
सरकारी जागिरप्रति आम नेपालीको मोह धेरै भएको पाइन्छ तर रूपन्देहीका राजकुमार पराजुलीले बुवाको सरकारी सेवाबाट उपलब्ध हुने आम्दामी देखेर जागिरे जीवनतर्फ सोचेनन् ।
बुवाको सरकारी कमाइबाट घरखर्चदेखि आर्थिक क्षेत्रमा आमाले मन खुम्चाएर गरेको खर्च राजकुमारले प्रत्यक्ष देखे । १ जनाको जागिरे कमाइले परिवारको आर्थिक संकुचन देखेका राजकुमारले पढाइपछि जागिरे होइन, स्वरोजगार बन्नुपर्छ भन्ने दृढ इच्छाशक्ति लिए ।
रुपन्देहीको तिलोत्तमा–४ जानकीनगरका ४५ वर्षीय राजकुमार बुवाआमाको जेठो सन्तानको रुपमा जन्मिएका हुन् । २०५० सालमा उनले एसएलसी पास गरिसकेका थिए । त्यो समयमा मानिसमा कुखुरापालन व्यावसायिक रुपमा गर्नुपर्छ भन्ने सोच भर्खरै शुरू भएको थियो । राजकुमारले पनि पढाइसँगै व्यवसाय शुरू गर्ने सोच बनाए । कुखुरापालन राम्रो व्यवसाय हो भन्ने सुनेका थिए उनले । घरपरिवार र नजिकका साथीभाइले पनि कुखुरा पाल्न सुझाव दिए ।
खोर बनाउन, चल्ला र दाना किन्न पैसा नभएपनि उनीसँग आफ्नै जग्गा थियो । उनले २०५० सालमा कृषि विकास बैंकबाट ९५ हजार ऋण लिएर लेयर्स कुखुरापालनसँगै व्यवसाय शुरू गरे ।
‘व्यवसाय गर्ने खासै अनुभव थिएन, कति ठूलो व्यवसायमा कति लगानी लगाउनुपर्छ कुनै जानकारी पनि थिएन, बैंकबाट लिएको ६०–७० हजार रुपैयाँ खोर बनाउँदा बनाउँदै सकियो । बाँकी रहेको पैसाले भाँडाकुँडा किनेको थिएँ । चल्ला र दाना किन्न पैसा पुगेन, साथीभाइसँग सरसापटी खोजेर काम चलाए,’ २७ वर्ष पहिले व्यवसाय शुरू गर्दाको अनुभव सुनाए, ‘दिमागमा व्यवसाय गर्ने भन्ने मात्र ध्यान थियो, आइपर्ने अप्ठ्यारासँग जुध्न सक्ने हिम्मत जुटिसकेको थिएन । यत्तिकैमा खोरमा हालेका २०० बढी चल्ला नहुर्किंदै मरे । ५०० लेयर्स चल्ला हालेको खोरमा २०० नहुर्किंदै मरेपछि त्यो लट घाटामै गयो ।’
बैंक र साथीभाइसँग लिएको ऋण तिर्नु त कता हो कता, चल्ला हुर्काउँदा नै उनको काँधमा अरु ऋण थपियो । पहिलो लटमै लेयर्सबाट घाटा भए पनि कुखुरापालनमै लाग्छु भन्ने अठोट उनले लिइसकेका थिए । ‘कुनै पनि हालतमा यही पेशा गर्ने हो भनेर मनमा थियो, पहिलो यात्रामै ठेस लागे पनि यात्रा यत्तिकै रोक्ने कुरा भएन । लेयर्सभन्दा ब्रोइलरबाट छिटो–छिटो प्रतिफल लिन सकिन्छ भन्ने बुझेपछि ब्रोइलर कुखुरापालन गर्न लागे,’ उनले सम्झिए ।
अण्डा दिन छोडेका ३०० लेयर्स माउ कुखुरा बेचेको पैसा उनीसँग थियो । त्यसैबाट उनले १ हजार ब्रोइलर चल्ला खोरमा हाले । ब्रोइलर चल्ला हालेको ३ महिनामै प्रतिफल आउन थाल्यो । सबै कुखुरा बेचिसक्दा पहिलो लटमै ४५ हजार रुपैयाँ नाफा निस्कियो । लेयर्स कुखुराबाट घाटा व्यहोरेका उनलाई ब्रोइलरले दिएको नाफाले यही व्यवसायमा लाग्न हौसाइदियो ।
१–२ असफलतामा नआत्तिई मेहनत गर्दै गए हुँदो रहेछ भन्ने उनलाई लाग्यो । १ हजार कुखुराबाट ४५ हजार नाफा कमाएका उनले कुखुराको संख्या बढाउने सोच बनाए । १ हजार चल्ला अट्ने खोर थियो । २ हजार कुखुरा अट्ने अर्को खोर बनाए । अब २ वटा खोरमा ३ हजार ब्रोइलर कुखुरा पाल्न शुरू गरे उनले ।
उनले बैंकको ऋण लिएर बाँस र फलामको टेकोमा खरको छानो हालेर होचो खोर बनाएका थिए । चल्ला बढ्दै जाँदा दानापानी, भ्याक्सिन दिन गइरहनुपर्ने भएकाले होचो खोरमा दानापानी र भ्याक्सिन दिँदा, सरसफाई गर्दा अप्ठ्यारो हुन थाल्यो । उनलाई अझै ऋण थपेर भए पनि पक्की खोर बनाउनुपर्छ भन्ने लाग्यो । २०५० सालमा ९० हजारबाट शुरू गरेको कृषि विकास बैंकको ऋण थपिँदै जाँदा २०५५ सालमा २० लाख पुर्याए । ऋण थपेर भए पनि ठूलै मात्रामा कुखुरापालन गर्ने अठोट थियो उनीमा, कच्ची खोर हटाएर पक्की खोर बनाए ।
खोरको संख्या र क्षमतासँगै चल्ला पनि थपिँदै गए । जति ठूलो लगानी त्यति धेरै बैंकको ऋण । त्यसको व्याज पनि त्यही अनुपातमा बुझाउनुपर्ने । कुखुरा फर्म ठीकै चलिरहेको थियो, अब उनलाई कुखुराको लागि दाना पनि आफैं उत्पादन गर्नुपर्छ भन्ने लाग्यो ।

‘गाडीभरि दाना ल्यायो, १–२ दिनमै सकिने, मशिन राख्न जग्गा छँदै थियो । त्यसैमा गोदाम जस्तो बनाएर दाना उत्पादन गर्न थालें,’ उनी भन्छन् ।
पहिले दाना मात्र ल्याए पुग्थ्यो, अब भने दानाको लागि मकै, भटमास, पिना, सिद्रा लगायतका कच्चा पदार्थ बजारबाट ल्याउनुपर्यो । दाना उत्पादनमा समय दिनुपर्दा खोरमा पर्याप्त समय दिन सकेनन् । दाना उत्पादनमा पनि अनुभव थिएन । कुन वस्तु कति मिसाउने भन्ने अनुभव थिएन । आवश्यक मात्रा नमिलेर हो कि खोरका कुखुरा मर्न थाले । ‘त्यो बेला कुखुरामा रानीखेतले सताउँथ्यो, साढे २ किलो तौल पुगिसकेका एउटा खोरका सबै कुखुरा मरे । बजारमा बिक्री गर्न लैजाने भइसकेका कुखुरा खेतमा खाडल खनेर पुरें, त्यो दिन सम्झिँदा अहिले पनि मन कटक्क खान्छ,’ उनी सम्झिन्छन् ।
कुखुरा पाल्ने र दाना उत्पादन गर्दा एकातर्फ लगानी थपिँदै थियो, अर्कोतर्फ जोखिम पनि बढ्दै थियो । एकल लगानीमा जोखिम एक्लै व्यहोर्नुभन्दा उनले ग्रूपमा व्यवसाय गर्ने योजना बनाए । ‘ग्रूपमा नाफासँगै लगानी र जोखिम पनि बाँडिने भएकाले अरु व्यवसायीलाई पनि दाना उत्पादनमा सहभागी गराएर आरडी फिडस् नामबाट दाना उत्पादन शुरू गरें,’ उनले भने ।
व्यावसायिक रुपमा कुखुरापालन गर्ने व्यवसायी थपिँदै थिए, उनले उत्पादन गरेको दानाको माग पनि बढ्दै जान थाल्यो । आफूले चल्ला ल्याउँदा भोग्नुपरेको झन्झटको अनुभव त छँदै थियो, दाना बिक्रीसँगै अरु व्यवसायीसँगको सम्पर्क पनि बढ्दै थियो । उधारोमा दाना दिएर व्यवसायीको मत जित्दै थिए उनी । अब दानासँगै चल्ला पनि आफैंले उत्पादन गर्नुपर्छ भन्ने लाग्यो उनलाई । ब्रोइलर कुखुरा हटाएर चल्ला उत्पादन गर्न थाले उनी ।
उनीजस्तै २–४ जनाले सानो स्केलमा विभिन्न नाममा दाना उत्पादन गर्थे । त्यहीबीचमा बजारमा प्यालेट दानाले प्रवेश पायो । त्यो बेला नेपालमा ‘निब्बस’ कम्पनीले प्यालेट दाना उत्पादन गर्थ्यो । निब्बसले किसानको मन जित्दै गयो, कुखुराले पनि त्यही दाना बढी मन पराएर खान थाले । उनको बजार साँघुरिन थाल्यो । उनलाई अब सानो स्केलमा नभई ठूलै उद्योग (मास फिड) सञ्चालन गर्नुपर्छ भन्ने लाग्यो ।
‘आरडी फिड्स जस्तै अरु ५–६ जनाले पनि सानो स्केलमा दाना उत्पादन गर्नुहुन्थ्यो, डिलरहरू पनि किसानले प्यालेट दाना रोज्न थाले भन्न थालेपछि अब सानो स्केलमा दाना उत्पादन गरेर हुँदैन भनेर मास फिड सञ्चालन गर्ने योजना बनायौं,’ उनले भने, ‘जति ठूलो उद्योग त्यति धेरै लगानी चाहिने, १–२ जनाले ठूलो उद्योग सञ्चालन गर्न सक्ने क्षमता थिएन । ७ जनाको समूह बनाएर प्यालेट दाना उत्पादन गर्ने उद्योग शुरू गर्यौं । अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि नामाकरण गरियो ।’
२०६४ सालमा शुरू गरिएको अन्नपूर्ण एग्रो इन्डस्ट्रिजले अहिले आफ्नो उत्पादनको दायरालाई बढाउँदै लगेको छ । तिलोत्तमा नगरपालिका–१६ मा सञ्चालित उद्योगमा कुखुराका विभिन्न प्रकारका प्यारेन्ट, बोइलर, लेयर्सको दानासँगै अहिले गाईभैंसी, बाख्रा र बंगुरको दाना समेत उत्पादन हुँदै आएको छ ।
दाना बजारमा अन्नपूर्णले आफ्नो पकड जमाइरहेपनि कुखुरापालनबाटै २७ वर्ष पहिले व्यवसायमा होमिएको राजकुमार लगायतको समूहले कुखुरापालन व्यवसाय बिर्सिन सकेन । अहिले अर्घाखाँचीको शितगंगामा अन्नपूर्ण एग्रो ब्रिडिङ एण्ड रिसर्च प्रालि सञ्चालनको तयारीमा छ । जहाँ चल्ला ह्याचरीसँगै कुखुरा फर्म सञ्चालन गरिने छ भने नवलपरासीको सर्दीमा अन्नपूर्ण पोल्ट्री फर्म सञ्चालनको तयारीमा छ । दाना, चल्ला र कुखुरापालनसँगै अन्नपूर्णले बुटवलमा अत्याधुनिक उपकरणसहित हिमचुली चिकन एण्ड कोल्ड स्टोरमार्फत कुखुराको मासु बिक्री गर्न शुरू गरेको छ ।
‘सोचेको बेला पैसा आएन भने तनाव हुन्थ्यो, रातिमा निद्रा पनि नलाग्ने, उज्यालो त नभइदिए हुन्थ्यो भन्ने लाग्थ्यो,’ राजकुमार विगत सम्झिन्छन् तर उनले हरेश खाएनन् । व्यवसायसँग जोडिएका सबैसँग विश्वास जित्दै गए । व्यवसाय फस्टाउँदै गयो । कहिलेकाहीँ आइपर्ने अप्ठ्याराबाट भागेनन् र त अहिले सफल उद्योगी, व्यवसायीको रुपमा परिचित छन् ।
‘घोडा चढ्ने व्यक्ति नै लड्ने हो, घरमा त्यसै बसिरहने व्यक्ति कहाँ लड्छ । १–२ पटक लड्दैमा गन्तव्य छोडेर भाग्नु हुँदैन,’ उनी भन्छन् । जति अप्ठ्यारा चुनौतीहरू सामना गर्न सक्यो र विश्वास जित्दै गयो भने व्यवसायमा सफल हुन सकिने उनको अनुभव छ ।
देश शान्ति प्रक्रियामा गइसकेपछि २०६४ सालमा सञ्चालन गरेको उनको उद्योग मधेशमा चर्किएको आन्दोलनले थला पर्यो । उद्योगमा लगानी थपिँदै जाँदा बैंकको ऋण पनि थपिँदै गएको थियो । आन्दोलनका कारण उद्योग व्यवसाय बन्द हुने अवस्थामा पुगिसकेको थियो । उनले विदेशिने योजना बनाए । सपरिवार क्यानडाको लागि आवासीय भिसाको लागि आवेदन भरे । आवेदन भरेको केही महिनापछि भिसा आयो । उनी छोराछोरी र पत्नी लिएर क्यानडा उडे ।
तर बाहिरबाट सुन्दा जति राम्रो युरोप देखिए पनि उनी त्यहाँको बसाइमा रम्न सकेनन् । नेपालमा मधेश आन्दोलन पनि साम्य भइसकेको थियो । समूहमा सञ्चालन गरेको उद्योगले गति लिइरहेको थियो । उनी १ वर्ष नपुग्दै क्यानेडाबाट नेपाल फर्किए । ‘त्यहाँको गर्नुपर्ने दुःख हेरियो, यहाँ ग्रूपमा भएपनि उद्योग राम्रै चलेको थियो, विदेश बाहिरी चमकधमक मात्रै रहेछ भन्ने लाग्यो, दुःख पनि पाइयो,’ उनले भने । क्यानेडाको बसाइ छोडेर नेपाल फर्किने उनको निर्णयमा पत्नी रमिला पनि सहमत भइन् । गएको १ वर्ष नहुँदै छोराछोरी बोकेर उनीहरू स्वदेश फर्किए ।
अहिले राजकुमार उद्योग सञ्चालनमै रमाइरहेका छन् । विगत ३ महिनादेखि कोभिड–१९ को संक्रमणले सबै क्षेत्रको व्यवसाय थला परे पनि छिट्टै सबै सामान्य अवस्थामा आउने उनको विश्वास छ ।