
मालपोत कार्यालय डिल्लीबजारका निवर्तमान प्रमुख गोविन्द अधिकारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।
अख्तियारले मालपोत कार्यालय डिल्लीबजारका ६ जना कर्मचारीलाई ८ लाख ५० हजार रुपैयाँ घुससहित असार २ गते नियन्त्रणमा लिएको थियो ।
सोही प्रकरणमा तत्कालीन मालपोत प्रमुख अधिकारीको पनि संलग्नता रहेको आशंकामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ ।
उक्त प्रकरणपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उपसचिव अधिकारीलाई विभागमा तानेको थियो ।
अधिकारीका सम्बन्धमा मन्त्रालयले आन्तरिक रूपमा समेत छानबिन अघि बढाएको थियो ।
लकडाउनका कारण लामो समय बन्द रहेको मालपोत खुलेको भोलिपल्टै ६ जना कर्मचारी घुससहित पक्राउ परेका थिए ।
पक्राउ परेका कर्मचारीहरूले तत्कालीन प्रमुख अधिकारीलाई पनि पोलेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियार स्रोतको दाबी छ ।