०८ असार २०८३, सोमबार

पीसीआर मशिन ल्याएर परराष्ट्रमन्त्री ज्ञवाली गृहजिल्लामा, अब गुल्मीमै कोरोना जाँच

साउन ३, २०७७
पीसीआर मशिन ल्याएर परराष्ट्रमन्त्री ज्ञवाली गृहजिल्लामा, अब गुल्मीमै कोरोना जाँच

गुल्मीमा कोभिड–१९ जाँच गर्न पीसीआर मशिन ल्याइएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हिमालय एयरलाइन्समार्फत शनिवार कोरोना परीक्षण गर्ने पीसीआर मशिन ल्याएर रेसुङा नगरपालिकालाई हस्तान्तरण गरेका हुन् ।

जिल्ला विपद् व्यवस्थापन समितिमार्फत रेसुङा नगरपालिकाका मेयर डिल्लीराज भुसाललाई मशिन प्रदान गरिएको छ ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत आफूहरूले मन्त्री ज्ञवालीको पहलमा पीसीआर मशिन प्रदान गरेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । केही समय पहिलेबाट स्थानीय तहले सदरमुकाम तम्घासमा कोभिड अस्पताल र ल्याब सञ्चालन गर्न प्रयत्न गरिरहेका थिए ।

मशिन प्रदान गर्दै ज्ञवालीले कोरोना संक्रमणले सामाजिक जीवनमा अत्यन्तै ठूलो क्षति पुगेकाले अझै ढुक्क बन्ने स्थिति नभएको बताए । उनले स्रोतसाधनका हिसाबले अहिलेसम्म कोभिड विरुद्धको लडाइँमा राम्रो सफलता मिलेको बताए । सबैभन्दा खराबको स्थिति अझै बाँकी भएकाले त्यसको तयारीमा समेत ३ वटै सरकारका संयन्त्र लाग्नुपर्नेमा ज्ञवालीले जोड दिए ।

‘अहिले मशिनको खर्चको कुरा नगरौं, मानव जीवनभन्दा खर्च ठूलो होइन,’ उनले भने, ‘सबैको सहयोगमा तुरुन्त ल्याब सञ्चालन गर्नुपर्‍यो ।’ 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसँग सार्वभौम समानता सहितको सम्बन्ध चाहेको बताए । उनले सीमानाको विषयमा आफूहरूले असल छिमेकीका नाताले २/२ पटक कूटनीतिक पहल र आग्रह गरे पनि भारतले नटेरेको आरोप लगाए ।

‘भारतले कूटनीतिक पहलको गम्भीरता बुझेन बरु सडक विस्तार भयोे,’ उनले भने, ‘राष्ट्रिय अखण्डताको विषयमा सबै दलबीच अभूतपूर्व एकता गरी नक्सा पारित गर्‍यौं ।’ अब पनि सबै दल र जनताको सहयोगमा कूटनीतिक पहलमार्फत नक्सामा कायम भएको भूभाग फर्काउन प्रयत्न गर्ने ज्ञवालीले बताए ।

गुल्मी आएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेकपा पार्टी कार्यालयमा नेकपा नेता कार्यकर्तालाई सम्बोधन गर्दै पार्टीभित्रको आन्तरिक समस्याले कुनै बिग्रह नआउने बताए । उनले नेकपा घरको धुरीखाँबो भएकाले भत्किए खाँबो मात्रै नभाँचिने बताए ।

ज्ञवालीले कोरोना क्षति र छिमेकको समस्या समाधानको पहलको सट्टा अहिलेले आन्तरिक कलह औचित्यपूर्ण नभएको प्रतिक्रिया दिए । ‘शान्ति प्रक्रिया र सशस्त्र संघर्षबाट आएका २ पार्टीको भावना समेट्न २ अध्यक्ष बनाइएको हो,’ उनले भने, ‘आग्रह र उत्तेजनामा आएर एकता जगमा प्रहार भत्काउन पाइँदैन ।’

salt training

कमेन्ट गर्नुहोस्