाई पाखा लगाएर उच्च मनोबलमा रहेको नर्वेसँग भिड्नुअघि इंग्ल्याण्ड र मेक्सिकोले आज मेक्सिको सिटीको ऐतिहासिक एस्टेका रंगशालामा आफ्नो अस्तित्वको लडाइँ लड्दैछन्।
उसो त मेक्सिको सिटीमा अहिले मौसम निकै प्रतिकूल बनेको छ। भीषण वर्षा र चट्याङसहितको आँधीका कारण रंगशाला क्षेत्रमा 'सेल्टर-इन-प्लेस' आदेश जारी गरिएको छ। यसले गर्दा खेल केही समय ढिलो हुन सक्ने सम्भावना छ। मौसमविद्हरूका अनुसार खेल सुरु हुने बेलासम्म वर्षाको प्रभाव रहने भए पनि बिस्तारै मौसममा सुधार आउने अपेक्षा गरिएको छ।
इंग्ल्याण्डका लागि 'राइट ब्याक' पोजिसन टाउको दुखाइको विषय बनेको छ। डिजेड स्पेन्स मांसपेशीको चोटका कारण बाहिरिएका छन् भने रिस जेम्स पनि पूर्ण रूपमा फिट छैनन्। प्रशिक्षक थोमस टुचेलले स्पेन्सको स्थानमा जरेल क्वान्सालाई मैदान उतार्ने तयारी गरेका छन्। त्यस्तै, आक्रमण पंक्तिमा बुकायो साका र एन्थोनी गोर्डनलाई सुरुवाती सेटमा स्थान दिइने बुझिएको छ।
मेक्सिकोको घरेलु मैदान एस्टेका इंग्ल्याण्डका लागि ऐतिहासिक र चुनौतीपूर्ण दुवै छ। सन् १९८६ को विश्वकपमा म्याराडोनाको 'ह्यान्ड अफ गड' गोल यही मैदानमा भएको थियो। अग्लो स्थान र घरेलु समर्थकको भारी दबाबका बीच इंग्ल्याण्डले मेक्सिकोलाई उसकै घरमा हराउनु फलामको चिउरा चपाउनु सरह हुनेछ।
यो निकै प्रतिक्षित खेल नेपाली समयअनुसार सोमबार बिहान पौने ६ बजे सुरु हुँदैछ।