१३ असार २०८३, शनिबार

सात दिन पनि टिकेन अडिटको मुख्य गेट

साउन १, २०७७
सात दिन पनि टिकेन अडिटको मुख्य गेट

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ मार्गभित्रको गेट फुटेको दुई दिन भइसक्दा पनि प्राविधिक जाँच हुन सकेको छैन ।

सुरुङमा पानी हालेर परीक्षण थालिएको सात दिन नपुग्दै मंगलबार हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथान अडिटको मुख्य गेट (गेट नम्बर १७) फुटेको थियो ।

सुन्दरीजल पुग्ने मेलम्चीको सुरुङसँग जोडिएको अम्बाथान अडिट फुटेर फर्किएको बाढीले क्षतिग्रस्त बनेका हेडवर्क्सस्थल र अडिटजस्ता संरचनामा बुधबार दिनभरको वर्षाले थप क्षति पुर्‍याएको छ । आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले घटना कसरी भयो भन्नेबारे प्राविधिकले जाँचबुझ गरेपछि मात्रै भन्न सकिने बताए । ‘कसरी अम्बाथान गेट फुट्यो भन्नेबारे म पनि अनभिज्ञ छु, प्राविधिकको टोली बिहीबार आएर सबै जाँचबुझ गरेपछि मात्रै यथार्थ कुरा आउनेछ,’ उनले भने । उनका अनुसार अम्बाथानमा जस्तै महत्त्वपूर्ण गेट ग्याल्थुम, सुन्दरीजल र सिन्धुमा पनि बनाइएका छन् ।

खानेपानी मन्त्रालयले ६ सदस्यीय प्राविधिक टोली छानबिनका लागि बिहीबार मेलम्ची पठाउने जनाएको छ । खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा मन्त्रालयमा बुधबार भएको छलफलमा सुरुङको ढोका फुट्नुको कारण पत्ता लगाउन सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा ६ सदस्यीय टोली गठन गरेको हो । समितिले स्थलगत अनुगमन गरेर बिहीबारबाटै काम सुरु गर्ने छ । बैठकमा मन्त्री मगरले के कारण यस्तो भएको हो भन्दै आयोजनाका प्राविधिकसँग जानकारी मागेकी थिइन् ।

आयोजनाले बुधबार बिहानैबाट मुख्य सुरुङको मुख बन्द गरी बाँधस्थल खोलेर खोजी तीव्र पारेको थियो । बेपत्ता दुईमध्ये एक जनाको शव फेला परेको छ । बुधबार दिउँसो इन्द्रावती खोलाको बाहुनेपाटीमा जनकपुरका इन्जिनियर सतिश गोहितको शव फेला परेको प्रहरीले जनाएको छ ।

आयोजनामा कार्यरत सवारी चालक ५५ वर्षीय राधाकृष्ण थापामगर भने अझै बेपत्ता छन् ।

सुरुङभित्र गेट नम्बर १७ मा पानी पठाएलगत्तै पानीको चाप र प्रेसर परीक्षण गर्न बा१झ १७६४ नम्बरको स्कोरपियो गाडी लिएर गएका दुई इन्जिनियरसहित हेल्पर र प्राविधिक बाढीले बगाएर बेपत्ता भएका थिए । ‘परीक्षण सकेर फर्किएका चारै जनालाई अडिटको मुख्य गेट फुटेर आएको बाढीले बगाएको हो,’ प्रमुख खत्रीले भने ।

इन्जिनियर गोहितको शव भेटिएको स्थान वरपर प्रहरीले मगरको पनि खोजी गरिरहेको छ । घाइते भएका साइट इन्जिनियर शेखर खनाल र सबहेल्पर पेम्बा लामाको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

पछिल्ला दिन आयोजनामा ‘रिभिनिङ पार्ट’ र गेट नम्बर १७ लाई पूर्वतयारी राख्नेदेखि अन्य संरचनालगायतका काम भइरहेको थियो । मुख्य टनेललाई फिलिङ गर्दै लगेर अन्य काम अगाडि बढिरहेको थियो ।

सुन्दरीजलसम्म पानी लैजानका लागि महत्त्वपूर्ण मानिने अन्य तीनवटा गेटजस्तै गेट नम्बर १७ लाई पनि बलियोसँग लगाउनका लागि तीन साता लाग्ने मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको थियो ।

आयोजनास्थलमा कार्यरत केही प्राविधिकको अनुमानअनुसार गेट नम्बर १७ मा आवश्यकताभन्दा बढी चापको पानी पठाएकाले (बालुवा थिग्य्राउने गेट) फुटेर अडिट सुरुङतर्फ नै पानी फर्किएको हो । सुरुङभित्रको गेटसम्म पुगेर वेगसँग अम्बाथान अडिटबाट फर्किएको बाढीले बाहिरको हेडवर्क्सस्थल लगायतका वरिपरिको अधिकांश संरचना ध्वस्त बनाएको छ । बाढीमा डुबेका सबै उपकरण निकालेर सुरक्षित गरिएको आयोजनाका कर्मचारीले बताएका छन् ।

मेलम्ची खानेपानी आयोजनाको अम्बाथान अडिट जोड्ने गेट फुटेपछि मुहानस्थल र सुरुङको निरीक्षणमा पुगेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सुरुङको ५ सय मिटर भागमा जताततै पानी चुहिएर बाहिर निस्केको देखिएको बताए । ‘भित्री सुरुङ पनि कमजोर छ, गेट मात्रै होइन, सुरुङ नै भत्केको हो कि जस्तो देखिएको छ, यसबारे गहन अनुसन्धान होस्,’ उनले भने ।

काम छोडेर हिँडेको इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी सिमेन्तेस्टी दी रेभेना (सीएमसी) ले मापदण्डविपरीत अल्कालीको मात्रा शून्य दशमलव ६ भन्दा माथि रहेको सिमेन्ट सुरुङ निर्माणमा प्रयोग गरेको थियो । इन्जिनियरिङ स्पेसिफिकेसनअनुरूप अल्कालीको मात्रा शून्य दशमलव ६ भन्दा तल भएको सिमेन्ट मात्रै प्रयोग गर्न सकिनेछ । ‘त्यसबेला सीएमसीले मापदण्डविपरीतको सामग्री प्रयोग गरेर बनाएको थियो, त्यसैले पनि सुरुङ कमजोर बनेको हुन सक्छ,’ अध्यक्ष शेर्पाले भने । कान्तिपुर दैनिकमा अनिश तिवारीले खबर लेखेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्