३० असार २०८३, मंगलबार

प्रतिष्ठित उद्यमी विनोद चौधरीद्वारा सिजी ल्यान्डमार्कका व्यवसायीलाई ४ महिनाको भाडा छुट

प्रतिष्ठित उद्यमी विनोद चौधरीद्वारा सिजी ल्यान्डमार्कका व्यवसायीलाई ४ महिनाको भाडा छुट

चितवनको भरतपुरस्थित अत्याधुनिक सपिङ मल सिजी ल्यान्डमार्कले उक्त कम्प्लेक्सका व्यवसायीलाई लकडाउन अवधिभर (चार महिना) को भाडा छुट दिने भएको छ । 

फोर्ब्सले प्रकाशित गर्ने विश्वका अर्बपतिहरूको सूचीमा समेत परेका मुलुकका प्रतिष्ठित व्यवसायी एवं सांसद विनोद चौधरीको निर्देशनमा ल्यान्डमार्कले भाडा छुट दिने निर्णय गरेको हो । 

सिजी ल्यान्डमार्क सांसद चौधरी अध्यक्ष रहेको सिजी ग्रुप ग्लोबल अन्तर्गतको व्यापारिक कम्प्लेक्स हो । 

उद्योग व्यवसायमा मात्रै सीमित नभएर मुलुकको सामाजिक, सांस्कृतिक र शैक्षिक उत्थानमा समेत अतुलनीय योगदान गर्दै आएका मनकारी व्यक्तित्व चौधरीले लकडाउनका कारण ठूलो समस्या झेलिरहेका मझौला व्यवसायीलाई राहत होस् भनेर भाडा छुटको निर्देशन दिएका हुन् ।  

‘माननीयज्यू आफैं पनि सफल व्यवसायी हुनुभएकाले व्यवसायीका समस्याबारे उहाँलाई कसैले सिकाउनुपर्ने आवश्यकता थिएन,’ ‘लकडाउनकै समयमा यहाँ आइपुग्नुभएका उहाँले मलका व्यवसायीको मर्का बुझेर स्वतःस्फूर्त रूपमा लकडाउन अवधिभरको भाडा नलिन निर्देशन दिनुभयो ।’ 

उक्त मल व्यवस्थापनको जिम्मेवारी लिएको बिल्डिङ म्यानेजमेन्ट कम्पनी (बीएमसी)का सञ्चालक, सफल विज्ञापन व्यवसायी राजेन्द्र अर्यालले भाडा छुटबारे व्यवसायीलाई जानकारी गराए । 

चौधरीको यो निर्णयबाट मलका व्यवसायी निकै उत्साहित भएका छन् । मलमा व्यवसाय सञ्चालन गरिरहेका विदुर पौडेलले पलायनको खतरा टरेको प्रतिक्रिया दिए । 

‘कारोबार गर्न नपाएको चार महिना बितिसक्यो । यस्तोमा भाडा तिर्नुपरेको भए पलायन हुनुपर्ने अवस्था आउँथ्यो,’ पौडेलले भने, ‘माननीय चौधरीको कदमबाट हामीले ठूलो राहत महसूस गरेका छौं । व्यवसायका चुनौती र समस्या राम्ररी बुझेको मान्छे हुनुको फाइदा यही रहेछ ।’

मलका अर्का व्यवसायी रोशन तिवारीले पनि भाडा छुटको निर्णयबाट आफू निकै हौसिएको बताए । 

‘सिजी ल्यान्डमार्कले अत्यन्तै उदाहरणीय काम गरेको छ । यसलाई देशभरका सपिङ मलहरू र धरधनीहरूले अनुशरण गर्नुपर्छ,’ तिवारीले भने, ‘व्यवसायी पलायन भए भने त्यसको मार घरधनीलाई पनि पर्छ ।’ 

बीएमसीका सञ्चालक अर्याल व्यवसाय जोगिए मात्रै सबै कुरा जोगिन्छ भन्ने कुरो सांसद चौधरीले बुझेकै कारण भाडा छुट दिन लगाएको बताउँछन् । 

‘उहाँ नेपालको मात्रै नभएर अन्तर्राष्ट्रियस्तरकै सफल मान्छे । उहाँले कोभिड– १९ र लकडाउनप्रभावित व्यवसाय जोगाउने उपायबारे संसद्मा पनि बारम्बार बोल्दै आउनुभएको छ,’ अर्याल भन्छन्, ‘अहिलेको अवस्थामा व्यवसाय बचाउन जे गर्नुपर्छ भनेर उहाँले सरकारलाई सुझाव दिनुभएको थियो त्यो आफैंले गरेर देखाउनुभयो ।’

मलका म्यानेजर उज्ज्वल केसीका अनुसार मलका व्यवसायीले सीमित समय पसल खोलेर ग्राहकलाई आवश्यक सामान उपलब्ध गराइरहेका छन् । सरकारले सपिङ कम्प्लेक्सहरू सञ्चालन गर्ने अनुमति नदिएको अवस्थामा ब्रान्डेड सामानका ग्राहकलाई विशेष व्यवस्था गरी व्यवसायीले सामान उपलब्ध गराउन चाहेपछि आफूहरूले सहजीकरण गरेको केसीको भनाइ छ । 

सामाजिक दुरी, मास्क, स्यानिटाइजरजस्ता सुरक्षा सामग्रीको व्यवस्था लगायत स्वास्थ्य सुरक्षासम्बन्धी अन्य मापदण्ड पूरा गरे/नगरेको विषयलाई मल व्यवस्थापनले सुरक्षाकर्मी र सिसी क्यामेरामार्फत सूक्ष्मरूपमा निगरानी गरे ग्राहकलाई सामान उपलब्ध गराउने व्यवस्था मिलाएको म्यानेजर केसीले जानकारी दिए । 

मल व्यवस्थापनले सामाजिक दुरीका लागि मार्किङ, स्यानिटाइजर र साबुन पानीको व्यवस्था गर्नुका साथै मलका रेलिङ लगायत छोइने वस्तुहरूलाई नियमित रूपमा निःसंक्रमित गर्ने गरेको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्