०८ असार २०८३, सोमबार

चार महिने लकडाउनले फस्टाएका अपराध : फेसबूक लाइभमा आत्महत्यादेखि पोर्न भिडियो अपलोडसम्म !

साउन ९, २०७७
चार महिने लकडाउनले फस्टाएका अपराध : फेसबूक लाइभमा आत्महत्यादेखि पोर्न भिडियो अपलोडसम्म !

रामेछापका हरि (नाम परिवर्तन) विगत ५ वर्षदेखि ट्याक्सी चलाउँदै आएका थिए । उनको परिवार त्यही ट्याक्सीले कमाएको पैसाले जीविकोपार्जन गरिरहेको थियो ।

ट्याक्सी चलाएको पैसाले छोराछोरी पनि पढाउँदै आएका थिए, हरिले । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिने भन्दै सरकारले गरेको बन्दाबन्दी अर्थात् लकडाउनले गर्दा परिवार धान्न पनि मुस्किल पर्‍यो ।

पहिलो ३ महिना त उनले साथीभाइसँग मागेर चलाए, तर कतिञ्जेल चल्थ्यो र ? घरपरिवार चलाउन धौधौ भएपछि उनी असार ३० गते बेलुकाको समयमा फेसबूकमा लाइभ आए ।​

लाइभमा उनले लकडाउनले गर्दा परिवार पाल्न नसक्ने भएकाले आत्महत्या गर्न लागेको जानकारी दिए । समाजिक सञ्जाल फेसबूक हेर्दै गरेका आफन्तले तत्कालै प्रहरीलाई खबर गरे ।

साइबर ब्यूरोको टोली तत्काल खटियो लाइभ गरेकोे लोकेसन पत्ता लगाएर हरिलाई आत्महत्या गर्नबाट बचायो । साइबर ब्यूरोले हरिलाई दाजुको जिम्मा लगायो ।

....

लकडाउनकै अवधिमा तारकेश्वरमा एक महिलाले झुण्डिएर आत्महत्या गरिन् । काठमाडौंको तारकेश्वर नगरपालिका– ८ मा तरकारी पसल गर्दै आएकी ती महिलाले केही समय अगाडि आफूलाई समस्या परेको सामाजिक सञ्जाल टिकटकमार्फत् बताएकी थिइन् । प्रहरीले खोज्दाखोज्दै ती महिलाले आत्महत्या गरिसकेकी थिइन् । 

लकडाउनको समयमा व्यापार नभएको र मानसिक तनावले गर्दा आत्महत्या गरेको देखिएको महानगरीय प्रहरी वृत्त बालाजुका वृत्तपति रञ्जितसिंह राठौरले बताए । 

....

असार १८ गते दाङको तुलसीपुर उपमहानगरपालिका– ५ रानीजरुवाकी २३ वर्षीया एलिसा गौतमले फेसबूकमा लाइभ आएर आत्महत्या गरिन् । रातिको समयमा फेसबूकमा लाइभ देखेका चितवनका एक पत्रकारले साइबर ब्यूरोलाई खबर गरे । साइबर ब्यूरो राति ११ बजे सक्रिय भयो ।

ब्यूरोले दाङको तुलसीपुर प्रहरीसँग सहकार्य गर्‍यो तर, एक घण्टापछि पुग्दा बचाउन सम्भव भएन । यस्तै खालको आत्महत्या चितवनमा पनि एक महिलाले गरिन् । 

कोरोना महामारीका कारण झण्डै ४ महिना चलेको लकडाउनमा घरमा एक्लै बस्दा मानसिक रूपमा विक्षिप्त भएर आत्महत्याको बाटो रोजेको प्रहरी अनुसन्धानमा देखियो । 

यद्यपि गत मंगलवार रातिबाट लकडाउन खुलेको औपचारिक घोषणा सरकारले गरिसकेको छ । लकडाउन खुलेपनि केही प्रतिबन्धहरू भने कायम छन् ।

लकडाउनयता सामाजिक सञ्जालमा लाइभ गरेर आत्महत्या गर्ने क्रम बढेको साइबर ब्यूरोका कार्यकारी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द्र अर्यालले बताए । 

‘पछिल्लो समयमा समाजिक सञ्चालनमा लाइभ गरेर आत्महत्या गर्ने बढेका छन्,’ एसएसपी अर्यालले भने–‘यसलाई नियन्त्रण गर्नका लागि साइबर ब्यूरो दिनरात लागिपरेको छ ।’ 

लकडाउनयता बढे साइबर अपराध

लकडाउनको समयमा धेरै समय मानिसहरूले इन्टरनेटमा समय बिताएका कारण साइबर अपराधका घटनाहरू बढेको देखियो । सामाजिक सञ्जाल फेकबूकमा सबैभन्दा बढी अपराधका घटना भएको साइबर ब्यूरोको तथ्याङ्कले देखाएको छ । 

लकडाउन भएको २०७६ साल चैत ११ गतेदेखि २०७७ असार ३१ बीच झण्डै ४ महिनाको अवधिमा साइबर ब्यूरोमा फेसबूकसम्बन्धी मात्र ७ सय ७२ वटा मात्र उजुरी परेका छन् ।

यस्तै इन्स्टाग्रामका १० वटा, युट्युबका ८ वटा, भाइबरका ६ वटा, टिकटकका ५, ट्वीटरका ३ वटा, वेबसाइट ह्याकिङका ७ वटा, ह्वाट्स एप र इमोका २/२ वटा तथा अन्य ४२ वटा गरी ८ सय ८७ वटा साइबर अपराधका उजुरी परेको ब्यूरोका एसएसपी नविन्द्र अर्यालले जानकारी दिए ।

लकडाउनमा पोर्न भिडियोदेखि सरकारी वेबसाइट ह्याकसम्म

​लकडाउनको अवधिमा पोर्न साइट बनाएर अश्लिल भिडियो अपलोड गर्नेदेखि सरकारी बेवसाइट ह्याकसम्मका साइबर अपराध भएका छन् ।

साइबर अपराध अनुसन्धान ब्यूरोका अनुसार लकडाउनको अवधिमा विभिन्न किसिमका नग्न तस्वीरमा व्यक्तिको मुहार जोडी इन्टरनेटमा राख्ने, अश्लील भिडियो र फोटो साइटमा अपलोड गर्ने, सम्पूर्ण सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम र तस्वीर प्रयोग गरेर दुःख दिने, सरकारी तथा संघ–संस्थाको वेबसाइट ह्याक गर्ने, फेसबूक ह्याक गरी इसेवामार्फत ठगी गर्नेजस्ता साइबर अपराधहरू भएका छन् । 

एक वर्षमा २३ सय साइबर अपराध

साइबर ब्यूरोमा एक वर्षमा २३ सय १ वटा साइबर अपराधका उजुरी परेका छन्, त्यसमध्येमा अधिकांश फेसबूकका उजुरी परेका छन् । 

साइबर ब्यूरोले अहिलेसम्म ५० उजुरीका सम्बन्धमा विद्युतीय कारोबार ऐनसम्बन्धी मुद्दा दर्ता गरेको छ ।

विदेशमा रहेका साइबर अपराधीलाई कारवाहीका लागि इन्टरपोलमा १५ वटा उजुरी पठाइसकिएको ब्यूरोले जनाएको छ ।

अपराध गर्ने १३ सय ८५ वटा फेसबूक एकाउन्टलाई बन्द गराइएको छ भने ४ सय ७० वटा फेसबूक आईडीको अनुसन्धानका लागि फेसबूक कम्पनीसँग विवरण माग गरिएको ब्यूरोले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्