
बराहताल गाउँपालिका–६ बुटीकी मनसरी दर्लामीको मकैबारीमा फौजी कीराले आक्रमण गरेको छ । कीराको आक्रमणले मकै सत्यानाश हुन थालेपछि उनी आत्तिएकी छन् ।
‘अब मकै नै नहुने भएपछि के खानु, कसको आश मान्नु ?’ उनले भनिन्, ‘पहिले लगाएको मकै पूरै कीराले खाएको हो । फेरि लगाएको मकैमा भने कीरा लाग्न थालेको छ । कसलाई भन्नु कसलाई पीडा सुनाउनु ?’
स्थानीय रणबहादुर सिजापती मगरको मकैबारीमा पनि कीरा लागेको छ तर उनले कीरा नियन्त्रण गर्न विषादी पाएनन् । ‘गाँउमा विषादी बाँडेको सुनेको थिएँ तर मलाई कसैले पनि मकै बचाउन विषादी दिएनन् । जहिले पनि आफ्नैलाई दिइने प्रचलन कहिले अन्त्य होला खै ?’ उनले सोधे ।
वडाको ईखिनीकी ज्ञानु वादीलाई पनि कीराले समस्या गरेको छ । ‘गाउँभरि नै फौजी कीराले आक्रमण गरिरहेको छ । गाउँपालिकाबाट हामीलाई पानी मिसाएर छर्न भनेर १ सिसी विषादी दिएका थिए । त्यो विषादी प्रयोग गरेपछि ४५ दिनसम्म घाँस र मकै गाईवस्तुलाई नखुवाउनु, नत्र मर्छन् भन्ने सुझाव दिए,’ उनले भनिन्, ‘बरु मकै नफले नफल्ला, भोकै बसौंला, ऋण काँढेर खाऔंला तर भैंसी, बाख्रा खरिद गर्न समस्या हुने भएका कारण हामीले विषादी छर्न सकेनौं ।’
भेटेनरी अध्ययन गरेको प्रकाश रावतले गाउँपालिकाले २ हप्ताअघि विषादी दिएपनि गाउँमा कहीँकतै प्रयोग नभएको बताए । ‘४५ दिनमा मकै फलिसक्ने र विषादी छरेमा गाईवस्तुले खाइदिएको खण्डमा ठूलो नोक्सानी व्यहोर्नुपर्ने आशंका कारण उहाँहरूले विषादी प्रयोग गर्न मान्नुभएको छैन,’ उनले भने, ‘हामीले त्यस्तो होइन भन्दा पनि कृषि प्राविधिकले त्यस्तै भनेको बताउँदै विषादी घरमै थन्क्याएका छन् ।’
कीरा नियन्त्रण गर्ने विषादी गाउँलेको हातमा परे पनि प्रयोग नभएको सुन्दा दुःख लागेको बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभा शर्माले बताइन् । ‘हामी प्राविधिकलाई फेरि त्यहाँ पठाउँछौं र किसानका समस्या समाधान गर्ने प्रयास गर्छौं,’ उनले भनिन् ।
कृषि विकास निर्देशनालयका सूचना अधिकारी यामबहादुर रानाले कीरा मार्ने विषादी (इमाम्याक्टेन बेन्जोटेड ५ प्रसेन्ट एसजी) ५ ग्रामलाई १६ लिटर पानीमा राखेर मकैको गुवामा पर्ने गरी छर्कनुपर्ने बताए । ४५ दिनसम्म मकै काट्न वा बारी भित्रको घाँस काट्न नहुने भन्ने कुरा सत्य नभएको बताउँदै उनले मकैको पात ७ दिनसम्म काट्न नहुने बताए ।
‘विषादी छरेको ७ दिनपछि मात्रै मकैलाई घाँसको रुपमा प्रयोग गर्न सकिन्छ । यद्यपि बीचैमा गाईवस्तुले खाइदिए भने पनि गाईवस्तु मरिहाल्ने भन्ने हुँदैन । थोरै असर गर्छ भनेर नै त्यस्तो भन्ने गरिएको हो,’ उनले भने । कार्यालयबाट औषधि खरिद गरेर विभिन्न स्थानमा पठाइसकेको उनले बताए ।