०९ साउन २०८३, शनिबार

राजधानीमा कोरोना बढे पनि रोकिएन सफाइ अभियान

राजधानीमा कोरोना बढे पनि रोकिएन सफाइ अभियान

राजधानीमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि वाग्मतीलगायत उपत्यकाका सफाइ अभियानले भने निरन्तरता पाएको छ । वाग्मती सफाइ महाअभियानको ३७४औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । 

पशुपति क्षेत्रको सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ भएको थियो । विगत हप्ताभन्दा पशुपति क्षेत्रमा फोहर कम भेटिएको उहाँले जानकारी दिनुभयो । असार १ गतेपछि पशुपति क्षेत्रमा सफाइको काम हुन थालेको जनाइएको छ । 

यसैगरी शङ्खमूल क्षेत्रको सफाइ अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा भएको थियो । सफाइका क्रममा सडक किनारका फोहर निकाल्नाका साथै फोहरलाई कुहिने र नकुहिनेमा वर्गीकरण गरी व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले बताए । 

सफाइमा अभियानकर्मीका साथै हनुमान टोल विकास समितिका पदाधिकारी एवं सदस्यको पनि सक्रियता थियो । अभियानकर्मी नारायणकुमार श्रेष्ठको जन्मोत्सवका अवसरमा वाग्मती किनारा र हनुमान वाटिका क्षेत्रमा वृक्षरोपण समेत गरिएको थियो । सफाइमा प्रिया लामिछाने, रामप्रसाद पन्थीलगायत अभियानकर्मी पनि सक्रिय हुनुभएको जनाइएको छ ।

यसैगरी गुह्येश्वरी माथिको वाग्मती, चक्रपथको उत्तरी खण्ड, गोदावरी खोला, रुद्रमती, विष्णुमती, चक्रपथको पश्चिमी खण्डलगायत स्थानमा पनि भौतिक दूरी कायम गरी सफाइ गरिएको छ । सबै सफाइ अभियानमा घर नजिक भएका अभियानकर्मी मात्र सहभागी भएको जनाइएको छ । राजधानीमा ढलमा पनि कोरोना भेटिएको भन्ने हल्लाका कारण पनि आजको सफाइ बढी सजगता अपनाइएको हो ।

सफाइ स्थलभन्दा टाढाका अभियानकर्मीले भने आ–आफ्नो टोल क्षेत्रमा चेतनामूलक अभियानसहित सफाइ अभियानलाई निरन्तरता दिनुभएको छ । विसं २०७६ चैत ११ गते कोरोनाबाट बच्न बन्दाबन्दी जारी भएपछि देखि नै नदी किनारभन्दा टाढाका अभियानकर्मीले टोल सफाइ अभियान शुरू गरेका हुन् ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरू भएपछि उपत्यकामा यसका विभिन्न खण्डसहित सहायक नदी, चक्रपथका उत्तर र पश्चिम खण्डलगायत स्थानमा सफाइ अभियान शुरू भएको हो । 

यसैगरी उपत्यकाबाहिर पनि प्रमुख सहर, मुख्य नदीनालामा गरी १०६ भन्दा बढी स्थानमा सफाइ अभियान शुरू भएको जनाइएको छ । वाग्मती सफाइ महाअभियान शुरू भएदेखि चाड पर्व, वर्षा, गर्मी, जाडो, भूकम्पजस्ता प्राकृतिक प्रकोपका बेलासमेत सफाइ अभियान रोकिएको छैन । २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी जारी भएपछि भने चैत १५ गते शनिबार नदीमा नगई टोल सफाइ गरेरै भए पनि अभियानलाई निरन्तरता दिइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्