२७ असार २०८३, शनिबार

बुुटवलमा अन्तर्राष्ट्रिय मापदण्डको नयाँ पशुु बधशाला बन्ने

असार ३१, २०७७
बुुटवलमा अन्तर्राष्ट्रिय मापदण्डको नयाँ पशुु बधशाला बन्ने

बुटवलमा पशुु बधशाला निर्माण हुुने भएको छ । 

बुटवल उपमहानगरपालिका–१० रामनगरमा केही संरचना निर्माण भएरपनि सञ्चालनमा आउन नसकेको बधशालालाई अब अन्तर्राष्ट्रिय मापदण्डको बनाउन लागिएको हो ।

करीब ३ बिघा क्षेत्रफलमा अत्याधुनिक पशु बधशाला निर्माण हुनेछ ।

यसअघि निर्माण भएका संरचनाले मात्रै आधुनिक बधशाला सञ्चालन हुन नसक्ने ठहर भएपछि नयाँ बनाउन लागिएको हो । बधशाला २२ करोड १३ लाख ३५ हजार ९९६ रुपैयाँको लागतमा निर्माण गर्न ठेक्का सम्झौता भएको थियो । निर्माण शुरू भएको १६ महिनामा निर्माण सक्ने गरी सम्झौता भएको हो ।

बुधवार एक समारोहबीच मुख्यमन्त्री शंकर पोखरेलले बधशालाको शिलान्यास गरे । त्यसक्रममा बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले तोकिएको समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

प्रमुख सुवेदीले सबैलाई स्वच्छ तथा गुणस्तरीय मासु उत्पादन तथा उपभोग गर्नुपर्ने कुरामा सचेत बन्दै बधशाला निर्माणमा बजेटको अभाव हुन नदिने बताए । ४पी मोडल अनुसार बधशाला सञ्चालन गरिनेछ ।

अहिले निर्माण शुरू भएको बधशालामा पहिलो चरणमा खसी र बोका मात्रै बध गर्न मिल्ने बनाइने छ । प्रदेश सरकार, बुटवलका मासु व्यवसायी, पशुपालक किसान र सहकारीको सहकार्यमा निर्माण हुन लागेको बधशालामा प्राविधिक तहको साझेदारी अन्तर्राष्ट्रिय संस्था हेफर इन्टरनेसनलले गरिरहेको छ । 

बुटवलमा बधशाला निर्माणको पहल झण्डै २० वर्ष अघिदेखि भएको थियो । शिवशक्ति कन्ट्रक्सन प्रालिले निर्माणको ठेक्का लिएको छ । बधशालाका लागि पहिलो चरणमा प्रदेश ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ७ करोड, बुटवल उपमहानगरपालिकाको ३ करोड गरी आव २०७६/७७ मा कूल १० करोड बजेट विनियोजन भइसकेको छ ।

क्रमागत रुपमा बहुवर्र्षीय योजनाको रुपमा परियोजना संचालन गरिने बुटवलका प्रमुख सुवेदीको भनाइ छ । परियोजनाका लागि तय गरिएको बजेटबाट साइट निर्माणमा १ करोड २२ लाख, भवन निर्माण तथा सिभिलवर्कमा ६ करोड ७० लाख, मुख्य प्लान्ट तथा उपकरणमा ६ करोड ६२ लाख, अन्य उपकरण तथा औजार ३ करोड ५७ लाख, सञ्चालन पूर्व खर्च तथा कन्टिजेन्सी २ करोड ९० लाख खर्च हुने प्रस्तावित बुटवल मासु प्रशोधन तथा उत्पादन केन्द्रको लागत विवरण रहेको उपमहानगरका वरिष्ठ इन्जिनियर एवं परियोजनाका साइट इन्चार्ज इन्जिनियर गौतम रौनियारले बताए । 

यस्तो बन्नेछ बधशाला

दैनिक १ हजार खशी बोका बध गर्न मिल्ने गरी बधशाला बन्नेछ । यहाँ बाख्राको चरण, होल्डिङ, पशु स्वास्थ्य चेकजाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरुका लागि प्राथिमक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उधान र बगैंचा निर्माण गरिने छ ।

यहाँबाट निस्किने फोहोरलाई प्रशोधन गरेर वायो ग्यास निकालिने छ भने पानीलाई पुनप्रयोग गर्न मिल्नेगरि प्रशोधन गरिने छ । बधशालामा दैनिक ५०० देखि १ हजारसम्म खसीबोकाको बध गर्न सक्ने संरचना तयार गरिने छ । 

साझेदारीको मोडल

एउटा टहरा निर्माण भएर त्यत्तिकै अलपत्र अवस्थामा रहेको बधशालालाई बुटवल उपमहानगरपालिकाको प्रस्तावमा सार्वजनिक–निजी साझेदारीको मोडलबाट सञ्चालन गर्न लागिएको हो । बधशाला निर्माण तथा संचालनको प्राविधिक तथा सामाजिक परिचालनको जिम्मा लिएको हेफर र उपमहानगरबीच भएको सम्झौता अनुसार बधशाला निर्माणपश्चात उत्पादक किसानहरू र मासु व्यवसायीले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले बधशाला सञ्चालन गर्नेछ ।  

नेपाल सरकारद्वारा विगत लामो समयदेखि नै उपभोक्तालाई सफा तथा स्वस्थ मासु उपलब्ध गराउन, खुल्ला वध रोक्न, व्यवस्थित पशु ढुवानी गर्न, पीडारहित बधका लागि विभिन्न किसिमका ऐन, नियमावली तथा निर्देशिकाहरू जारी गरिँदै आएको छ । तथापि पशु बधशाला तथा मासु जाँच ऐन २०५५ र नियमावली २०५७ पारित भएको २ दशक बितिसक्दा पनि हालसम्म यसको कार्यान्वयन हुन सकिरहेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्