१० साउन २०८३, आइतबार

अंग्रेजीमा स्नातक मोहन जब कपाल काट्ने पुर्ख्यौली पेशा सलुनमै फर्किए ...

साउन ३, २०७७
अंग्रेजीमा स्नातक मोहन जब कपाल काट्ने पुर्ख्यौली पेशा सलुनमै फर्किए ...

एउटा भनाइ छ – सफल मानिस नयाँ कार्य गरेर होइन, सामान्य काम पनि फरक ढंगले गर्छन् ।

काम पुस्तौं पुरानो तर फरक धारमा उभिएर आधुनिकतामा ढाल्दै पेशालाई नै गौरवमा बदलेर सफलतामा लम्केका एक युवा हुन्, रूपन्देहीका मोहन ठाकुर ।

रुपन्देहीको देवदह नगरपालिकामा जन्मिएका ठाकुर बुटवलको निल डेभिड सलुनका सञ्चालन हुन् । ३३ वर्षीय ठाकुर युवा जोश अनि उद्यमशीलतामा विश्वास राख्दै अगाडि बढेका छन् ।

बुटवलको अमरपथस्थित सिंह कम्प्लेक्समा रहेको सलुनलाई मोहनले छोटो समयमै नयाँ ब्रान्डको रुपमा पस्केर लोकप्रिय बनाएका छन् । 

अंग्रेजीमा स्नातक उत्तीर्ण 

मोहन सानैदेखि पढाइमा लगनशील थिए । बुवा रामविनोदले आफ्नो पुस्तौंदेखि गर्दै आएको कपाल काट्ने पेशा छोरोहरूले नगरुन् भनेर दुःखका साथ उनलाई निजी स्कूलमा पढाए । रामविनोदको देवदह सित्तलनगरमा कपाल काट्ने सलुन थियो । मोहन स्कूल बिदाको दिन सलुनमा गएर बुवालाई काममा पनि सघाउँथे, अन्य समय पढाइमै ध्यान दिन्थे ।

देवदहकै ग्रीन प्लान्ट बोर्डिङ स्कूलबाट मोहनले २०५८ सालमा एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरे । एसएलसीपछि मोहन बुटवलको अक्सफोर्ड कलेजमा ११ कक्षामा व्यवस्थापन संकाय लिएर उच्च शिक्षाको अध्ययनमा जोडिए । उनले ‘प्लस टु’ पनि प्रथम श्रेणीमा नै उत्तीर्ण गरे । स्नातक पढ्न व्यवस्थापन संकायलाई छाडेर उनी अंग्रेजी विषय लिएर बुटवल बहुमुखी क्याम्पसमा भर्ना भए । पढाइसँगै उनले बुटवलका विभिन्न रेडियोमा कार्यक्रम उत्पादन गरेर प्रसारण गर्न थालेपछि रेडियो सुन्नेहरूमाझ पनि मोहन लोकप्रिय बने ।

बुटवल बहुमुखी क्याम्पसबाटै बीए पास गरी मोहनले विभिन्न गैरसरकारी संस्थामा झण्डै २ वर्षभन्दा बढी काम गरे । उनले काम गरेका संस्थाका कार्यक्रम सीपलाई रोजगारसँग जोड्ने खालका थिए । काम गर्दै जाँदा मोहनले सीपलाई रुपान्तरण गरेर नयाँपनका साथ फरक ढंगले सञ्चालन गरेमा धेरैको मन जित्न सकिने आत्मविश्वास र अनुभव संगाले । काममा लागेपछि स्नातकोत्तर भर्ना भए तर पढाइ पूरा गर्न भने सकेनन् ।

अनि मोहनले रोजे पुर्ख्यौली पेशा

मोहन परिवारको जेठो सन्तान, जिम्मेवारी पनि बढी । जागिर गरेर हुँदैन आफूले नै केही व्यवसाय गर्नुपर्छ भन्ने उनको सोचले जित्दै गयो । पढे–लेखेको छोराले आफूहरूले जस्तो दुःख पाएको पेशा नगरे हुन्थ्यो भन्ने अभिभावकको आशय थियो । आफूहरूले गाउँगाउँ डुलेर कपाल काट्दा पाएका दुःख सम्झिएर विरक्त थिए मोहनका अभिभावक । 

मोहनको मनमा एउटा प्रश्न खड्किरह्यो – हाम्रो पुस्ताले यो पेशा छाडेर अन्यत्र मोडिए पेशा नै संकटमा पर्छ कि ? उनी यो पेशालाई सबैले सम्मान गर्न लायक र आधुनिक कसरी बनाउन सकिन्छ भनेर सोच्न थाले । मोहनले गूगल सर्च गर्नेदेखि काठमाडौं, दिल्ली हुँदै बैंककसम्म पुगेर हेयर स्टाइलका विभिन्न एडभान्स कोर्स गरेर आफू नै पूर्ण दक्ष बने ।

अनि सलुन क्षेत्रमा नयाँपन दिने गरी २०७३ सालमा कम्प्लेक्सको चौथो तलामा निल डेभिड सलुन तथा पार्लर शुरू गरेर मोहनले बाजेबराजुकै पेशाको कैची र छुरा उचाले । फलामे घरेलु औजारबाट ढुंगा र काठको मुढामा बसेर दाह्री र कपाल काट्दै हिँड्ने हजुरबुबा गोली ठाकुरबाट मोहनको पुस्तामा आउँदा पेशा परिमार्जित र व्यावसायिक बन्दै अहिले वातानुकूलित (एसी) कोठामा आइपुगेको छ ।

‘मैले नयाँ काम शुरू गरेको होइन, पुरानै कामलाई नयाँ तरिकाले मात्रै गरेको हुँ,’ मोहन भन्छन्, ‘रुपन्देहीमा ५० वर्ष अगाडिदेखि सलुनहरू थिए र छन् । तर त्यही कामलाई नयाँ तरिकाले मात्रै पस्किने प्रयास गरेको हुँ । यसैमा म सफल हुने प्रयासमा छु ।’

३ वर्षअघि शुरू गरेको मोहनको निल डेभिड सलुनमा ७ जना कर्मचारी छन् । तीमध्ये ४ जना महिला छन् । जसले पुरुषहरूको समेत कपाल निर्धक्क काटिदिन्छन् भने २ जना पुरुषले महिलाको शृंगार समेत गर्छन् । सेवाग्राहीको भीड बढ्दा मोहन आफैं पनि कपाल काट्नेदेखि अन्य सबै काम गर्न पछाडि हट्दैनन् ।

८ लाख रुपैयाँबाट व्यवसाय शुरू गरेको सलुनमा मोहनको लगानी अहिले ६० लाख पुगेको छ । नयाँ पुस्ताले नयाँपन खोज्दै जाँदा सलुनलाई मोहनले सुविधासम्पन्न बनाएका छन् । ‘युवा पुस्ताले गुणस्तर खोज्छ । बाहिरबाट देख्दा एसी र कुर्ची राम्रो हुँदैमा गुणस्तरण हुँदैन । दक्ष कामदार चाहिन्छ,’ उनले भने । मोहनको सलुनमा काम गर्नेहरू दुबईदेखि भारतका विभिन्न पार्लरहरूमा काम गरेका अनुभवी कामदार हुन् । 

स्नातकसम्म अध्ययन गरेको व्यक्ति परिवारले अन्य पेशा गरे हुन्थ्यो भन्दाभन्दै पनि मोहनले किन पुर्ख्यौली पेशा नै रोजे ? मोहन हाँस्दै भन्छन्, ‘पढेका कुरा अहिले व्यवसायमा काम लागिरहेको छ । बुवालाई सहयोग गरेको सीप काम लागेको छ । अरुलाई धेरै थाहा हुन्न, मलाई सबै आउँछ । आफ्नो स्कीललाई अपडेट गर्दै नेपाली सुन्दरता प्रदान गर्ने कामलाई संस्कृति बनाउन खोजिरहेको छु ।’

भैरहवा, नारायणगढदेखि भारतको गोरखपुरदेखि आउँछन् ग्राहक

सलुनको नामबाटै युवा पुस्ताको भीड लाग्छ । निल डेभिड अर्थात् निलेन्द्र कटवाल झापाका युवा हुन् । उनले डेभिड भन्ने बेलायती नागरिकसँग बेलायतमै कपाल कटाए । कटवाल नेपाल फर्केपछि गुरुको नाम जोडेर सलुन चलाए । निलेन्द्रसँग सीप सिकेका मोहनले आफ्नो सलुनको नाम पनि निल डेभिड राखे ।

मोहनको पार्लरमा भारतको गोखरपुरदेखि ग्राहकहरू कपाल काट्न आउने गरेका छन । ‘एक पटक पार्लरमा सेवा लिएपछि सबै व्यक्तिहरू नियमित मेरो कस्टम हुनुहुन्छ । भारतको गोरखपुर, कपिलवस्तु, चितवन, पाल्पा र नवलपरासीसम्मबाट मानिसहरू नियमित रुपमा सुन्दरताका लागि आउने गर्छन्,’ मोहन भन्छन्, ‘मैले प्रयोग गर्ने सामग्रीहरू गुणस्तरीय हुन्छन् । त्यसैले एक पटक आएको ग्राहक सन्तुष्ट भएर खोजी–खोजी आउँछन् ।’

शृंगारका सामग्रीहरू जथाभावी प्रयोग गरेर सुन्दर बन्न खोज्दा कुरुप बन्नसक्ने खतरा रहेको उनी बताउँछन् । बजारमा जथाभावी पाइने कम गुणस्तरका शृंगारका सामग्रीले महिला–पुरुष दुवैको मुहारमा चायापोतो, कालोदाग र पिम्पल्स आउने खतरा बढी हुने भन्दै मोहनले सचेत हुनुपर्ने बताए । रुपन्देहीमा अहिले २०० भन्दा बढी सलुन छन् । 

अनलाइन बुकिङको व्यवस्था 

मोहनको सलुनमा दैनिक १५–२० फोन आउँछन् । उनले अनलाइनबाट कपाल काट्नेदेखि अन्य सुन्दरताका सेवा बुकिङको व्यवस्था समेत मिलाएका छन् । ‘अनलाइन बुकिङ गर्नेदेखि मेरो फेसबूक म्यासेन्जरमा समेत मलाई म यतिबेला आउँछु । समय मिलाइदिनुपर्‍यो भन्ने धेरै छन्,’ मोहन भन्छन् ।

यस्तो छ ठाकुरहरूको इतिहास 

५०–६० वर्ष अघिदेखि रुपन्देहीवासीले कपाल काट्न ठाकुरहरूलाई बोलाउँथे । विभिन्न शुभकार्य, विवाह ब्रतवन्ध र पूजाआजामा कपाल, दाह्री काट्ने चलन थियो । नाई भनिने ठाकुरहरू दिनभर गाउँगाउँमा डुलेर कपाल काट्ने गर्थे । अहिले एक ठाउँमा व्यवसाय गरेजस्तै कपाल दाह्री बनाइँदैन्थ्यो । यो पेशामा प्रायः तराईका ठाकुर समुदाय बढी आवद्ध थिए । कपाल काटेबापत जमिन्दारहरूले वार्षिक रुपमा धान, मकै, गहुँ र तेल दिन्थे ।

अहिले कपाल काट्ने पेशा व्यावसायिक बनेको छ । मोहनसँगै उनका भाइले पनि यो पेशालाई छोड्न सकेनन् । उनले पनि बुटवलमा सलुन सञ्चालन गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्