
हरियाली कायम राख्नका लागि मानिसहरू वृक्षरोपणमा जोड दिइरहेका हुन्छन् ।
तर एक नयाँ अध्ययनले वृक्षरोपण सम्बन्धी खराब र कमजोर नीतिका कारण वातावरण विनाश भइरहेको दाबी गरेको छ । एकै किसिमका रुख रोप्दा अन्य रुखका प्रजातिहरू नष्ट भइरहेको र वातावरण्मा बढी कार्बन रिलीज भइरहेको पाइएको छ ।
अध्ययन निष्कर्ष नेचर नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको छ । अध्ययनअनुसार, वृक्षरोपणले जैविक विविधतालाई हानि गरिरहेका छन् ।
प्राकृतिक जंगलहरूले कार्बनडाइअक्साइड जस्ता ग्रीनहाउस ग्यासलाई कम गराएर जलवायु परिवर्तनलाई रोकेको भए पनि वृक्षरोपणले चाहिँ वातावरण विनाश गरेको अध्ययनको निष्कर्ष छ ।
वर्ल्ड इकोनोमिक फोरमले संसारभरि वनविनाश भएका ठाउँमा एक लाख करोड रुख रोप्ने योजना बनाएको छ । सन् २०३० सम्ममा संसारभरि ३५ करोड हेक्टर भूभागमा वृक्षरोपण गर्ने लक्ष्य लिइएको छ ।
तर जंगल बचाउनुको साटो वृक्षरोपण अभियानले मोनोकल्चर अर्थात् उस्तै किसिमका विरुवा रोप्ने प्रचलन बढाएको छ । यसले जैविक विविधतालाई नष्ट गरेर ग्रीनहाउस ग्यास बढाइरहेको पाइन्छ ।
अध्ययनले देखाएअनुसार, चिलीमा संसारको सबभन्दा लामो वृक्षरोपण कार्यक्रम चलेको थियो । त्यहाँको वृक्षरोपण कार्यक्रमले जैविक विविधतालाई नष्ट गरिएको पाइयो ।